Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख ३१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 537
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख ३१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  वैशाख ३१ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    बजेटका लागि राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० वटा सुझाव

    काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। 

    सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताए । उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए । उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको बताए । उनले पर्यटनसँग सम्बन्धित १९ वटा,कृषि,पशु,वनसँग सम्बन्धित २५,उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको जानकारी दिए ।

    रिडी पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका सम्बन्धमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । आज अर्थ मन्त्रालयमा भएको छलफलमा विश्व बैङ्क, एसियाली विकास बैङ्क (एडिबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायत बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु स्विट्जरल्याण्ड, डेनिश, फिनल्यान्ड, दक्षिण कोरिया, जापान, बेलायत र युरोपियन युनियनका आवासीय राजदूत तथा ती देशसम्बद्ध द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । 

    शेयर बजार : नेप्से परिसूचक २४.३९ प्रतिशतले बढेर  १९९८.८९ विन्दुमा ,३ अर्ब ४० करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २४.३९ प्रतिशतले बढेर  १९९८.८९ विन्दुमा आएको छ । यस दिन ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    यस दिन ३२० कम्पनीको ९५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंक परेका छन् ।

    युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ९३.०९ प्रतिशतले बढ्यो

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ९९ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९३.०९ प्रतिशतले धेरै हो ।
    हाइड्रोपारको वित्तीय खर्च भने ९ करोड ११ लाखबाट घटेर ८ करोड २ लाख रुपैयाँ कायम भएको छ ।कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । यस अवधिमा हाइड्रोपावरले विद्युत बिक्रीबाट २१ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ ।हाल युनाइटेड मोदीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।

    इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा जेठ १६ गते

    काठमाडौं । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ ।

    सभा यस कम्पनीको रजिस्टर्ड कार्यालय, बसन्तपुर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
     सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले कुमारी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।

    उक्त सम्झौतापत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारीमा छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

    तोलामा रु तीन सयले घट्यो सुनको मूल्य  , प्रतितोला रु एक लाख ३८ हजार एक सय

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।

     

    यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।

    टर्कीमा रोजगारी दिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    काठमाडौँ । टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै रु चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका(५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरि  आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

     

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भन्नुभयो, “टर्कीको युएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने प्रलोभनमा पारी मीनबहादुर कार्कीलगायत एक सय २४ जना व्यक्तिबाट रु चार करोड ३४ लाख उठाएपश्चात् सम्पर्कविहीन भई फरार रहेको उजुरीका आधारमा पक्राउ गरेका हौँ ।”

    भारतीय सर्वोच्च अदालतद्वारा केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरेको अपिल खारेज

    नयाँदिल्ली । सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन निर्देशालय (इडी) ले पक्राउ गरेको कारण अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल  खारेज गरेको छ ।

     

    न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपङ्कर दत्ताको संयुक्त इजलासले यस्ता मुद्दामा जान नसकिने र यो दिल्लीका लेफ्टिनेन्ट गभर्नरले हेर्ने विषय भएको बताएको छ । इजलासले भनेको छ, “यो सबैमा हामी कसरी जाने रु लेफ्टिनेन्ट गभर्नरलाई कारवाही गर्न दिनुहोस्, कुनै कानूनी अधिकार छैन ।”

    मेयर बालेन विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन जाँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन  दुईजना सल्लाहकारसहित सोमबार राति  फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन् ।

    मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जान लागेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।

     सो अवधिमा   मेयर लिसनार्ड र फेस्टिभल निर्देशक सँगको भेटवार्ता लगायतका कार्यक्रम तय गरिएको छ ।  यसबाहेक फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

    उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

    काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो ।

    मन्त्री भण्डारीले भन्नुभयो, “तपाईंहरु लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ ।” नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उहाँले चिनियाँ पुँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताउनुभयो ।

    पहिलो पटक प्रदेश र स्थानीय दुवै तह घाटामा गएको विश्व बैंकको प्रतिवेदन

    काठमाडौं । संघीय संरचनामा गएयता पहिलोपटक प्रदेश र स्थानीय तह दुवै घाटामा गएका छन् । संघीय सरकारको राजस्व संकलन घटेकाले  आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय सरकारका लागि उपलब्ध वित्तीय स्रोतमा कमी भएसँगै प्रदेश र स्थानीय तह घाटामा गएको विश्व बैंकले प्रकाशित गरेको एक प्रतिवेदनमा यस्तो जनाइएको हो ।

    २०७२ सालमा बनेको नेपालको संविधानले मुलुकलाई संघीय राज्य घोषणा गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७३÷७४ देखि वित्तीय संघीयता सुरू भएको थियो ।विश्व बैंकद्वारा सार्वजनिक ‘नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१)’ ले गत आव प्रदेश सरकारहरू कुल गार्हस्थ उत्पादन (जीडीपी) को ०.३ प्रतिशत घाटामा गएको उल्लेख गरेको छ ।

    पार्टी फुटाउनेहरूलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय गलत भन्दै यादव पुगे सर्वोच्च

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले  फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएको कार्य विरूद्ध न्यायका लागि  सर्वोच्च अदालत पुगेका छन्। सरकारबाट राजीनामा दिएर अध्यक्ष यादवले सोमबार सर्वोच्च अदालत पुगेर आयोगविरूद्ध रिट दायर गरेका हुन्। 

    यादवले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका हुन् ।
    सो रिट मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।रिटमा आयोगसँगै जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सांसदहरूलाई पनि यादवले विपक्षी बनाइएको छ ।

    सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ

    काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

    चीनतर्फको निर्यात बढिरहँदा भारतलगायत अन्य मुलुकमा हुने निर्यात घट्नु चिन्ताको कारण

    काठमाडौं । चीन तर्फको निर्यात बढिरहँदा भारतलगायत अन्य मुलुकमा हुने निर्यात घट्नु चिन्ताको कारण बनेको छ ।अर्थतन्त्र शिथिल भइरहेको बेला भारतलगायत अन्य मुलुकमा हुने निर्यात घटिरहेको हालै सार्वजनिक नेपाल राष्ट्र बैंकद्वारा समग्र अर्थतन्त्रको परिदृश्य प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा उल्लेख यो विषय चिन्ताको कारण भएको विज्ञहरूको भनाइ छ ।भारतमा हुने निर्यातमा ६.२प्रतिशत र अन्य मुलुकहरूमा हुने निर्यात २ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।चालु आर्थिक वर्ष २०८०/८१को सुरुको ९ महिनामा निर्यात ३.७ प्रतिशतले घटेको छ । निर्यात ३.७ प्रतिशतले कमी भई १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ ।

    २ अर्ब १ करोड अवैध कारोबार गरेको आरोपमा २४ वर्षीय अनिल ढुंगाना पक्राउ

    काठमाडौं । २ अर्ब १ करोड अवैध कारोबार गरेको आरोपमा २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका छन । अनलाइन सट्टेबाजीमा संलग्न अनिललाई पक्राउगरि सोमबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।  वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

    काठमाडौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

     

    फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

    नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा  खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा  नेपाल टेलिकमले  ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत यस्तो जनाएको हो ।

    टेलिकमको यो नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    घट्यो बैंकहरूको ब्याजदर, कुन बैंकको कति (हर्नुहोस )

    काठमाडौं । सबै वाणिच्य बैकहरुले ब्याजदर घटाएका छन । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपतर्फमा ब्याजरद घटाएका हुन । जेठ महिनाका लागि विभिन्न बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका छन । जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् ।

    एनएमबि बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठमा ब्याजदर बढाएका हुन् । तर, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले जेठमा ब्याजदर बढाएका छन् ।साथै, जेठमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।

    बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

    चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ ।नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो ।

    “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।”

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस