Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

ड्राईफ्रुटको ठुलो कारोबार गर्ने मख्खनको भवानी एन्ड भगवती ट्रेडर्समा राजस्वको छापा, ड्राईफ्रुटका ठुला कारोबारीहरू भागाभाग !

ड्राईफ्रुटको ठुलो कारोबार गर्ने मख्खनको भवानी एन्ड भगवती ट्रेडर्समा राजस्वको छापा, ड्राईफ्रुटका ठुला कारोबारीहरू भागाभाग !

  • काठमाडौं । ड्राईफ्रुट तथा मसलाजन्य वस्तुहरूको ठुलो कारोबार गर्ने मख्खनको एक पसलमा छापा हानेको छ । काठमाडौंको मख्खनस्थित याट्खामा रहेको भवानी एन्ड भगवती ट्रेडर्समा राजस्व अनुसन्धान विभागले मंगलबार छापा हानेको हो ।

    रमेश अग्रवाल तथा उनका परिवारका सदस्यहरूले सञ्चालन गर्दै आएको भवानी एन्ड भगवती ट्रेडर्सले ड्राईफ्रुट तथा मसालाजन्य वस्तुहरूको आयात तथा बिक्री वितरण गर्दा ठुलो मात्रामा भन्सार राजस्व छलेको आशंकामा राजस्व अनुसन्धान विभाग हरिहर भवनको टोलीले छापा हानेर कारोबारस्थल सिल गरेको छ । विगत लामो समयदेखि ड्राईफ्रुट तथा मसलाजन्य वस्तुहरूको कारोबार गर्दै आएका रमेश अग्रवालले छोटो समयमा मोटो रकम कमाएको उनी निकट स्रोतले नयाँ सडकलाई बतायो ।

    रमेश अग्रवालको काठमाडौंको मख्खनमा मुख्य कारोबारस्थल रहेको छ । रमेशको घर र गोदाम स्युचाटार कलंकी एरियामा रहेको स्रोतले बताएको छ । लामो समयदेखि ड्राईफ्रुट र बिक्री वितरणमा ठुलो मात्रामा भन्सार राजस्व चुहावट र छली भएको  निष्कर्ष निकालेको राजस्व अनुसन्धान विभागले केही समय अगाडि मसलाजन्य वस्तुहरू र ड्राईफ्रुटका कन्टेनरहरू समातेको थियो । ड्राईफ्रुटको कारोबारमा कर छलेको आशंकासहित भवानी एन्ड भगवती ट्रेडर्समा छापा हानेपछि ड्राईफ्रुटको कारोबार गर्ने अन्य ठुला कारोबारीहरू समेतको भागाभाग भएको छ ।

    काठमाडौंको मख्खन र कुलेश्वर कालीमाटी क्षेत्रमा ड्राईफ्रुट तथा मसलाजन्य वस्तुहरूको ठुलो कारोबार हुने गर्दछ । राजस्व अनुसन्धान विभागले ड्राईफ्रुट अवैध कारोबारको जरा पता लगाउन विगत देखि नै प्रयास गरिरहेको थियो ।यसअघि ड्राईफ्रुट तथा जडीबुटीको  ठुलो कारोबार गर्ने एक व्यापारीलाई समेत राजस्व अनुसन्धान विभागले कारबाही गरेको थियो । यससम्बन्धमा राजस्व अनुसन्धान विभागले राजस्व छल्नेहरूमाथि सुक्ष्मढंगले अनुसन्धान गरी  कारबाही गरिने बताएको छ ।यता भवानी एन्ड भगवती ट्रेडर्सका सञ्चालक रमेश अग्रवालसँग पटक पटक सम्पर्कको प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् । यता  ड्राईफ्रुटका अर्का ठुला कारोबारी हरिशंकर अग्रवालले पनि पछि कुरा गर्ने भन्दै पन्छिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij