काठमाडौं । सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएपछि सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकबाट गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णयबारे जानकारी दिनेक्रममा यस्तो बताए ।२०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी गड्तौलालाई यसअघिको सरकारले निमित्त मात्रै बनाएको थियो ।
मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टचारसम्बन्धी मुद्दा दर्ता भएसँगै स्वतः पदबाट निलम्बित भएका थिए ।मुख्य सचिव स्वतः निलम्बित भएपछि सरकारले उनको स्थानमा कार्य गर्ने गरी गौड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको थियो । निमित्तका रूपमा काम गर्दै आएकी गड्तौलालाई ओलीले कायम मुकायमको जिम्मेवारी दिएको हो ।