Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........


नया सडक

२०८१, जेठ ९ बुधबार

  • 654
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ९ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता

    काठमाडौँ ।   राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र  मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न  सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा कँडेलले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।   सम्झौता भएपश्चात  विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम रु १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ ।

    भोलि सार्वजनिक विदा : सेयर कारोबार नहुने ,  बैंक–वित्तीय संस्था पनि बन्द हुने

    काठमाडौं । बिहीबार सेयर बजार बन्द हुने भएको छ । बिहीबार (जेठ १० गते) बुद्ध जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    शेयर बजार : नेप्से परिसूचक १५.५४ बढेर २१३१.४९ विन्दुमा ,५ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १५.५४ बढेर २१३१.४९ विन्दुमा आएको छ । आज ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ समूहका सूचक बढेका छन् । 

    यस दिन ३१८ कम्पनीको १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेरुडे मिर्मिरे लघुवित्त अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सीइडीबी हाइड्रोपावर रहेका छन् ।

    जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

    ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताउनुभयो । 

    उहाँले जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको असर भयावह रहेको समेत बताउनुभयो । “हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिक र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।”

    नेशनल फण्ड म्यानेजमेन्टको विशेष साधारण सभा जेठ २५ गते , प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

    काठमाडौं ।  नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
    सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजेदेखि शुरु हुनेछ ।सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने र कम्पनीको ५० रुपैयाँ प्रतिशेयरमा २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने, प्रबन्धपक्र तथा नियमावली संशोधन गरि चुत्ता पुँजी र जारी पुँजी बढाउने प्रस्ताव पारित गर्नेछ ।

    कुमारी बैंकको ७ लाख १७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । महिला लघुवित्तले आजदेखि १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ९०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
    यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ०.७९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७९ विन्दुले बढेको छ । यससँगै सूचक २११६.७३ अंकमा आएको छ । २४ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज ५१ कम्पनीको ४ हजार १ सय ३९ कित्ता सेयर कारोबार भएको छ ।

    सुनको मूल्य घट्यो , प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।

    सेप्टेम्बरमा लञ्च हुने आइफोन १६ कस्तो छ ?

    काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पल इंकले सेप्टेम्बरमा आइफोन १६ लञ्च गर्नेछ । अहिलेसम्म नयाँ आइफोनका कयौं फिचर र डिजाइन लिक भएका छन् । डिजाइनलाई लिएर मिम्स पनि भाइरल भएका छन् । आइफोन १६ को क्यामरा मोड्यूल झट्ट हेर्दा आइफोन ११ र १२ जस्तै अर्थात् भर्टिकल मोड्यूल छ । त्यसैले आइफोन ११ र १२ चलाउनेहरु उत्साहित देखिएका छन् ।

    तर फोनको डिजाइन केही फरक छ । समग्र डिजाइनमा पनि खासै परिवर्तन देख्न नपाइने संक्ेत छ । यस पटक कम्पनीले डिस्प्लेमा पहिलाभन्दा धेरै कम बेजल्स यूज गर्नेछ । आइफोन १६ सिरिजमा डाइनामिक आइल्यान्ड देख्न पाइनेछ । आइफोन १६  र आइफोन १६ प्लसमा आइफोन १५ प्लसको जस्तै एक्शन बटन दिइने छ । 
    आइफोन प्रो र आइफोन १६ प्रो म्याक्समा अर्को एउटा बटन पनि देख्न पाइनेछ । यो बटन डेडिकेटेड क्यामरा शटरको लागि हुनेछ । एक्शन बटनसहित यो नयाँ बटनलाई प्रयोगकर्ताहरुले कतिको मन पराउनेछन् यो भने हेर्न बाँकी नै छ ।

    स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

    काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनभएको थियो । 

     

    मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गर्नुभयो । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न जानुभएको थियो । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

    सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध थप भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो ।

    सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।

    गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश

    काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ ।

    न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गरिदिएको हो ।

     यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

    सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने घोषणाको तयारीमा नेपाली कांग्रेस

    काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने घोषणा गर्न लागेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको हो ।

    सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन भएको छ ।

    गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अदालतको अनुमति

    काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अनुमति दिएको छ ।

    जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराई जानकारी सार्वजनिक गरे  अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

     प्रहरीले  सिरोहियालाई मंगलबार काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको थियो ।  उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो । सोही क्रममा धनुषा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।

    जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँः मन्त्री सुडी

    काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका बताउनुभएको छ । 

    आजदेखि यहाँ सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरुको अन्तरराष्ट्रिय संवाद’को उद्घाटन कार्यक्रममा उहाँले हिमाली देशमा जलवायु परिवर्तनले असर गर्ने प्रतिकूलता विश्वका अन्य क्षेत्रभन्दा बढी रहेकाले त्यसबाट जोगाउन आवश्इक रहेको बताउनुभयो । “म सबै हिमाली देश र विकसित देशलाई खुला हृदय र दिमागका साथ अनुकूलनका लागि थप वित्तीय स्रोत विनियोजन गर्न आग्रह गर्दछु ताकि हामी सामूहिकरूपमा जलवायु सङ्कटलाई सम्बोधन गर्न सकौंँ”, मन्त्री सुडीले भन्नुभयो, “हिमाली देशमा जलवायु परिवर्तनका प्रभाव, चुनौती र अवसरलाई सम्बोधन गर्न तपाईंको विशेषज्ञताले हाम्रो संवादलाई समृद्ध बनाउनेछ र आगामी दिनमा उपयुक्त जलवायु कार्य गर्नेछ ।”

    चालु आर्थिक वर्षमा अढाई सय बढी जीवित सुँगुर भारत निर्यात, बैशाख महिनामा निकासी मूल्य सबै भन्दा कम

    काठमार्डौ । चालु आर्थिक वर्षको दश महिनामा अढाई सय बढी ५० किलो भन्दा कम वजन भएका जीवित सुँगुर भारत निर्यात गरिएको छ । बैशाख महिनामा मात्रै ५० किलो भन्दा कम वजन भएका ४० जीवित सुँगुर भारत निर्यात गरिएको राजस्व विभागले जनाएको हो ।

    बैशाख महिना निकासी गरिएका जीवित सुँगुरको निकासी मूल्य यो चालु वर्षमा पहिलो पटक निर्यात गरेदेखि पौष  महिनासम्म निर्यात गरिएका जीवित सुँगुरको निकासी मूल्यको तुलनामा प्रति सुँगुर निकासी मूल्य कम हो ।

    बैशाख महिनामा निर्यात गरिएका जीवित सुँगुरको मूल्यको भन्दा पौष महिनाको निकासी मूल्य दुई गुना र मंसिर महिनाको तीन गुना रहेको राजस्व विभागका मासिक प्रतिवेदहरूले जनाएका छन् ।

    बैशाख महिनामा प्रति जीवित सुँगुरको निकासी मूल्य १२००मा झरेको बेला पुस महिनामा यो २५४५ र मंसिर महिनामा ३६०२ रुपैयाँ रहेको देखिन्छ ।

    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा  होहल्ला गर्नु आवश्यक नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा  होहल्ला गर्नु आवश्यक नभएको बताएका छन् ।

    काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा  उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिने बेला यस्तो बताएका हुन् । 

    अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया  आफूले बुझेको बताउँदै प्रधानमन्त्री प्रचण्डले  यो बढ्ता हो–हल्ला गर्न जरुरी न भएको बताए ।

    सरकारले रिसिबी साध्यो भन्ने आरोप छ नि भनी सोधिएको प्रश्नको जवाफमा  प्रधानमन्त्री प्रचण्डले  त्यो गलत कुरा गलत  भएको  बताए ।

    जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

    म्याग्दी ।मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।  

    तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले रु। २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

    ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिनुभयो । “२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौ,” उहाँले भन्नुभयो “पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौ ।”

    लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मङ्गलबार संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गर्नुभयो ।

     त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ  लैङ्गिक हिंसापीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा सहज पहुँचमार्फत लाभान्वित गराउने आयोजनाको लक्ष्य रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

    १ करोडभन्दा बढी मूल्यका भन्सार छलीका कपडासहित २ ट्रक वीरगन्ज भन्सारमा बुझाइयो

    वीरगन्ज । भन्सार छलीका सामानसहित ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष जाँचका क्रममा प्रहरीले भन्सार छलीका १ करोडभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार वीरगन्ज  महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक  नियन्त्रणमा लिएको हो ।

    यी दुवै ट्रकमा रहेका कपडा, औषधी तथा खुद्रा सामानहरूको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा जनाएको छ । प्रहरीले वीरगन्ज– १६ ईदगाह चोकबाट १ लाख ५४ हजार ६०० मूल्यका कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । बरामद सामानसहितका ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

    क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल

    काठमाडौँ । इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’बारे छलफल कार्यक्रम आयोजना गरेको छ । श्रव्यदृश्यका माध्यमबाट मङ्गलबार आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवार, सार्क मुलुकका कूटनीतिज्ञ, विद्वत् वर्ग तथा विश्वविद्यालयका प्राज्ञको सहभागितामा भएको छलफलमा दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल भएको थियो ।

    सार्क राष्ट्रका खाद्य सुरक्षा, बढ्दो जनसङ्ख्या, प्राकृतिक विपत्ति, अन्तर क्षेत्रीय व्यापार घाटा, सम्पर्क सञ्जाल विस्तार, युवामाझ सांस्कृतिक सम्बन्ध विस्तारमा केन्द्रित रहेर सहभागीहरूले मन्तव्य व्यक्त गरेका यहाँस्थित पाकिस्तानी दूतावासले जनाएको छ । सहभागीहरूले सदस्य राष्ट्रहरूबीच आर्थिक सम्बन्ध विस्तार, व्यापार, क्षेत्रीय एकीकरण तथा सम्पर्क सञ्जाल विस्तार अपरिहार्य भएको भन्दै सार्क प्रक्रियालाई क्षेत्रीय सहयोगको जीवन्त मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । (रासस)

     

     
     

     

     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस