Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images
निगरानी

राजस्व अनुसन्धान कार्यालय पथलैयाका  अफिसर प्रमोदकुमार चौधरी बेलगाम,  छापा हान्दा दर्तै  नगरी अन्धाधुन्द असुली

राजस्व अनुसन्धान कार्यालय पथलैयाका  अफिसर प्रमोदकुमार चौधरी बेलगाम,  छापा हान्दा दर्तै  नगरी अन्धाधुन्द असुली

  • काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत अफिसर   प्रमोदकुमार चौधरी बेलगाम भएका छन् । तीन पटक सरुवा हुँदा पनि दुई पटक सरुवा क्यान्सिल गराई पथलैयामा बस्न सफल चौधरीको केही दिन अगाडि तेस्रो पटक सरुवा भएको हो ।

    तेस्रो पटक सरुवा भएको भनिएपनि  चौधरीले अहिले पनि पथलैयामा बसेर नियमित काम कारबाही गरिरहेका छन् । सरुवा भएका चौधरीको हस्ताक्षरमा तयार पारिएका विभिन्न कागजातहरू राजस्व अनुसन्धान विभागमा  आएपछि विभागले त्यस्ता कागजपत्रहरूमाथि प्रश्न उठाएको छ ।

    विगत लामो समयदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बसेर बेलगाम काम गर्दै आएका चौधरीले उद्योगी व्यवसायीहरूलाई अनावश्यक दुःख दिने र असुली गर्ने गरेको समाचार यस अघि नै नयाँ सडकले लेखिसकेको छ ।तीसवटा भन्दा बढी फाइलहरू चौधरीको अन्डरमा अहिले पनि छन् । ती फाइलहरूमा केही पुराना छन् भने केही नयाँ छन् । केही फाइलहरू चौधरीको व्यक्तिगत घर्रामा छन् । पुराना फाइलहरूको अनुसन्धान र तहकिकात गर्नुपर्नेमा चौधरीले त्यसो नगरी केबल असुली मात्र गरेर फाइल थन्काएर राखेका छन् ।

    वीरगञ्जको एक  साइकल पसलमा छापा हान्दा फाइल कार्यालयमा दर्तै  नगरिकन बीचमै सल्टाएका छन् । यस्तै जनकपुरको एक कपडा पसलमा  केही समय अगाडि छापा हानिएको थियो । उक्त फाइल दर्ता गरिएको भएपनि उक्त फाइल दर्ता भएको नम्बरमा टिपेक्स लगाएर अर्को फाइल दर्ता गरिएको छ । उक्त दुईओटा फर्महरूबाट मोटो रकम असुलेको कार्यालय र व्यापारीहरूबीच नै चर्चा नचलेको होइन् । यस्तै चौधरीलगायतको टोलीले वीरगञ्जस्थित एक  टायल्स फर्ममा  र एक कुखुरा फर्ममा छापा मारेको थियो । उक्त फाइलहरू पनि दर्तै नगरी मोटो रकम नजराना लिएको कार्यालय भित्रै चर्चा छ । 

    भन्सार र राजस्वमा खासै ज्ञान नभएका चौधरीले प्याजलगायतका गाडीहरूमा भीसीटीएस मात्र लगाएर छोड्ने गरेको बताइन्छ । अन्दाजीरुपमा प्रत्येक गाडीको एकमुष्ट रकम लिने र भीसीटीएसको मात्र पैसा रकम बुझाएर  चौधरीले अरु आफूखुसी गर्ने गरेको बताइएको छ ।

    चौधरीले हेरेका ८० प्रतिशत भन्दा बढी गाडीमा २५ हजार रुपैया मात्र तिराएर छाडेका छन् । चौधरीले हेरेका मालवाहक गाडीहरूमा भीसीटीएस मात्र लगाएको बिगो र मागदाबी नगण्य रहेको कार्यालयको रेकर्डबाट हेर्न सकिन्छ । यससम्बन्धमा  चौधरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij