Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images
सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवास

आत्महत्या र रोकथामका उपायहरु


२०८१, भदौ २५ मंगलबार

  • 267
    Shares

  • आत्महत्या र रोकथामका उपायहरु

    कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन् । नेपालमा वर्षेनी यस्ता कारणबाट धेरै मानिसले आत्माहत्या गरेका हुन्छन् ।

    नेपालमा सरदर प्रति वर्ष सात हजार मानिसले वर्षेनी आत्महत्या गरेको देखिन्छ । विस्तृत रुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाईन्छ ।

    आ.व. २०७८/०७९ –   ६८३०

    आ.व. २०७९/०८० –   ६९९३

    आ.व. २०८०/०८१ –   ७२२१

    माथिको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आ.व. अर्थात् आ.व. २०८०/०८१ को तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाईन्छ । गत आ.व.को आत्महत्याको दरलाई निम्नअनुसार प्रस्तुत गरिएको छ ।

    झुण्डिएर – ८५ प्रतिशत

    विष खाएर – १३ प्रतिशत

    हाम फालेर – ०.७ प्रतिशत

    डुबेर – ०.६६ प्रतिशत

    हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत

    आगो लगाएर – ०.०९ प्रतिशत

    करेन्ट लगाएर – ०.०१ प्रतिशत

    महिलाहरुमा आत्महत्याको सोचाई धेरै आएको देखिएपनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ ।

    मानिसहरु किन आत्महत्या गर्छन् ?

    मानिसहरुले आत्महत्या गर्ने कारणहरु धेरै छन् । तर सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुने गर्दछ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ ।

    डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ । अरु लक्षणहरुमा निन्द्रा नलाग्नु, खाना रुची नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन् ।

     

    डिप्रेसन किन हुन्छ ?

    १) आर्थिक समस्या

    अहिलेको कोभिड पछिको समयमा मानिसको आम्दानी घट्नु, बैँकको ऋण तिर्न नसक्नु, घरखर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाईन्छ ।

    २) पारिवारिक कलह

    श्रीमान श्रीमती, प्रेमी प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानुपनि डिप्रेसनको कारण हुनसक्छ ।

    ३) कडा रोगको शिकार हुनु

    ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ ।

    ४) सोचेजस्तो गर्न नसक्नु

    परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ ।

    स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरुमा पनि आत्महत्या गरेको देखिएको छ ।

     

    कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

    – कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाँही हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ ।

    – यदी कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रुपमा लिनुहुँदैन । उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोशिष गर्नुपर्छ ।

    – कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ ।

    – कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरु राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ ।

    – हालसालै कठिन परिस्थितीबाट गुज्रिएको छ भने जस्तै, नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए ।

    – आफूलाई मनपर्ने कुराहरु पनि अरुलाई दिएको, पुराना कुराहरुमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविश्यको बारेमा कुनैपनि योजना नबनाएको छ भनेपनि याद गर्नुपर्ने हुन्छ ।

    के आत्महत्या रोक्न सकिन्छ ?

    माथिका संकेतहरु बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ ।

    मनोचिकित्सक संग भेट मनोपरामर्श :

    मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै: डिप्रसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सहि पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले विरामीको समस्याको बारेमा बुझेर आवश्यक औषधीहरु र उचित परामर्श दिने काम गर्दछन् ।

    मनोविद्ले पनि साईकोथेरापीको माध्यामबाट विरामीको मनोवल उच्च गर्ने काम गर्दछन् । नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।

    मानसिक रोगहरुमा मानिसहरु अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले पनि ईन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्नसक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुनसक्छ ।

    (लेखक डा पोख्रेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालधापासीका नशा तथा मनोरोग विशेषज्ञ  हुनुहुन्छ ।)

     

    प्रतिक्रिया दिनुहोस