काठमाडौं । आर्थिक वर्ष २०८१÷८२को मौद्रिक नीतिले विप्रेषण आप्रवाह सामान्य रहने आकलन गरेको छ । मौद्रिक नीतिले बाह्य क्षेत्रको अवस्थाबारे यसप्रकारको विषय प्रस्तुत गरेको छ ।
‘ आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१३९ अर्ब २६ करोड कायम भएको छ भने कुल वस्तु आयातमा १.८ प्रतिशतले कमी आई रु.१४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । फलस्वरुप, गत वर्षको तुलनामा व्यापार घाटा १.७ प्रतिशतले सुधार भई रु.१३ खर्ब १४ अर्ब ४४ करोड रहन गएको छ । घट्दो ब्याजदर, उपलब्ध तरलता, सरकारको पुँजीगत बजेट विनियोजन र आर्थिक वृद्धिको लक्ष्यलाई दृष्टिगत गर्दा आर्थिक वर्ष २०८१/८२ मा आयातको वृद्धिदर धनात्मक रहने देखिन्छ । ’
‘ आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा शोधनान्तर बचत उल्लेख्य बढेर रु.४२५ अर्ब ६७ करोड पुगेको छ । त्यसैगरी, चालु खातामा सुधार आई रु.२०० अर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालु खाता घाटा रु.७९ अर्ब ५३ करोड र शोधनान्तर बचत रु.२२४ अर्ब ९० करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा पनि चालु खाता र शोधनान्तर स्थिति उल्लेख्य बचतमा रहने देखिन्छ । ’
‘ नयाँ र बढी आय हुने श्रमगन्तव्य मुलुकहरुमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति र विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउन गरिएको प्रोत्साहनले आर्थिक वर्ष २०८०/८१ को एघार महिनासम्म विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको छ । यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशत र अमेरिकी डलरमा १७.३ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या अझै उच्च नै रहेकोले आर्थिक वर्ष २०८१/८२ मा पनि विप्रेषण आप्रवाह सामान्य रहने आंकलन रहेको छ । ’
‘ आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाहमा भएको वृद्धि र आयातमा आएको संकुचनको कारण शोधनान्तर बचत उल्लेख्य बढ्न गई एघार महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रु.१९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड अमेरिकी डलर पुगेको छ ।’