Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

काठमाडौं महानगरले बञ्चरेडाँडामा फोहर विसर्जन मापदण्ड बेवास्ता गर्दा जोखिमहरू बढ्ने चिन्ता

काठमाडौं महानगरले बञ्चरेडाँडामा फोहर विसर्जन मापदण्ड बेवास्ता गर्दा जोखिमहरू बढ्ने चिन्ता

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले  बञ्चरेडाँडामा फोहर विसर्जन मापदण्डलाई बेवास्ता गर्दा जोखिमहरू बढ्ने चिन्ता औँल्याइएको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर विसर्जनबारे काठमाडौं महानगरका पाँच कमजोरी औंल्याउँदै यस्तो चिन्ता व्यक्त गरेको हो ।

    भक्तपुर नगरपालिका बाहेक धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ मा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकासहित उपत्यका आसपासका २१ वटा स्थानीय तहले फोहोर विसर्जन गरिरहेका छन् ।  काठमाडौं महानगरपालिकाले  बञ्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मेवारी पूरा गर्दै आएको छ। 

    त्यसका लागि बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालन  कार्यविधि पनि बनेको छ। तर महालेखाले कार्यविधि अनुसार काम नभएको औंल्याएको छ। कार्यविधिमा फोहोर तौल गर्ने स्थानमा फोहोरसँग जोखिमयुक्त रेडियोधर्मी फोहोरहरू रहे÷नरहेको यकिन जाँच गर्ने, विसर्जनको लागि ल्याइएको फोहोरको तौल लिई अभिलेख राख्ने, फोहोरलाई तोकिएको निश्चित क्षेत्रमा मात्र खन्याउने व्यवस्था रहेकाले त्यस्तो नभएको महालेखाको प्रतिवेदनमा रहेको छ।

    जसरी फोहर विसर्जन गरिन्छ त्यसबाट जोखिम बढ्ने मात्र नभइ ल्यान्डसाइटको अभाव छिट्टै हुने चिन्ता पनि व्यक्त गरिएको छ । फोहरलाई थिचेर राख्न प्रयोग हुने मेसिन र उपकरण  बञ्चरेडाँडामा हाल नभएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई मापदण्डबमोजिम फोहोरमैला विसर्जन गर्नुपूर्व कुहिने र नकुहिने फोहोरलाई छुट्टयाएर राख्न , फोहोरको तौल अभिलेखीकरण गर्न , तोकिएको निश्चित स्थानमा फोहोर विसर्जन  गर्नलगायतको विषयमा नभएको भनी ध्यानाकर्षण गराएको थियो ।

    काठमाडौं महानगरपालिकाले यस्ता विषयको बेवास्ता मात्र गरेको छैन् कि ल्यान्डफिल साइटको मर्मत सम्भार तथा व्यवस्थापन कार्यको दायित्व लिन गरिएको अनुरोधको जवाफ समेत नदिएकोे महालेखाले जनाएको छ।

    हाल काठमाडौं महानगरपालिकासहित २१ वटा स्थानीय तहले दैनिक १४ टन फोहोर उत्सर्जन गर्छन्। सबै फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुँदै आएको छ। काठमाडौं महानगरपालिकाले २०७९ साउन १ गतेबाट नै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्ने र छुट्टाछुट्टै संकलन गर्ने बताएको भएपनि सो अनुरुप काम नभएकोले चिन्ता व्यक्त  गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij