Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

समग्रमा निजीकरण गरिएका र बाँकी सार्वजनिक संस्थानहरूको अवस्था उस्तै उस्तै,आधाजति घाटामा


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 696
    Shares

  • समग्रमा  निजीकरण गरिएका र बाँकी सार्वजनिक संस्थानहरूको अवस्था उस्तै उस्तै,आधाजति घाटामा

    काठमाडौं । निजीकरण गरिएका र बाँकी सार्वजनिक संस्थानहरूको अवस्था करिब उस्तै उस्तै रहेको देखिएको छ । सरकारका कुल सार्वजनिक संस्थानहरू मध्ये करिब आधाजति घाटामा रहेको देखिएको बेला निजीकरण गरिएका सार्वजनिक संस्थानहरूको अवस्था उस्तै देखिएको हो ।

    ४४ सार्वजनिक संस्थानहरू मध्ये २६वटा संस्थान नाफामा रहेको अर्थमन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा २६ संस्थान नाफामा देखिएको हो ।१५ वटा संस्थान घाटामा देखिएका छन् भने  ३ वटा संस्थानको कारोबार शून्य छ । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा समेत वृद्धि भएको छ । यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ । यसरी आयको उच्च वृद्धि हुनुमा नेपाल आयल निगम उच्च दरले नाफामा जानु रहेको मुख्य कारण मानिएको छ । अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ ।

    सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ । सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।

    निजीकरण गरिएका संस्थानहरूको हालत पनि सार्वजनिक संस्थानहरूको जस्तै छ । निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको समेत अर्थ मन्त्रालयको हिसाब छ ।

    गत आवसम्म २० वटा संस्थानले लेखापरीक्षण गराएकामा बढी नाफा गर्ने संस्थान नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष छन् ।

    बढी नोक्सानी बेहोर्ने संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन् ।

    प्रतिक्रिया दिनुहोस