Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन १ मंगलबार

  • 420
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    पुँजी बजारको लागि अर्थमन्त्री सकारात्मक रहेको ब्रोकर्स एसोसिएसनको विश्वास

    काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको विकासको विषयमा आफू सकारात्मक रहेको  विश्वास दिलाएका छन् ।मंगलबार  बधाई दिन अर्थ मन्त्रालयमा उपस्थित भएको धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको टोलीसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले पुँजी बजारको विकास र स्थायित्वका लागि सक्रियरूपमा पहल गर्ने विश्वास’ दिलाएका हुन् ।

     

    एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘मन्त्रीज्यूले पूँजी बजारप्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियता पूर्वक पहल गर्ने बताउनुभएको छ।’ एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा एक टोली मन्त्रालय पुगेर बधाइ दिएको थियो ।

    सिद्धार्थ इन्टरनेशनल होटलको आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटलले प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ  । आइपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
    सो सम्बन्धी सम्झौतापत्रमा मंगलवार विहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
    सो अवसरमा अध्यक्ष न्यौपानेले चालू आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने बताए । उनका अनुसार कुल जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरिनेछ ।

    शेयर बजार : नेप्से २३१०.५९ बिन्दुमा उक्लियो , ९ अर्ब १३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से २३१०.५९ बिन्दुमा उक्लिएको छ । आज ७०.१८ अंकले बढेर नेप्से २३१०.५९मा उक्लिएको हो । समग्रमा ३.१३ प्रतिशतले बढेको शेयर बजारमा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२.४१ रुपैयाको कारोबार भएको छ ।

     

    आजको दिन २ करोड ५८ लाख ३६ हजार २सय ८५ शेयरको कुल करोबार भयो । आज १ लाख १९ हजार ११ले शेयर कारोबार गरे । जसमा ३सय १५ कम्पनीहरूको शेयर कारोबार भयो ।नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै नेप्सेको उकालो यात्रा शुरु भएको हो ।

    एभरेष्ट बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । 

     

    कम्पनीले रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार २० गते सेबोनमा निवेदन दिएको हो । 

    विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    सेयर बजारमा सेकेण्डरी मार्केट भनेको के हो ?

    काठमाडौं । पछिल्लो समय आममानिसलाई सेयर बजारमा कसरी लगानी गर्ने भन्ने चासोको विषय बनेको छ। कोरोना महामारीको सुरुआतपश्चात् सेयर बजारको बारेमा चासो राख्नेहरुको संख्या बढ्दो छ। लगानीकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।  ‘लगानीकर्ताले सेयर बजारमा दुई माध्यमबाट लगानी गर्न सक्छन्। सेयर बजारमा लगानी गर्ने पहिलो माध्यम प्राथमिक सेयर (आईपीओ) बाट हो। यस्तै, सेयर बजारमा प्रवेश गर्ने अर्को माध्यम भनेको दोस्रो बजार (सेकेण्डरी मार्केट) हो। दोस्रो बजारमा सीधै नेप्सेमा सूचीकृत कम्पनीको सेयर खरिद गरेर प्रवेश गर्न सकिन्छ।’ 

     

    के हो सेकेण्डरी मार्केट?  
    कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १० देखि २० दिनभित्रमा लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्ने गर्दछ। सेयर बाँडफाँड गरेको चार-पाँच दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचीकृत गरिन्छ। प्राथमिक सेयरलाई नेप्सेमा सूचीकृत गरेपछि सेयर खरिद-बिक्री गर्ने स्थानलाई सेकेण्डरी मार्केट (दोस्रो बजार) भनिन्छ।

     

    स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

    काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन गर्दे सांसदहरुले नेपालमा उत्पादित जडीबुटीको प्रभावकारी रुपमा बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

     

    आज राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सांसदहरुले लिमिटेडको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । छलफलका क्रममा सांसद मदनकुमारी शाहले लिमिटेडका उत्पादन बजारीकरणको तहमा कमजोर रहेको भन्दै यसमा जोड दिन आग्रह गर्नुभयो । उहाँलगायत अरु सांसदहरुले पनि नेपालमा उत्पादित जडीबुटीका उत्पादन प्रयोग गरौँ भन्ने खालका सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।

    सांसद पदमबहादुर परियारले भन्नुभयो, “उत्पादित वस्तुलाई बिक्री गर्न पनि प्रक्रियागत झण्झटका कारण समस्या रहेछ । व्यापार गर्ने संस्थाको कार्यविधि नै पो परिवर्तन गर्नुपर्ने हो की यसमा सोच्नुपर्छ ।” नेपाल जडीबुटीको क्षेत्रमा ठूलो सम्भावना बोकेको र आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याउन  सक्ने भएकाले यसको खोज, अनुसन्धान, उत्पादनमा प्राथमिकता दिनुपर्ने सांसदहरुको भनाइ थियो ।

    चामल कसरी तयार पारिन्छ भन्ने कुरा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेः सभामुख

    काठमाडौ । बालबालिकालाई चामल कसरी तयार पारिन्छ भन्ने कुरा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औल्याइएको छ । सभामुख देवराज घिमिरेले रैथाने कृषि हाटबजारको प्रथम वार्षिकोत्सव समारोहमा यो आवश्यकता औल्याएका हुन । अहिले शहरमा हुर्किएका  बालबालिकालाई धान कसरी फल्छ र चामल कसरी बन्छ भन्ने जानकारी नै नभएको सभामुख घिमिरेले बताए । सभामुख घिमिरेले  रैथाने बाली संरक्षण गर्न यस्तो हाटबजार आवश्यक भएको बताए । उनले नेपालको पहिचान र स्वास्थ्यको हिसावले पनि औषधिय गुणले युक्त रैथाने बालीहरू पछिल्लो समय मासिदै गएको बताए । यस्तो हाटबजार सबै स्थानीय तहसम्म सञ्चालन गर्न सके मौलिक उत्पादनले प्रश्रय पाउने थियो । दरबार मार्गस्थित ओरियन्ट क्याफेमा भएको उक्त कार्यक्रममा विभिन्न सहभागिले रैथाने बाली संरक्षण गरेकोमा बधाई तथा शुभकामना दिएका थिए ।

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

    काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गर्नुभएको थियो ।

     

    निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी हुनुभएको जानकारी दिनुभयो । यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित हुनुभएको छ । सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रसाईँले बताउनुभयो ।

    बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।  

     

    महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताउनुभयो । “मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।”

     

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । “आगामी २४ घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति

    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले लोक(संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।

     

    धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवजसरमा उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

     

    “लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उहाँले भन्नुभयो ।

    स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष रु पाँच करोड बढीको निःशुल्क सेवा

    चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ ।

     

    अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्बाध रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।”

    भारतीय राजदूत श्रीवास्तवले गरे उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहसँग भेट

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

     

    मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको  जनाइएको हो ।

     मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।

    मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले  जानकारी सार्वजनिक गरे ।

    अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु ३४ घाईते

    अफगानिस्तान । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताउनु भयो ।  

     

    मङ्गबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमामा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् । उनीहरुका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

    सुन प्रतितोला रु नौ सयले बढ्यो , प्रतितोला एक लाख ४७ हजार एक सय

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ । 

     

    यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ ।

    बेइजिङ र मस्कटमा लगानी प्रवर्द्धन कार्यक्रम

    काठमाडौँ । नेपालमा लगानीका अवसरबारे जानकारी दिन बेइजिङ र मस्कटस्थित नेपाली दूतावासले हालै लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । 

     

    गत आइतबार बेइजिङस्थित दूतावासले चिनियाँ लगानीकर्तासहित विभिन्न उद्यम व्यवसायी एवं सञ्चारकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीका पर्याप्त अवसर रहेका र प्रतिफल पनि आकर्षक रहेकाले ढुक्क भएको पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

    आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

    काठमाडौँ ।गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।
      
       गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि रु ११  खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् रु नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख बराबर खर्च भएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस