Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ११  शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, साउन ११ शुक्रबार

  • 336
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ११  शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ११ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    सेवा अवधि नपुगेका कर्मचारीको सरुवा नगर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले प्रचलित ऐन कानुनविपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई आज ज्ञापनपत्र बुझाउँदै सङ्गठनले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दबाबका आधारमा ऐन, कानुन र मापदण्डविपरीत सरुवा थमौती नगर्न आग्रह गरेको हो ।
     
     राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानुनविपरीत पूर्वाग्रह राखी अन्यायपूर्ण ढङ्गले गरिएका सरुवासम्बन्धी काम कारबाही यथाशीघ्र सच्च्याउन सरकारको ध्यानाकर्षण गराइएको सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिनुभयो ।

    ‘मौद्रिक नीति समग्रमा ठीक छ, बाँकी सर्कुलर कस्तो आउँछन् भन्नेमा भर पर्छः महासङ्घ अध्यक्ष ढकाल

    काठमाडौँ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले तय गरेको कार्यदिशा सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।

     

    नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिका व्यवस्थाबारे रासससँग प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ढकालले निजी क्षेत्रले उठाइरहेका विषय र राष्ट्र बैंकलाई दिएका सुझाव सम्बोधन भएको बताउनुभयो ।

     

    यद्यपि, मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले जारी गर्ने परिपत्र ९सर्कुलर० हरु कस्तो आउँछन् भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्ने उहाँको भनाइ छ । “मौद्रिक नीति समग्रमा सकारात्मक नै छ । तर अब सर्कुलर कसरी आउँछन् भन्ने हो । कतिपय कुराहरु सर्कुलरमा पनि भरपर्छन्”, ढकालले रासससँग भन्नुभयो ।

    ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह

    काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले महसुल विवादसम्बन्धी विषयलाई नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँगको छलफलबाट टुङ्गोमा पु¥याइदिन आग्रह गर्नुभयो । 

     

    “तत्कालका लागि तीन महिनाभित्र महसुलको विषय निरुपण गर्ने गरी लाइन जोडिएको छ, यो विषय जटिल र पेचिलो बनेको छ, समितिले छलफल थालिसकेको छ, समितिले चाँडो टुङ्ग्याइदिएपछि मन्त्रालयले आफ्नो काम गर्छ”, मन्त्री खड्काले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीबाट बक्यौता नउठाउने भनेर कहीँकतै नबोलेको जानकारी दिँदै उहाँले बक्यौता यकिन गरेर मात्रै लिइनुपर्नेमा सरकार स्पष्ट छ भन्नुभयो ।

    मौद्रिक नीतिः लघुवित्त संस्थालाई गाभिनका लागि प्रोत्साहन

    काठमाडौँ ।  लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । त्यस्ता संस्थाको सेवा सम्बन्धमा रहेका गुनासोको सम्बोधन गर्दै ग्राहकहित संरक्षण गर्ने नीतिको प्राथमिकता छ । 

     

    अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहकहित संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक नियामकीय व्यवस्था गरिने नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा जारी गर्ने , डिजिटल भुक्तानीको काम गर्ने कम्पनीले आईपीओ निष्कासन गर्नु पर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक्ले मौद्रिक नीति जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

     

    राष्ट्र बैंकले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा होलसेल सेन्ट्रल बैंक डिजटल करेन्सीको प्रारुप डिजाइन क्यारेक्टरस्टिक्स तयार गर्ने कार्य अगाडि बढाइने बताएको छ ।भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुबाट गरिने कारोबारलाई थप पारदर्शी बनाई उक्त संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धि गर्नका लागि भुक्तानी सेवा प्रदायक संस्थाहरुले नियुक्त गरेका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

    मौद्रिक नीति २०८१/८२ : निर्माण व्यवसायीले लिएको ब्याज मंसिर मसान्तसम्म तिर्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीले तिर्ने सावाँ तथा ब्याजको भुक्तानी अवधि थपिदिएको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा। महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै आगामी मंसिर मसान्तसम्म निर्माण व्यवसायीले बैंकलाई तिर्नुपर्ने सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरेका हुन् ।

    मौद्रिक नीति २०८१/८२ : मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने लक्ष्य

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने लक्ष्य राखेको छ । आज गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सीमा ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण रहेको बताए ।

     

    मौद्रिक नीति प्रस्तुत गर्दै उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ ।’

    मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ ।

     

    “ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो । ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ ।

     

    बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

    मौद्रिक नीति  : संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।

     

    आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी गराएका हुन् ।पूँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट लिने मार्जिन प्रकृतिको ऋणको अधिकतम सीमा खारेज गरिने अधिकारीले बताए ।

    राष्ट्र बैंकले  नीतिगत दर घट्यो , कर्जा विस्तारको लक्ष्य बढ्यो

    काठमाडौं।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै आर्थिक वर्ष ८१/८२ मा बैंकदर ७ बाट ६.५ प्रतिशत र नीतिगत ५.५ बाट ५ प्रतिशत कायम गरिएको बताएका हुन् ।उनले कर्जा विस्तार १२।५ रहने प्रक्ष्येपण गरिएको बताएका छन् ।

    आरती पावरले आइपीओ निष्कासन गर्ने , साधारण सभा साउन ३२ गते

    काठमाडौं  । आरती पावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३२ गते साधारण सभा बोलाएको छ । सभा टोखा न.पा, पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा खआर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    सानिमा जीआइसी इन्सुरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

    सुनको मूल्य तोलामा तीन सयले घट्यो,  प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ३० रुपैयाँ कायम भएको छ ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  दुई दिन निरन्तर रेकर्ड बनाएको डलरको मूल्य आज साउन ११ गते शुक्रबार घटेको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको डलरको बिक्रीदर, यस दिन ४ पैसा घटेको हो।नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६२ पैसा रहेको छ।यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६४ पैसा पाइन्छ।
    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा तोकिएको छ।

     

    आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ १ पैसा पाइन्छ।

    बीवाइडी गाडीका अत्याधुनिक सर्भिस सेन्टर शुभारम्भ,सर्भिस सेन्टरले ग्राहकलाई सन्तुष्ट गर्ने अपेक्षा

    काठमाडौं। बीवाइडीले गाडीका २ वटा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौंको गौरीघाट र ललितपुरको कुपण्डोलमा सर्भिस सेन्टर शुभारम्भ गरेको हो।

     

    सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई कम्पनीले बीवाइडीको पछिल्लो योजना अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याएको छ।

    ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेहिकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस वे छन्।

    अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

    काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।
     
     सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । 

     

    हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

    नकर्मी विसं २०२१ असार २० गते जन्मनुभएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भई नगरप्रमुख एवं काठमाडाँै उपत्यका मेयर्स फोरमका सक्रिय सदस्यको भूमिकामा रहनुभएको थियो । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस