Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ९  बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, साउन ९ बुधबार

  • 480
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ९  बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ९  बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

    काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सिबिफिनले उठाएको थियो ।

    शेयर बजार : नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा , १६ अर्ब २० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा आएको छ । आज १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । २ वटा समूहका सूचकमात्र बढेका छन् । 
    यस दिन ३११ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरैन्स अग्रस्थानमा आएको छ । आज दोस्रोमा शिवम् सिमेन्ट्स र तेस्रोमा अपर तामाकोशी परेका छन् ।

    नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बुधबार  उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

    कामना सेवा विकास बैंकको खुद नाफा ६७ प्रतिशतले बढ्यो

    काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा करिब ६७ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको खुद नाफा ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ पुगेको छ ।यसअवधिमा खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेर २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा राम्रोसँग बढेको हो । १ वर्षको अवधिमा यसको इम्पेयरमेन्ट चार्ज ४१.८३ प्रतिशतले घटेर ३० करोड ४० लाख ४५ हजार रुपैयाँमा आएको छ । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ छ ।

    साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने , बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

    काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको२० प्रतिशतले हुन आउने २५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।यस आइपीओ निष्कासनको लागि एनआइएमबी एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट अध्यक्ष पवित्रकुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

    बेष्ट फाइनान्सको २९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । बेष्ट फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २९ हजार ४८३ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा बेष्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

    ओटीसी बजारमा रू. ५ अर्बभन्दा बढी कारोबार, वर्ल्डलिंकको शेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँ

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओभर द काउन्टर (ओटीसी) बजारमा गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कम्पनीको रू. ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

     

    नेप्सेले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ओटीसी बजारमा विभिन्न कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता शेयरको रू. ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ बराबरको शेयर कारोबार भएको हो ।

    आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौँ।आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
    अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

     

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।

    सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने मन्त्रीपरिषद बैठकको निर्णय

    काठमाडौँ ।  मन्त्रीपरिषद बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । आज आकस्मिक रूपमा बोलाइएको बैठकले छानबिन समिति गठन गरेको हो ।उक्त समितिको रतिशलाल कर्णको संयोजकत्व गर्नेछन् भने गठित समितिमा ५ सदस्य रहेका छन् । नेपाल वायुसेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी यस आयोगका सदस्य रहेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगले ४५ दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्नेछ।

    सुनको मूल्य तोलामा ११ सयले बढ्यो ,  प्रतितोला  १ लाख ४७ हजार ४०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ ।

    विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘अब यस्तो घटना नहोस्’

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता दुःखदायी घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभएको छ । 

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनास्थल अवलोकनपछि  नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा आज बिफ्रिङ लिँदै प्रधानमन्त्रीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता घटना नहोस् भन्नेतर्फ सबै सजग हुनुपर्छ भन्नुभयो । उहाँले घटना कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी भयो रु भन्ने बुझ्न आग्रहसमेत गर्नुभयो ।  प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद्, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । 

    ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा र कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला रहनुभएको थियो ।

    मन्त्रिपरिषद् बैठक : २०८२ असारसम्म सडक बालबालिका मुक्त राज्य बनाइने

    काठमाडौँ ।सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
     
            बैठकले बाढीपहिरा जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले देशका विभन्न भागमा हालै गएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण, पीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रीपरिषद बैठकको निर्णय

    काठमाडौँ ।  मन्त्रीपरिषद  बैठकले भोलि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको उनले बताए। बैठकले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारमा समवेदना र घाइते पाइलट मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

     
    बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

    काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताउनुभएको छ ।
    संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उहाँले सो स्पष्ट गर्नुभएको हो । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री डा राणासँग सो प्रश्न गर्नुभएको हो ।

    अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

    काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सिबिफिनले उठाएको थियो ।

    अपहरण मुद्दा लागेका पूर्व मन्त्री श्यामसुन्दर गुप्ता विरुद्ध थप सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

    काठमाडौं । पूर्वमन्त्री एवं अपहरण तथा शरीर बन्धक मुद्दाको मुद्दा लागेका श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।

     

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको  अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

    उनीमाथि ८५ लाख बराबरको बिगो धन सम्पत्तिसम्बन्धी शुद्धीकरणसम्बन्धी कसुर गरेको दाबी गर्दै सोही बराबर जरिवाना, दोब्बर बिगो अनि कैदको सजाय गर्न अभियोग पत्रमा मागदाबी गरिएको छ। प्रशान्तकुमार संघाईको जाहेरीले उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

    २१ क्यासिनोबाट सवा अर्ब बढी राजस्व संकलन

    काठमाडौ ।सरकारले क्यासिनोबाट १ अर्ब ३३ करोड ७८ लाख ९२ हजार २सय रुपैयाँ राजस्व संकलन गरेको छ ।गत असार मसान्तसम्म २१वटा क्यासिनोले राजस्व बुझाएर दर्ता नवीकरण गराएबाट सो राजस्व संकलन भएको  हो ।

     

    पर्यटन विभागका अनुसार सरकारले सबै क्यासिनो तथा मनोरञ्जन खेल सञ्चालनको लाइसेन्स  प्राप्त कम्पनीलाई २०८१ असार मसान्तभित्र राजस्व बुझाउन अल्टिमेटम दिएको थियो । दिइएको समयमै राजस्व नबुझाउने कम्पनीको दर्ता खारेज गर्ने चेतावनी पनि दिइएको थियो ।

    प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी

    गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको  जानकारी दिनुभएको छ  ।
     
    काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान  दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८  जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

     

    “जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।” गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।

    ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।

     

    यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । 

    सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

    कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

     

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना  छ ।

     
     

    प्रतिक्रिया दिनुहोस