Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी


नया सडक

२०८१, असार १२ बुधबार

  • 387
    Shares

  • जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

     

    हेटौँडा ।  जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् ।

     

    कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । “बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो । परिवारले आफू खुसी अस्पतालबाट घर ल्याउने क्रममा लामाको मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “असार ३ गते च्याउ खानुभएकी रुम्बाको उपचारका क्रममा असार ९ गने मृत्यु भएको हो ।”

     

    प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा जङ्गली च्याउ खाँदा बलबहादुर प्रजासहित एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुरको मृत्यु भएको प्रनाउ भण्डारीले बताउनुभयो । 

     

    राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।  

     

    अस्थायी प्रहरी पोष्ट गिङुका अनुसार सोमबार जङ्गलबाट ल्याइएको च्याउ खाँदा राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । एक्काइस २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाया प्रजा, तीन वर्षीय समिक प्रजा र पूर्ण प्रजा बिरामी भएका हुन् । उहाँहरूको पनि भरतपुरमा उपचार भइरहेको छ । 

     

    प्रनाउ भण्डारीका अनुसार मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं ५ कालीवनका आठ जनाले जङ्गली गोब्रे च्याउ खाई बिरामी भएका थिए । बिरामी आठै जनालाई हेटौँडा अस्पतालमा उपचार पश्चात् घर पठाइएकोे उहाँले जानकारी दिनुभयो ।

     

    “वर्षायाममा जङ्गलमा च्याउ बढी उम्रने भन्दै सोही च्याउ खाँदा एकसातामा तीन जनाको मृत्यु भएको छ । बिरामी आठ जना घर फर्किनुभएको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ”, प्रहरी नायब उपरिक्षक भण्डारीले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस