Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.............


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 669
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.............

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताउनुभएको छ ।
        
    नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहँदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने समस्या नरहने स्पष्ट पार्नुभयो ।
        
    “विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ । यसैलाई समर्थन गर्ने गरी बजेट आउँछ र त्यो बजेटमार्फत यसको कार्यान्वयन हुन्छ ।”

    यस्तो छ २०८१/८२को सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस पूर्ण पाठ)

     

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार  आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

    प्रतिनिधि सभाका सम्माननीय सभामुख,

     राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,

      सङ्‍घीय संसद्का माननीय सदस्यहरू,

    • सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्‍ट्रपतिको हैसियतले सम्मानित सङ्‍घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ।
    • यस अवसरमा म सर्वप्रथम नेपाल राष्‍ट्रको रक्षा, सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् मुलुकको सर्वाङ्‍गीण विकास, समृद्धि र अग्रगमनको लागि विभिन्‍न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र सङ्‍घर्ष एवम् आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात-अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछु। देशमा राजनीतिक परिवर्तनको लागि नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेतागणसहित सम्पूर्ण नेपालीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
    • वर्तमान सरकार देशमा समाजवादउन्मुख आर्थिक-सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध छ। नेपाली जनताको सुख र समुन्‍नतिका लागि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्‍ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।
    • संविधान कार्यान्वयन, सङ्‍घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्‍टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेका छन्। सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवाप्रवाहमा सारभूत र आमजनताले अनुभूति गर्नसक्ने सुधार गर्न सरकार स्पष्‍ट कार्ययोजनाका साथ अघि बढेको छ। शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्‍ट्र नीति अवलम्बन गर्दै राष्‍ट्रिय हित, प्रतिष्‍ठा र राष्‍ट्रिय स्वाभिमानको रक्षा गर्न सरकार दृढ छ।

     

    नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

    काठमाडौँ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ । 

     

    बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि कानुनी तथा नीतिगत प्रबन्ध र केही नयाँ व्यवस्थासमेत कार्यन्वयन गर्ने नीति सरकारले लिन लागेको हो । “नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ,  प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ । बैङ्क तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बीमा र पूँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गरिनेछ । लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी नीतिलाई समयानुकूल बनाइनेछ ।”

    शेयर बजार : नेप्से परिसूचक २८.९२ प्रतिशतले बढेर  २०२७.५१ विन्दुमा ,४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २८.९२ प्रतिशतले बढेर  २०२७.५१ विन्दुमा आएको छ । आज आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

    यस दिन ३२० कम्पनीको ९८ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शाइन रेसुंगा डेभलपमेन्ट बैंक र आरएसडी लघुवित्त परेका छन् ।

    उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

     

    मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

     

    उहाँले भन्नुभयो, “रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध रहेको छ, नेपाल सरकारले नेपाल र रोमानियाबीच विद्यमान यी सम्बन्धलाई मित्रता, सहयोग र जनताको सम्पर्कको बलियो बन्धन बनाउँछ ।” मन्त्री भण्डारीले नेपालले युरोपेली सङ्घ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने राजदूत तानेसित बताउनुभयो ।

    जीवन विकास लघुवित्तको खुद नाफा १९ प्रतिशतले घट्यो

    काठमाडौं। तेस्रो त्रैमाससम्म २६ करोड ६५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको सञ्चालन नाफा समेत १९ प्रतिशत कम भएको छ । गत वर्ष ४७ करोड ३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३८ करोड ७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
    तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६५ करोड ५६ लाख रूपैयाँभन्दा बढी छ ।

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद साधारण शेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्तापूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् एक बराबर शून्य दशमलव ४२ अनुपातमा हकप्रद साधारण शेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको बताइएको छ ।
    हकप्रद शेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    आजबाट १० प्रतिशतले घट्यो ब्रोकर कमिसन

    काठमाडौं । आजबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटाएको ब्रोकर कमिसन लागु हुँदैछ । बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले जेठ १ गतेबाट लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो । वैशाख २३ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। 

    यससँगै आजबाट ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा .।३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ।यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन लाग्नेछ।

    आज सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंबाट पेश गर्न सकिनेछ ।

    सुनको मूल्य प्रतितोला रु  सात सयले घट्यो , प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३७ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । मंगलबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ ।

    प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित , अर्को बैठक जेठ ३ गते

    काठमाडौँ ।   प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।

     

    सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । सो बैठकमा सभाध्यक्षले  राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १.१५ बजे बस्नेछ ।

    अत्याधुनिक विविध सुविधासहित ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाको सेवामा छुटैछुट

    काठमाडौं । अत्याधुनिक र  विविध सुविधासहितको  ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाले  सेवाग्राहीहरूका लागि छुटैछुटको स्किम ल्याएको छ ।काठमाडौं उपत्यकाका अत्याधुनिक फिटनेस एन्ड स्पा क्लबहरूमा गनिने ज्यास्मिन फिटनेस क्लब एन्ड स्पाले जुम्बा , योगा, गेम, कार्डियो, एरोबिक ,सौना, स्टिम,ज्याकुजी र स्विमिङ गर्दा लाग्ने शुल्कमा विशेष छुटको स्किम ल्याएको हो ।

    काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको उक्त ज्यास्मिन क्लबमा साप्ताहिक /मासिक/ त्रैमासिक/ अर्धवार्षिक र वार्षिक सेवा शुल्कमा भारी छुटको व्यवस्था गरेको ज्यास्मिन क्लबका सञ्चालकले बताएका छन् ।ज्यास्मिन फिटनेस क्लब एन्ड स्पा बिहान साढे पाँचबजेदेखि बेलुका नौबजेसम्म सञ्चालन हुँदै आएको छ ।

    नीति तथा कार्यक्रम : भू–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक तयार गरिने

    काठमाडौँ ।  सरकारले भू–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक तयार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति लिइएको हो ।
       
    आवास एकीकरणसमेत गरी सम्भाव्य घनाबस्तीमा न्यूनतम खुला क्षेत्रसहितको आधारभूत भौतिक तथा सामाजिक पूर्वाधार निर्माण गर्ने नीतिगत व्यवस्था गरिने भएको छ । देशैभर भू–सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागू गरिने सरकारको कार्यक्रम छ ।

    नीति तथा कार्यक्रम : सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने

    काठमाडौँ ।  सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिएको छ । 

     

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले देशभरका सरकारी, गैरसरकारीलगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिने बताउनुभयो । यो नियम यसअघि नियमावली र ऐनमै व्यवस्था भइसकेको भए पनि हालसम्म लागू हुन सकेको छैन । स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ मा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमामा लैजानुपर्ने उल्लेख छ ।

    जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने सरकारको घोषणा

    काठमाडौं । सरकारले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने भएको छ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

    मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरिनेछ। जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिनेछ।

    नीति तथा कार्यक्रमः राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ बनाइने

    काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा नीति एवम् कार्ययोजनाका आधारमा राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवम् राष्ट्रिय हित र स्वार्थ रक्षाका लागि नेपाली सेनालगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गर्नुभयो । 

     

    नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रम तथा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने, नेपाल एकीकरणसँग जोडिएका ऐतिहासिक र पुरातात्विक महत्वका संरचना र पदमार्गको खोज, पहिचान, संरक्षण र सम्बद्र्धन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

     

    नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ

    काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ । 

     

    पहाडी क्षेत्रमा नदी बेसिनमा आधारित लिफ्ट सिँचाइ प्रणाली, तराई मधेसमा डिप ट्यूबबेललगायतका कार्यक्रम अगाडि बढाइ सिँचाइ सुविधा बिस्तार गर्ने सरकारको योजना छ । 

     

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि उपज उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइ आयोजनालाई थप परिस्कृत बनाएर अगाडि बढाउने उल्लेख छ ।

    औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न औद्योगिक क्षेत्रको कानुन व्यवस्थालाई समयानुकूल बनाउने घोषणा

    काठमाडौँ । सरकारले औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न औद्योगिक क्षेत्रको कानुन व्यवस्थालाई समयानुकूल बनाउने घोषणा गरेको छ । सरकारले  औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा समेत गरेको छ ।

     नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति  पौडेलले उद्योग र कृषि तथा अन्य क्षेत्रमा आबद्ध क्षेत्रलाई एकीकृतरुपमा अघि बढाइने  बताउँदै  उद्यमशीलता विकास र स्वारोजगार हुनेगरी सरकारी क्षेत्रको कार्याक्रम अघि बढाइने समेत बताए ।

    नीति तथा कार्यक्रमः पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

    काठमाडौँ । सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने  जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने बताउनुभयो । 

     

    साथै आगामी वर्षको नीति तथा कार्यक्रमझैँ यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रमले निरन्तरता दिइएको छ । राष्ट्रपति पौडेलले सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गर्नुभयो ।

    सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने

    काठमाडौँ । सरकारले  सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै   राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका हुन् ।

      आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र सार्वजनिक ऋणको समुचित प्रयोगका लागि सरकारले आन्तरिक तथा बाह्य ऋणको विवेकपूर्ण छनोट गरी प्रतिफल प्राप्त क्षेत्रमा मात्र लगाउने नीति लिने उनले बताए ।

    निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई नियुक्त गर्यो आफ्नो ब्रान्ड एम्बेसडर

    काठमाडौं ।  निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहनु भएका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको छ ।

    निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ । त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ ।

    मदिराको ब्राण्डिङ र निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने

    काठमाडौं । सरकारले घरेलु मदिरालाई खुला रूपमा बिक्री वितरण गर्न दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर शुनिश्चत गरि नियन्त्रित उत्पादन ब्राण्डिङ र निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । उनका अनुसार गोरखा एग्रो पार्क, सुदूरपशिचम प्रदेशमा मेगा फूड पार्क, कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गरिनेछ ।

    लगानी स्वीकृतिलाई सरल बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याइने

    काठमाडौं । सरकारले स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमान योग्य बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

    मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

    वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको सरकारको कथन

    काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको जनाएको छ ।  सरकारको   आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै   राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो वाचन गरेका हुन् ।

    नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको जनाउँदै  राष्ट्रपति पौडेलले  उत्पादन, उत्पादकत्व वृद्धि , सेवा सरलीकरण, भ्रष्टाचार नियन्त्रणलगायतलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको बताए ।

    वणिज्य नियोगमा नियुक्त गर्न राजस्व अनुसन्धान विभागका निर्वतमान महानिर्देशक ढुंगानासहित दुईसहसचिव परराष्ट्र सरुवा

    काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तानिएका निवर्तमान महानिर्देशक नवराज ढुंगानासहित त्यहाँका दुई सहसचिवहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

    पराराष्ट्र मन्त्रालय अन्तरगतका आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्ति दिलाउन निर्वतमान महानिर्देशक नवराज ढुंगाना र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रशासन महाशाखा हेर्ने नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।

    लामो समयदेखि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता समेत रहेका भट्टलाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ भने  ढुंगानालाई भारतको कोलकातास्थित महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरिएको सम्बद्ध स्रोतको भनाइ छ ।

    पर्सा प्रहरीले बैशाख महिनामा ६ करोड बढीको कर छली ल्याएको मालवस्तु नियन्त्रणमा लिई बुझायो

    काठमाडौं ।  पर्सा प्रहरीले बैशाख महिनामा ६ करोड बढीको कर छली ल्याएको मालवस्तु नियन्त्रणमा लिएर सरोकारवाला निकायमा थप अनुसन्धानका लागि बुझाएको छ ।

    बैशाख महिनामा विभिन्न समयमा विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीहरूले अन्दाजी ६ करोड १३ लाख ६८ हजार ४४ रुपैयाँ बराबरको  मालवस्तु नियन्त्रणमा लिई सरोकारवाला निकायमा थप अनुसन्धानका लागि बुझाएको पर्सा प्रहरीले जनाएको हो ।

    तीन दिने गणतन्त्र दिवास मनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दिने गणतन्त्र दिवास मनाउन निर्देशन दिएका छन् ।  यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री  प्रचण्डले  निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ ।  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।

     
     
     
     

     

     
     
     
     

     

     
     
     
     
     
     

     

     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस