Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 231
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १९ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

    काठमाडौ ।  कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौं स्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रा।लि। बीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्शरजाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १०५ छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    एचआइडीसीएलको १ करोड ६८ लाख ५९ हजार कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत

    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) को १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको छ । यस कम्पनीले लिलामीमा बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा, १२ अर्ब ९२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा आएको छ । आज १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 
    यस दिन ३२० कम्पनीको २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ५२ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    मिरा बायोटेकले आइपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता

    काठमाडौं । दक्षिण कोरियाको बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ । 

    एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा। विनोद साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ ।

    पूर्वाञ्चल ल्यूब आयलले आइपीओ जारी गर्ने , साधारण सभा असोज ९ गते

    काठमाडौ ।   पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी असोज ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव पनि सभामा पेश हुनेछ ।आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

     

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ जना संस्थापक सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

    नेपाल इन्सुरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनीले आजदेखि ६६ हजार ५६६ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।  आवेदकले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक २९.८७ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २९.८७ विन्दुले बढेको  छ । यससँगै सूचक २८६०.०७ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

     

    ८० कम्पनीको १६ हजार १ सय ७१ कित्ता सेयर कारोबार भएको छ । ६३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ ।

    कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ ।

     

    स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

    काठमाडौ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित गरेको छ ।

     

          सिंहदरबारस्थित समितिको कक्षमा आज उक्त विधेयकमाथि दफाबार छलफल गरी आज समितिले संशोधन प्रतिवेदन समिति पारित गरेको हो ।

          “विधेयकलाई व्यवस्थित गर्न यो ऐन बनेको हो, यसअघि  विधेयक व्यवस्थित गर्न ऐन बनेको थिएन”, समितिका सभापति विमला सुवेदीले भन्नुभयो, “ऐन बनाउने प्रक्रियालाई व्यवस्थित गर्न जरुरी थियो, प्रत्यायोजित गरिएका विधेयक किन चाहियो भन्ने बारेमा पनि यसले व्यवस्थित गर्छ ।” उहाँले पहिलो पटक ऐनलाई व्यवस्थित गर्न विधायन व्यवस्थापनसम्बन्धी कानुन बनाइएको हो ।

    दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

    मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

     

    जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

     

    यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइङ्कालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ ।

     

    सौर्य सिमेन्ट उद्योग भित्र कार्टनका कार्टन अवैध चुरोट भेटियो

    सिरहा । सिरहाको मिर्चैया नगरपालिका स्थित सौर्य सिमेन्ट उद्योग भित्र अवैध चुरोट भेटिएको छ ।राजस्व छली गरी अबैध  रूपमा राखेको  मार्लबोरो कम्पनीका चुरोट सिमेन्ट उद्योगभित्र जलाएपछि उक्त वस्तु स्थिति बाहिरिएको थियो  । 
    गत साउन २१ उक्त चुरोट त्यहाँ कार्यरत मजदुर लगाएर उद्योग परिसरभित्रै  जलाएपछि चारैतिर  हल्ला मच्चिएको थियो ।चुरोट जलाएको करिब एक हप्तापछि उद्योगभित्र चुरोटका कार्टुन जलेको देख्नुको साथै उद्योगमा कार्यरत माथिल्लो कर्मचारीहरुको कोठामा चुरोटको चाङ देखेपछि खवर बाहिरिएको थियो ।
    प्रहरीले खबर पाएपछि इलाका प्रहरी कार्यालय, मिर्चैयाको टोली उद्योग पुगेर  तीन कार्टनचुरोट  नियन्त्रणमा लिएको थियो। । चुरोटको बारेमा  आन्तरिक राजश्व अनुसन्धानको टोली उद्योगमा पुगेर वास्तविक वस्तु स्थितिको बारेमा जानकारी लिएर अनुसन्धान गरिरहेको छ।

    साउन महिनामा ३२ लाख ९० हजार ७५० रुपैयाँ भन्सार मूल्य तोकिएका बहुमूल्यकोटीका ४ घडी स्विटजरल्यान्डबाट आयात

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ लाख ९० हजार ७५० रुपैयाँ भन्सार मूल्य तोकिएका बहुमूल्य कोटीका ४ धातु घडी स्विटजरल्यान्डबाट आयात गरिएका छन् ।स्विटजरल्यान्डबाट आयात गरिने बहुमूल्यकोटीका धातु घडी गत वर्ष साउनमा ५ घडी आयात गरिएका थिए । गत वर्ष आयात गरिएका ५ घडीको भन्सार मूल्य र भन्सार राजस्वको भन्दा यो वर्ष बढी रहेको छ ।

     

    चालु आवको साउनमा आयात गरिएका ४ स्विटजरल्यान्डबाट आयात गरिएका बहुमूल्यकोटीका धातु घडीको भन्सार मूल्य १ करोड ३१ लख ६३ हजार रहेको र ती घडी आयातबाट भन्सार राजस्व ३९ लाख ४३ लाख असुल गरिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

    चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब बढीले  कुल वैदेशिक व्यापारमा कमी, व्यापार घाटामा वृद्धि

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२को पहिलो महिनामा २ अर्ब बढीले कुल वैदेशिक  व्यापारमा कमी आएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा कुल वैदेशिक व्यापार  १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६५ हजार बराबरको भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको हो ।

     

    सोही तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१को पहिलो महिना साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार बराबरको कुल वैदेशिक व्यापार भएको छ । दुवै साउनको कुल वैदेशिक व्यापारको तुलना गर्दा  चालु आर्थिक वर्षमा २ अर्ब १६ करोड४३ लाख  ६२ हजार कम रहेको छ ।

    साउथ एसिया रिजन इन्क्लुजन इनिसिएटिभ सार्फीका अध्यक्षमा गर्भनर अधिकारीको चयन

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई साउथ एसिया रिजन इन्क्लुजन इनिसियटिभ (सार्फी)को अध्यक्ष चयन गरिएको छ ।मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सोमबारदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुजन ग्लोबल पोलिसी फोरमको बैठकअन्तर्गत आज सार्फी लिडर्स राउन्टेबलका क्रममा अधिकारीलाई अध्यक्ष चयन गरिएको हो ।

     

    राउन्टेबलका क्रममा सार्फीको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएसँगै अधिकारी अध्यक्ष चयन भएको राष्ट्र बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट अध्यक्षता ग्रहण गरेका थिए। सार्फी लिडर्स राउन्टेबलबाट स्टेट बैंक अफ पाकिस्तान उपाध्यक्ष चयन भएको छ।

    मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान

    फुङ्लिङ (ताप्लेजुङ) ।  प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहााले भन्नुभयो, “ मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो । ” निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस