Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

काठमाडौं महानगरपालिकाले हचुवाको भरमा  सरकारी स्कूलका सटर खाली गराउँदै , विद्यालयसँग सम्झौता गरी बसेका साना व्यवसायीको बिचल्ली


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 993
    Shares

  • काठमाडौं महानगरपालिकाले हचुवाको भरमा  सरकारी स्कूलका सटर खाली गराउँदै , विद्यालयसँग सम्झौता गरी बसेका साना व्यवसायीको बिचल्ली

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र रहेका सरकारी विद्यालयको हातामा रहेका कोठा र सटरहरू हचुवाको भरमा खाली गराउन सुरु गरेको छ ।काठमाडौं महानगरपालिका भित्रका सरकारी विद्यालयमा बनेका कोठा र सटरहरू खाली गराउने निर्णय महानगरपालिकाको पूर्ण बैठकबाट नलिई हचुवाको भरमा खाली गराउन लागिएको हो ।

    महानगरपालिकाका शिक्षा अधिकारी इन्द्रप्रसाद दाहालले काठमाडौं महानगरपालिका भित्र रहेको सरकारी स्कूलका सटरहरू खाली गराउन सुरु गरिसकिएको बताए ।आइतबार डिल्लीबजारस्थित विजयस्मारक स्कूल र पद्मकन्या स्कूल, बागबजारस्थित पद्मोदय स्कूल र शहिद शुक्र स्कूल हटाउन लागेको शिक्षा अधिकारी दाहालले नयाँ सडकसँग बताए ।उनका अनुसार यसरी ३७ वटा स्कूलका सटरहरू खाली गराउन लागिएको छ ।

    उनले विद्यालय हाताभित्र रहेका कोठा सटर विद्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्न दिइने तर व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न नदिइने बताए ।यसबारे योजना के कस्तो रहेको छ भनी सोधिएको जवाफमा अहिले सटर हटाउन स्थलगत अभियानमा रहेको भनी शिक्षा अधिकारी दाहालले पछि कुरा गरौँला भनी पन्छिए ।

    आइतबार सटर हटाउने योजना अन्तर्गत परेका चार मध्ये दुई स्कूल वडा न२८मा पर्छन् । काठमाडौं महानगरपालिका वडा न २८का वडा अध्यक्ष भाइराम खड्गीले पनि महानगरपालिकाले हचुवाकै भरमा सटर खाली गराउन लागिएको जानकारी दिए । उनले काठमाडौ महानगरपालिकाको पूर्णबैठकमा यसबारे कुनै योजना , बहस छलफल भएको आफूलाई थाहा नभएको बताए ।

    उनका अनुसार दुवै स्कूलका गरी ४७ वटा सटर व्यवसायिक प्रयोजनमा प्रयोग भइरहेका छन् । वडा अध्यक्ष खड्गीले आफूसँग कुनै समन्वय नगरी सटर हटाउने काम एकलौटी रुपमा गरेको बताए ।तत्काल विद्यालय प्रयोजनका लागि आवश्यक नहुने सटरहरूको अवस्था के होला भनी सोधिएको प्रश्नको जवाफमा आफूलाई यसबारे केही थाहा नभएको अध्यक्ष खड्गीले बताए ।

    व्यवसायी गुरुप्रसाद आचार्यले तीन दिनको टाइम दिएर महानगर फोर्स लगाएर सटर खाली गर्न भनिएको हो । २०८२ साउन महिनासम्म स्कूलसँग सम्झौता भएको , स्थानीय निकायमा दर्ता गरेको , कर बुझाएको भन्दै व्यवसायी आचार्यले बीस वर्ष  भन्दा बढी समयदेखि विद्यालयको सटरमा व्यवसाय गरी आएको बताए ।

    कुनै वैकल्पिक उपाय नदिई मौखिकरूपमा एक्कासी तीन दिन भित्र सटर खाली गराउन नगरप्रहरी आइपुगेको उनले गुनासो गरे । सामान्य अवस्थामा पनि बहालमा बसेकालाई कम्तीमा ३५ दिनको सूचना दिने चलन रहेको छ । तर महानगरपालिकाले एक्कासी सटर खाली गराउन आइपुगेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस