काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा र बुक क्लोजको हुने मिति हाललाई स्थगित गरेको छ । कम्पनीले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको थियो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो । साधारण सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक कलोज गर्न लागेको कम्पनीले हाललाई बुक क्लोजको मिति समेत स्थगित गरेको हो ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ ।
विद्युत नियमन आयोगले असोज ६ गते कम्पनीलाई यस वर्षको लाभांश वितरणका लागि स्वीकृति दिन नमिल्ने निर्णय गरेको हो ।