Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

किवी फल बिक्रिका लागि बजार अभाव


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 165
    Shares

  • किवी फल बिक्रिका लागि बजार अभाव

     

    मान्म । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो ।

     

    यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ । तर, किसानलाई बिक्रीको चिन्ता छ । रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गर्नुभयो । तर, उत्पादित किवीको बजारीकरणमा समस्या भयो । “बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको तनाव हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सडक नपुगेकाले बजारमा कहाँ लैजानु । बाटोमा पहिरो आएर पैदल हिँड्न पनि सकिन्न ।” 

     

    रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर ल्याएर खेती गर्दै आउनुभएका उहाँले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताउनुभयो । “यसवर्ष उत्पादन भएकोमध्ये कसरी कहाँ बिक्री गरौँ भन्ने छ । आउने दिनमा केही भइहाल्ला”,  उहाँले भन्नुभयो, “कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योल छ ।”

     

    उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उहाँको भनाइ छ । “यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए” उहाँले भन्नुभयो, “तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ ।”

     

    नरहरिनाथ गाउँपालिकामा किवी, अलैँचीलगायतबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको स्थानीय रामबहादुर बटालाले बताउनुभयो । “यहाँका किसानले किवी अलैँची तथा जडिबुडीको खेती राम्रो गर्नुभएको छ,” उहाँले भन्नुभयो, “यसवर्ष वडा नं। ५ को रुप्सामा किवी उत्पादन राम्रो भयो ।”

     

    नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीपकुमार बोहोराले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरण आवश्यक देखिएको बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस