Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज १६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........


नया सडक

२०८१, असोज १६ बुधबार

  • 360
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज १६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज १६ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    सूर्योदय वोमी लघुवित्तको १२ लाख ८२ हजार कित्ता शेयर सूचीकृत

    काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ८२ हजार १०८ दशमलव ५३७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

     

    अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

    काठमाडौँ ।  केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

     

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९एनटिसी० र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

     

    “एनटिसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले रासससँग भन्नुभयो । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ, बाँकी पनि दशैंअघि नै दिन्छुः अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।

     

    बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरुप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताए।

    उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे ।

    सुपर मादी हाइड्रोपावरको बोनस सेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । बुधबारको अन्तिमा कारोबार मूल्य ६०७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको सेयर भाउ ५७८।१० रुपैयाँ कायम भएको छ ।

    घटस्थापनाको अवसरमा सार्वजनिक बिदा, आइतबार मात्रै शेयर बजार  खुल्ने

    काठमाडौं । भोलि घटस्थापना भएकाले सार्वजनिक बिदा भएको हो ।सार्वजनिक बिदाका कारण भोलि शेयर बजार खुल्ने छैन् । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि भोलि बन्द हुने हुनेछन् । असोज १८ ( शुक्रबार ) भएकाले अब असोज २० गते  आइतबार मात्रै शेयर बजार खुल्ने छ ।

    नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा कात्तिक ७ गते

    काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा अमृतभोग क्याट्रिङ प्रालि, कालिकास्थान, काठमाडौंमा दिउँसो ३ बजे सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 

     

     प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

    शेयर बजार : नेप्से परिसूचकमा २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा, ६ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा आएको छ । आज ७अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 

     


    यस दिन ३१० कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र गुडविल फाइनान्स परेका छन् ।

    चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

    काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ ।

     

    विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा गरिएको छैन ।

    केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ ।

    अपि पावर कम्पनीले हाललाई स्थगित गर्‍यो साधारण सभा र बुक क्लोजको मिति

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा र बुक क्लोजको हुने मिति हाललाई स्थगित गरेको छ । कम्पनीले कात्तिक १ गते २१औं वार्षिक साधारण सभा बोलाएको थियो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिष्टल पशपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो । साधारण सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक कलोज गर्न लागेको कम्पनीले हाललाई बुक क्लोजको मिति समेत स्थगित गरेको हो ।

     

    यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ ।

    नुम्बुर हिमालय हाइड्रोपावरको साधारण सभा कात्तिक ७ गते , आइपीओ जारी गर्ने

    काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, नक्साल, काठमाडौंमा  बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

    माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक शत्रुधन केसीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् ।  माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
    सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । 

     
    फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १४% लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट  १३.३०% बोनस सेयर र कर प्रयोजनको लागि ०.७०% नगद गरी कुल १४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

     

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फरवार्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

     

    नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

    काठमाडौं । नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बिक्री यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम ३०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।। यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    नेपाल ल्यूब आयल लिमिटेडको साधारण सभा असोज १८ गते , २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्दैछ । यस कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्ने यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

    सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

    बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

    रगञ्ज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै  भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् ।

     

    मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रुपमा आयात–निर्यात भइरहेको छ ।

     

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको बताउनुभयो ।

    सुनको मूल्य तोलामा आठ सयले बढ्यो  , प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँ

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको छ ।

     


    बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १९ सय ३५ रुपैयाँ कायम भएको छ ।

    प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

    काठमाडौँ । ‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरलरूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ रु – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सोध्नुभएको प्रश्न हो ।

     

         समितिका सदस्य कार्कीको जस्तै प्रश्न अर्का सदस्य ईश्वरी घर्तीको पनि छ । उहाँको प्रश्न थियो, “न्याय महँगो भयो, सर्वसाधारणले कसरी न्याय पाउने रु समितिका सदस्य डोरप्रसाद अर्यालको प्रश्न पनि कार्की र घर्तिसँग मिल्दो छ, “न्याय महँगो छ, गरिबले कसरी न्याय पाउने रु समितिका सदस्य आनन्दप्रसाद  ढुङ्गानाको भनाइ थियो, “जनताको आङ्काक्षाविपरीत न्यायालयले निर्णय गर्न भएन ।” त्यस्तै, समितिका अर्का सदस्य लीलानाथ श्रेष्ठको पनि भनाइ उस्तै छ, “सर्वोच्च अदालत न्याय पाउने अन्तिम आशा र भरोसाको केन्द्र हो, त्यसले न्याय मर्न नदिनेगरी निर्णय गर्नुपर्छ ।”

    अख्तियारद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणमा छापा मारेको छ ।प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले कार्यालयबाट केही कागजातहरु बरामद गरेको हो  ।

     

    विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएकोमा कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको अख्तियार स्रोतले जनाएको छ ।

    वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ

    काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

     

    पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ गच्छे टोल घर भई काठमाडौँको टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका–३ घर भई काठमाडौँ टोखा नगरपालिका–९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    दशैँका लागि च्यांग्राको पहिलो खेप काठमाडौँको खसीबजारमा आइपुग्यो

    काठमाडौँ । दशैँका लागि निजी क्षेत्रले खरिद गरेको च्यांग्राको  पहिलो खेप काठमाडौँको खसीबजारमा आइपुगेको छ । चौपाया खरिद बिक्री संघका अध्यक्ष जनकराज खड्काले च्यांग्रा आजै ल्याएको बताएका हुन् । पहिलो खेपमा १५० देखि १६० वटासम्म  च्यांग्रा बजारमा ल्याइएको छ । मुस्ताङबाट गत आइतबार ५ हजार च्यांग्रा सिफारिस लिएर हिँडाइए मध्ये पहिलो खेप काठमाडौंँ आइपुगेको छ ।

     

    च्यांग्राको मूल्य प्रतिकेजी  १२५० देखि १३०० रुपैयाँ रहेको छ। खसी प्रतिकेजी ७ सय रुपैयाँ छ ।बाढीपहिरोले गर्दा यसपटक च्यांग्रा र खसीबोका उपत्यकाको बजारमा ल्याउन गाह्रो भएको छ । शनिबारदेखि बाटोमा रोकिएको करिब १५ सयदेखि २ हजार वटा खसीबोका बुधबार मात्रै खसीबजारमा आइपुगेको थियो ।

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूप्रति कठोर नीति अपनाउँदै नेपाल राष्ट्र बैंक

    काठमाडौँ  । नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाका  कर्मचारीहरूप्रति कठोर नीति अपनाएको छ ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरेबाट यस्तो देखिएको हो । बैंकका कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानुन वा संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था  जारी निर्देशनमा छ ।

     

    संस्थाले उक्त कारबाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाख देखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो व्यवस्था नगरिएकोले राष्ट्र बैंकको यो निर्देशनबाट कठोर नीति अपनाउन थालेको देखिएको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।प्राधिकरणले एक सूचना निकालेर १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

     

    प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ  ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’ ।यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गर्दै प्राधिकरणले ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न आग्रह गरेको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस