Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

मिथिलाक्षेत्रमा जितिया पर्व हर्ष हुल्लासका साथ मनाइदै


२०८१, असोज ७ सोमबार

  • 42
    Shares

  • मिथिलाक्षेत्रमा जितिया पर्व हर्ष हुल्लासका साथ मनाइदै

    सिरहा।मधेसको मिथिलाक्षेत्रमा आज देखि जितिया पर्व हर्ष हुल्लासका साथ मनाइदै छ। सिरहासहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू जितिया पर्वको ब्रतमा छन् । पितृपक्ष (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मंगलबार परेको छ । असोज कृष्णपक्ष अर्थात् पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो व्रत कमसेकम एक अहोरात्रको हुने चलन छ । अष्टमी तिथि टेकिएकै दिन गरिने यो व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमी एक घडी कटाएर मात्र समापन गरिन्छ । यसअनुसार यसपालि आउने मंगलबार साँझ ६ बजे अष्टमी तिथि लाग्ने हुँदा सोही दिन सन्तानवती मिथिलानीले व्रत गर्ने निधो गरेका छन् । कमसेकम एक अहोरात्रको व्रत विधानले सोमबार मध्यरातअघि ओगटन (दर) खाएका मिथिलानीले बुधबार साँझ ५ः४५ बजे नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन् । यसपालिको व्रत अवधि झण्डै ४० घण्टाको हुने व्रतालुहरु बताउँछिन् । सन्तानको सौर्यवृद्धि र सद्गुणको कामनाका साथ गरिने यो पर्वका व्रतालु आमाले आफ्ना सन्तान परोपकारी र आपत्मा परेकाहरूलाई सघाउन सक्ने होउन् भन्ने इष्टदेवसँग पुकारा गर्छन् ।

    असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै सन्तानवती आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पना गर्छन् । मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भए पनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष सुरु हुनासाथै गरिन थालिन्छ । झुरुमुट्ट घरैघर देखिने थारू बस्तीमा सबै जितिया केन्द्रित सरसफाइ र अन्य तयारीमा लागेपछि यहाँ यो पर्वको रौनक केही दिन पहिले नै देखिन्छ । देवदूत मानिने जितवाहनको आराधना गरिने यो पर्व निष्ठा र सन्तानप्रतिको समर्पणभावको प्रतीक मानिन्छ । व्रतको अभिष्ठ नै उपकारी सन्तान हुन् भन्ने हुँदा धन, वैभव र सुखसयलका कुरा यो पर्वमा आमाहरूले सोच्दैनन् । पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि १ घडी कटाएर व्रत समापनको परम्परा छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडी पूर्व नै खाइसक्नुपर्ने व्रत विधान रहेको व्रतालु बताउँछन् । यद्यपि व्रत सरल बनाउन नयाँ पिँढीका आमाहरूले व्रतको दिन सूर्योदय हुन एक घडी (साढे २ घण्टा) अघि ओगटन खान सकिने बताउन थालेका छन् । यसरी व्रत लिनेका लागि पनि ३६ घण्टाको व्रत हुने देखिन्छ ।

    जितिया पर्वको ‘ओगटन’मा दही, चिउरा खाने चलन छ । यस चलनले अहिले मिथिलाका बस्ती–बस्तीमा जितियाकै लागि शुद्ध दूधको जोहोमा व्रतको तयारीमा रहेका आमाहरू लगेका छन् । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्यांग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलामा यो पर्व सबै आमाले निष्ठापूर्वक मनाउँछन् । ‘सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै शारीरिक तन्दुरुस्ती र सामाजिक इज्जत प्राप्त हुने जनविश्वास छ। पर्वका व्रतालुले दिवंगत मातृवंश (आमा, सासू, फूपू, दिदी, जेठानी÷देउरानी आदि)लाई तृप्त गर्न तर्पण दिन्छन् । दिवंगत मातृवंशलाई तर्पण दिँदै आफ्ना सन्तानसँगको नाता खुलाएर उसको कल्याण गर भन्ने कामना हुन्छ । पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत संकल्प गरिन्छ । व्रतालुुले त्यहीँ नै ३ पुस्ताभित्रका दिवंगत मातृवंश (दिवंगत आमा, बज्यै, सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु, जेठानी, देउरानी आदि)लाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । ती सबै दिवंगत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशीर्वाद देऊ’ भन्ने कामना गरिन्छ । व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा १ जना विधवा ब्राह्मणीको पुकारमा उनका ५ मृत छोरालाई राजा जितवाहन (देवरूप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस