काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२को बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यस्तो जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने सभामुख घिमिरेले भने ।त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२: ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह समेत गरे ।
संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।अघिल्ला वर्षहरुमा अपरान्हतिर मात्र संसदमा बजेट प्रस्तुत गर्ने प्रचलन थियो । यस वर्ष भने विगतमा भन्दा चाँडै संसदको बैठक बोलाएर बजेट प्रस्तुत गर्न लागिएको हो ।