काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ११ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
'जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै'
काठमाडौँ ।ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि।को प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलज्यूले गर्नुभएको थियो ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्तिरपारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।
दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ ।
त्यस्तै, एलपी ग्यास रु नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु दुई अर्ब ९४ करोड बराबरको मोटरसाइकल र रु दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ ।
सिद्धार्थ इक्वीटी फण्डको न्याभ र नाफा दुवै घट्यो
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) र खुद नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको छ ।
साउन मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ७३ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ ५८ पैसामा झरेको छ । त्यस्तै फण्डको नाफा पनि साउन मसान्तको तुलनामा भदौमा ४७ प्रतिशत घटेको छ । साउन मसान्तमा फण्डले रू. ३६ करोड ६८ लाख नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. १९ करोड ३८ लाखमा झरेको छ । भदौ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
प्रभु सेलेक्ट फण्डले भदौ महीनामा रू.१६ करोड ६४ लाख नाफा कमायो
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले भदौ मसान्तसम्ममा रू. १६ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ४८ प्रतिशत कम हो ।
साउन महीनामा फण्डले रू. ३२ करोड २९ लाख नाफा कमाएको थियो । भदौ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी रू. ३२ करोड ५८ लाख रहेकोमा भदौ मसान्तमा घटेर रू.१७ करोड १८ लाखमा झरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् ।
यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु। ५ लाख देखि अधिकतम रु। २५ लाखसम्म तोकिएको छ ।
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौं । शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ११ र १२ गते रात्रिकालीन बस नचलाउन अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको भन्दै चेतावनी दिएपछि प्राधिकरणले यस्तो अनुरोध गरेको हो । त्यसैले, मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार वर्षाको रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको जोखिमका रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रिकालीन बस नचलाउन सुझाव दिइएको हो ।
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
भद्रपुर । झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।
उहाँका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उहाँले भन्नुभयो, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।”
वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो ।
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर दिल्लीमा पक्राउ
काठमाडौं । सहकारी ठगी गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पक्राउ परेका छन् । उनी शुक्रबार भारतको राजधानी दिल्लीबाट पक्राउ परेका हुन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए ।
आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु
काठमाडौँ । काठमाडौँमा आजदेखि चाडपर्वलक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ ।
गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गर्नुभयो ।
प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा जोड दिनुभयो । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकलाई सम्मान कार्यक्रम र ‘नो भ्वाइलेसन, नो पेनाल्टी’ लेखिएका स्टिकर टासेर कार्यक्रम सुरु गरिएको हो ।
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
लखनऊ ।एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।
प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो ।
अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ ।
सुनको भाउ हालसम्मकै उच्च, तोलाको एक लाख ६१ हजार २ सय पुग्यो
काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च रहेको छ । आज तोलाको ५ सयले बढेर छापावाला सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यता चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभएको हो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो ।
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।
जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु। २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।