
काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।संघका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वदेशी खाद्य तथा खाद्यजन्य उद्योगहरूको संरक्षण र सम्बर्द्धन गर्न आग्रह गरेको हो ।चामल, तेल , दाल र मैदालगायतका उद्योगहरू नेपालका प्रमुख खाद्य उद्योगहरू हुन् । यस्ता खाद्य र खाद्यजन्य उद्योगमा विभिन्न समस्या र चुनौती देखापरेको भन्दै संघका अध्यक्ष कुमुद दुगडले यस्ता उद्योगहरूको संरक्षण र सम्बर्द्धन गर्न प्रधामन्त्री ओलीसँग आग्रह गरे ।
भेटमा उद्योग संघले नेपालमा खाद्यान्न व्यापार व्यवसायमा भोग्नुपरेको विभिन्न समस्याहरू राख्दै एक ज्ञापनपत्र समेत प्रधानमन्त्रीलाई बुझायो । ज्ञापन पत्रमा भारतले धान निकासीमा २०% भन्सार महशुल, नेपालमा ५% कृषि सुधार शुल्क र २.५% अग्रिम आयकर गरी जम्मा २७.५% भन्सार महशुल लगाउँदा धान आयात अत्यन्तै महँगो हुन गएको उल्लेख छ । अर्बौँको लगानीमा स्थापना भएका स्वदेशी चामल उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ धानको अभावमा स्वदेशी उद्योग बन्द हुने अवस्थामा रहेको बताउँदै ज्ञापन पत्रमा यसले गर्दा आम उपभोक्ता समेत ठुलो मारमा पर्ने भएकोले भारतबाट ड्युटी फ्रिमा ६ लाख टन धान आयात गर्ने व्यवस्था गर्न भारत सरकारसँग उच्चस्तरीय कुटनैतिक पहल गरी स्वदेशी उद्योगको संरक्षण एवम् सम्बर्द्धन लागि प्रधानमन्त्री ओलीलाई पहल गर्न अनुरोध गरिएको छ ।
नेपाल चामल तेल दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालले नेपाल सरकारले आर्थिक वर्ष ०८१/८२ देखि लागु हुने गरी खाद्य वस्तुमा लगाएको अग्रिम आयकरका कारण दाल, चामल मिलहरु प्रत्यक्ष मारमा परेको र नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी विक्री वितरण गर्ने चामल, दाल उद्योगको कच्चा पदार्थ (धान र दाल गेडागुडी) आयातमा क्रमशः २.५% र १०% अत्यधिक रुपमा अग्रिम आयकर लगाइएको कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा रहेकोले संघले निकासका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको नयासडकसँग बताए ।
नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले कच्चा दालमा लागेको १०% अग्रिम आयकर लगाउने मनसाय नभएको भनी अर्थ मन्त्रालयका सचिवस्तरबाट जानकारी प्राप्त भएको तर अहिलेसम्म नसच्यिाइएकोले विगत डेढ महिनादेखि स्वदेशी खाद्य र खाद्यजन्य उद्योगहरूले कच्चा पदार्थको रूपमा ल्याइएको कच्चा पदार्थका कन्टेनरहरू भन्सारमा अडिकिएको बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij