निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थितिसम्बन्धी विवरण मासिक रूपमा प्रकाशन गर्ने गरेको छ । शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।
किन भुक्तानी सन्तुलनको गणना आवश्यक ?
भुक्तानी सन्तुलनले देशको वित्तीय तथा आर्थिक अवस्थाको चित्रण गर्छ । भुक्तानी सन्तुलनले आफ्नो देशको मुद्राको स्थिति (मुद्राको मूल्य दरिलो बन्दै छ वा ह्रास हुँदै छ भन्नेबारे)को चित्रण गर्छ । भुक्तानी सन्तुलनले सरकारलाई वित्तीय तथा व्यापारिक नीति निर्धारण गर्न सहयोग गर्छ ।
यसको गणनामा के–के पर्छन्
भुक्तानी सन्तुलनको गणनामा मुख्य त तीन तत्व समावेश हुन्छन् । पहिलो, चालू खाता, पुँजीगत खाता र वित्तीय खाता । चालू खाता : यसमा मुख्यतया आफ्नो देश र अन्य देशबीच भएको वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् ।
पुँजीगत खाता : यसमा दुई वा अन्य देशबीच सम्पत्ति खरिद–बिक्री सम्बन्ध (जस्तो, जग्गा तथा भौतिक सम्पत्ति पनि पर्छन्)मा भएको कारोबारको तथ्यांक राखिन्छ । पुँजीगत खातामा ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसमेत समावेश हुन्छन् ।
वित्तीय खाता : यसमा विदेशी लगानी, रियलस्टेटमा भएको लगानी र ठूला–ठूला परियोजनामा गरिएको लगानीको तथ्यांक राखिन्छ । यसले विशेष गरेर घरेलु सम्पत्तिमा विदेशीको स्वामित्व र विदेशी सम्पत्तिमा घरेलुको स्वामित्वको मापन गर्छ ।
भुक्तानी सन्तुलन र व्यापार घाटा एकै होइन
व्यापार घाटा मुख्य गरी व्यापारसँग मात्र सम्बन्धित हुन्छ । यसले आफ्नो देश र विश्वका अन्य देशसँग गरेको आयात–निर्यातको तथ्यांक मात्र विश्लेषण गर्छ । व्यापार घाटा चालू खातासँग सम्बन्धित हुन्छ । भुक्तानी सन्तुलनजस्तो अन्य पुँजीगत खाता र वित्तीय खातसँग सम्बन्धित हुँदैन ।
00