काठमाडौँ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने जनाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको अध्यक्ष गुरुङले जनाएका हुन् ।पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएकोले सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको उनले बताए ।उनले सार्वजनिक गरेको प्रेस नोटमा अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको उल्लेख छ ।
गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका गुरुङले कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । यस्तै २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका गुरुङले ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए । साथै उनले ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् ।