
काठमाडौँ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चयकर्तालाई औसत भन्दा बढी प्रतिफल दिनेगरी काम कर्मचारी सञ्चय कोषले गर्नुपर्ने बताएका छन् ।कर्मचारी सञ्चय कोषले स्थापनाको ६३औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
कोषले औसत प्रतिफल दिँदै आएको बताउँदै अर्थमन्त्री पौडेलले कोष त्यसमै सीमित हुन नहुने बताए ।औसत भन्दा बढी प्रतिफल बाँडेर सञ्चयकर्ताको आस भरोस जित्ने गरी काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।सञ्चयकर्ताहरूको दायरा विस्तार गर्न आकर्षक योजनाको आवश्यकता रहेकोले यसलाई कोषले प्राथमिकतामा राख्नुपर्ने अर्थमन्त्री पौडेलले बताए ।अर्थ मन्त्रालयका राजस्व सचिव तथा कोष सञ्चालक समिति अध्यक्ष दिनेश कुमार घिमिरेले पनि कोषको वित्तीय स्रोत परिचालन गर्ने क्षमताको सह्राहना गरेका थिए । साथै घिमिरे कोषको वित्तीय सक्षमताको आधारमा सञ्चयकर्ताहरूलाई अधिकतम लाभ दिन किसिमले काम गर्न भनेका थिए ।
कोषका पूर्व प्रशासकहरू रमेश कुमार भट्टराई र शंशारभक्त श्रेष्ठले कर्मचारी सञ्चय कोषले लगानी विविधिकरणको माध्यमबाट जलविद्युत र सञ्चयकर्ता आवसको क्षेत्रमा गरेको लगानी जस्तै नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने आवश्कता औल्याए । कार्यक्रममा अन्तर्राष्ट्रिय सामाजिक सुरक्षण संस्थाका अध्यक्ष डा. मोहम्मद अजमानले पठाएको भिडियो सन्देश मार्फत् सामाजिक सुुरक्षाको क्षेत्रमा कोषले छ दशक देखि पु–याउँदै आएको योगदानको प्रसंशाा गर्दै मिलेर काम गर्ने विश्वास व्यक्त गरेका थिए ।कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र अवस्थाको जानकारी गराउँदै कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कोषको सेवामा १५ वर्ष अवधि पुरा गर्ने १४ जना कर्मचारीहरूलाई दीर्घ सेवापदक वितरण गरिएको थियो । साथै विभिन्न अतिरिक्त क्रियाकलापका विजेता कर्मचारीहरूलाई पदक तथा पुरष्कार वितरण गरिएको थियो ।यस्तै २०८० सालको एसईई परीक्षामा सफल भएका कोषका कर्मचारीका छोरा÷छोरीलाई पुरष्कृत गरिएको थियो । कोषमा निजामती, जंगी र प्रहरी सेवातर्फका कर्मचारीहरूका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीहरू समेत गरी ५ लाख ७५ हजार भन्दा बढी सञ्चयकर्ताको करिव ६ खर्ब बराबरको सञ्चित रहेको छ । त्यो रकमको व्यवस्थापन गर्ने जिम्मेवारी कोषले सफलतापूर्वक निर्वाह गरिरहेको छ ।
स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ साल यता निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको छ । कोषले योगदानकर्ताहरूको सेवाकालीन आवश्यकता पुरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी जस्ता ६ किसिमका सापटी सुविधाहरूलाई सहुलियत दरमा प्रदान गर्दै आएको छ । सामाजिक सुरक्षा सुविधा तर्फ प्रसुति तथा शिशु स्याहार, काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति योजना तथा सञ्चयकर्ता तथा निजको श्रीमान वा श्रीमतीको लागि औषधोपचार सुविधा लगायत ४ किसिमका सुविधाहरू सञ्चयकर्ताहरूलाई निःशुल्क रूपमा प्रवाह गर्दै आइरहेको छ । कोषको संकलित स्रोतमध्ये करिव ९७ प्रतिशत अर्थात ५ खर्ब ५१ अर्ब रकम विभिन्न क्षेत्रमा लगानी गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij