काठमाडौँ । शुक्रबार र शनिबार आएको भारी वर्षाले मुलुकको कृषि क्षेत्रमा ६ अर्ब रुपैयाँ जतिको क्षति पुगेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढी जतिको क्षति पुगेको देखिएको हो । कृषि मन्त्रालयका अधिकारीहरूका अनुसार सरसर्ती ६ अर्ब जतिको क्षति पुगेको हो ।
सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर क्षेत्रको धानबाली नष्ट भएको छ । बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी यो क्षति ३ अर्ब ५० करोड रुपैयाँ बराबर आंकलन गरिएको हो ।
यसैगरी ७० करोड बराबर १३ हजार हेक्टर अलैंची खेती नष्ट भएको छ । अलैंची खेती सबैभन्दा धेरै खोटाङमा नष्ट भएको हो । मधेश प्रदेशको पर्सा लगायत जिल्लामा ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबर उखु खेती नष्ट भएको छ ।
फलफूल बगैंचातर्फ २२ हेक्टर नष्ट भएको प्रारम्भिक विवरण कृषि मन्त्रालयले तयार पारेको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा धेरै बगैंचा नष्ट भएको हो ।मन्त्रालयका अनुसार ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा तरकारी बाली धेरै नष्ट भएको हो ।
मन्त्रालयका अनुसार कृषि बालीमा मात्र नभई माछापोखरी र पशुपन्छीको पनि ठूलो क्षति भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत जिल्लाका ४ सय ५८ हेक्टर माछापोखरीमा क्षतिको आकलनका आधारमा यो मात्रै १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ ।
यस्तै पाँचथर, धनकुटा, तेह्रथुम लगायतका २४ पशुगोठमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यस्तै २६ हजार २ सय ५ पशुपन्छीको बाढीका कारण ज्यान गएको मन्त्रालयको अनुमान छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा गरी पशुधनको क्षति भएको हो । यस्तै दुई वटा कोल्डस्टोरमा क्षति पुगेको छ भने १६ करोड बराबरको कृषि सम्बन्धी भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ ।सरकारले राहत वितरण एकद्वार प्रणालीद्वारा गर्ने जनाएको छ ।