
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
पिपुल्स पावरले पायो ५०% हकप्रद सेयर बिक्रीको स्वीकृति, चुक्ता पुँजी ९४.८९ करोड पुग्ने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै पिपुल्स पावर कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । प्रत्येक कित्ता १०० रुपैयाँ दरले जारी हुने सेयरबाट कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ संकलन गर्नेछ । प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
बिन्ध्यबासिनी हाइड्रोपावरका ९६ लाख बढी सेयरको लकइन असार २ पछि समाप्त, बजारमा कारोबार खुल्ने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लकइन अवधि आगामी असार २ गतेपछि सकिने भएको छ।
कम्पनीद्वारा जारी सूचना अनुसार, लकइन अवधिपछि कारोबारयोग्य हुने सेयरहरू यस प्रकार छन्स्
संस्थापक समूहका ८४ लाख ७३ हजार ५०० कित्ता,
कर्मचारी समूहका ६७ हजार ७८८ कित्ता,
आयोजना प्रभावित स्थानीयका ११ लाख २९ हजार ८०० कित्ता सेयर।
यी सबै सेयरहरू तीन वर्षे लकइन अवधिमा थिए। अब असार २ पछि दोस्रो बजारमा स्वतन्त्र रूपमा कारोबार गर्न सकिनेछ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं साधारण सभा जेठ २६ गते, ८% बोनस सेयर प्रस्ताव
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा यही जेठ २६ गते काठमाडौंको आम्रपाली बेंक्वेट, भाटभटेनीमा बिहान ११ बजे बोलाएको छ।
सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीले अघिल्लो सातौं साधारण सभाबाट स्वीकृत ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय पनि यस सभाबाट पारित गराउने तयारी गरेको छ।
कम्पनीका अनुसार, नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी बोनस सेयरमार्फत नै पूरा हुने भएकाले हकप्रद प्रस्ताव रद्द गर्न लागिएको हो।
विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत, ५१ हजार कित्ता सेयर बजारमा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ औपचारिक रूपमा सूचीकृत गरिएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई वितरण गरेको ५१ हजार २९५.५० कित्ता एफपीओ सेयर नेप्सेमा सूचीकृत भएसँगै अब ती सेयरहरू लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ।
गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष दाहाल
दशरथचन्द । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभएको छ । उहाँले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गर्नुभयो ।
आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति गर्नुपर्ने भए पनि ढिलाइ भइरहेकोप्रति विरोध जनाउनुभयो ।
“गभर्नर तुरन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरित छ”, उहाँले भन्नुभयो । तराईपहाड, हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पु¥याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश गरिएको छ ।
जीई एरोस्पेसले इतिहाद एयरवेजबाट जिइ इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि १४।५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’
काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ । छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, पूर्वाधार विकासलगायत क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो ।
सांसद शान्ति विकले सरकारले ढिलासुस्ती नगरी उपलब्ध स्रोतसाधनको उपयोग गर्दै वर्तमान अवस्थाको सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार र सूचना प्रविधिलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल ल्यूब आयलले १०१% नाफा वृद्धि गर्दै ३.२४ करोड कमायो, २००५ हकप्रद सेयरका लागि स्वीकृति माग
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०१.२४% ले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा १ करोड ६१ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको आम्दानी ८२ करोड २७ लाखबाट बढेर ८९ करोड ५३ लाख रुपैयाँ पुगेको छ, भने बिक्री लागत ७१ करोड २१ लाख कायम भएको छ। कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ९७ लाखबाट बढेर ४ करोड ८१ लाख पुगेको छ।
वित्तीय खर्च २ करोड ६३ लाखबाट घटेर २ करोड ११ लाख पुगेको छ, जसले गर्दा खर्च घट्ने र आम्दानी बढ्ने प्रभावले नाफा उल्लेखनीय रूपमा सुधार भएको देखिन्छ।
विद्युत आपूर्तिमा गडबडी प्रसारण लाइन अभावको कारण भएको कार्यकारी निर्देशक शाक्यको दाबी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् आपूर्ति प्रभावित भएको विषयमा त्यसको कारण सार्वजनिक गरेका छन् ।विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसकेकाले विद्युत् आपूर्तिं प्रभावित भएको कार्यकारी निर्देशक शाक्यले बताएका हुन् ।निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ पदच्युत गरिएयता विद्युत जाने समस्या जनताले महसुस गर्दै आएकोमा बिहीबार एकैपटक धेरै क्षेत्रमा यस्तो समस्या अनुभव गरिएको थियो । राजधानीका विभिन्न ठाउँमा अँध्यारो भएको थियो ।
राजनीतिकरूपमा प्रस्तावित गभर्नर भनिएका डा. विश्व पौडेल विरुद्धको रिटमा सर्वोच्चको दरपिठ
काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिकरूपमा प्रस्तावित गभर्नर भनिएका डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले दायर रिटमा दरपिठ गरिएको छ ।
तर उक्त रिट सर्वोच्च प्रशासनले आज शुक्रबार दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी सार्वजनिक गरेका हुन् । सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको जनाइएको छ ।
३ हजार रुपैयाँ बढेर शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९२५ रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।
हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, ४.७५% लाभांश प्रस्ताव
काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडले आगामी जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
त्यससँगै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह विवरण माथि पनि छलफल गरिनेछ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च, अन्य खर्चहरूको अनुमोदन, र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको एजेन्डामा छ।
देशभर मौसममा पश्चिमी प्रणालीको प्रभाव, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ ।हाल नेपालमा पश्चिमी वायु प्रणाली र स्थानीय वायुले प्रभाव जमाइरहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत मौसममा आंशिक असर पु-याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रभावका कारण देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेल ३ रुपैयाँ घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij