चौतारा। यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।
गत आर्थिक वर्षमा जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत हुने गरेको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो ।
कफीखेतीबाट जिल्लाका किसानले वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका थापा बताउनुहुन्छ । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानी गर्न सकिन्छ ।
कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुर्याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी सङ्घ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर, पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेती विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ ।
सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारो लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको उहाँ बताउनुहुन्छ । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०–३२ जनाले रोजगारी पनि पाएको सङ्घले जनाएको छ ।
परम्परागत खेती गर्दै आएका किसान अहिले कफीखेतीमा आकर्षित भएका छन् । एकपटक रोपेपछि ४० वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफीखेती रोजेका हुन् । पछिल्लो समय जिल्लामा किसानलाई बगैँच सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफीखेतीमा किसानको झुकाव बढेको हो ।
अरनिको कृषि तथा पशुपालन फार्मले किसानलाई व्यावसायिक बनाउन सहजीकरण गरिरहेको छ । फार्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिने गरेको फार्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिनुभयो । फार्ममा छ हजार बोटको बगैँचा पनि छ । आफैँले निर्माण गरेको नर्सरीबाट बिरुवा उत्पादन गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले स्थानीय तहदेखि विभिन्न संस्थासँगको समन्वयमा किसानलाई कफीखेतीबारे तालिम, अन्तक्र्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाउनुभयो ।
कफीखेतीमा किसान लागेपछि गाउँको बाँझो जमिन सदुपयोग भएको छ । कफीखेतीमार्फत अर्थतन्त्रमा नगन्यमात्रामा भए पनि टेवा दिन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालयले पनि किसानलाई प्राविधिक सहयोग गर्न थालेको छ ।
उक्त कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानलाई कफीखेतीको उपयोगिताबारे जानकारी दिने गरेको बताउनुभयो । उहाँले कफीका लागि सिन्धुपाल्चोकको जलवायु र माटो उपयुक्त भएको राससलाई बताउनुभयो । सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरियालगायत देशमा निर्यात हुँदै आएको कृषि ज्ञान कार्यालयले जनाएको छ ।