Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images
पशुपति गौशाला धर्मशाला प्रकरण

यस्तो छ  आठ दशक पुरानो पशुपति गौशाला धर्मशाला सञ्चालनको इतिहास, सेवाको विरासत जोगाउन मारवाडी समुदाय अन्तिमसम्म लड्ने


नया सडक

२०८१, असोज १८ शुक्रबार

  • 873
    Shares

  • यस्तो छ  आठ दशक पुरानो पशुपति गौशाला धर्मशाला सञ्चालनको इतिहास, सेवाको विरासत जोगाउन मारवाडी समुदाय अन्तिमसम्म लड्ने

    काठमाडौँ । १९९७ सालदेखि मारवाडी समुदायले सेवा भावबाट सञ्चालन गर्दै आएको पशुपति गौशाला धर्मशाला मारवाडी समुदायबाट खोसिएको छ ।वि.सं. १९९७ देखि मोहीको रूपमा सञ्चालित पशुपति गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् अन्तर्गत  आएको छ । काठमाडौँ जिल्ला अदालतले सो विषयको विवादमा २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिए पछि सो जिम्मेवारी परिवर्तन भएको हो ।गौशाला चोकमा रहेको पशुपति गौशाला धर्मशाला  १९९७ साल देखि मोही रहेको र त्यसको सञ्चालन मारवाडी सेवा समिति नेपालले गर्दै आएको थियो । उक्त सम्झौता खारेजी भएपछि त्यसको जिम्मेवारी फेरिएको छ  । आठ दशकदेखि धर्मशालाको सञ्चालन जिम्मेवारी पूरा गर्दै आएको मारवाडी सेवा समिति अब त्यो जिम्मेवारीबाट कानुनीरूपमा हटेको छ ।

    यद्यपि मारवाडी समुदायले विगतमा जस्तै गरेको सेवा कार्य अहिले पनि निरन्तर गरिरहेको मारवाडी सेवा समितिका एक सदस्यले नया सडकलाई बताए । पशुपति गौशाला धर्मशालामा सयौँ गाईहरू पालिएका छन् । तीर्थयात्रीको सुविधाका लागि निशुल्क भोजन र एक सय रुपैयाँमा सुत्ने व्यवस्था मारवाडी समुदायले सञ्चालन गरेको मारवाडी सेवा समिति , पशुपति धर्मशाला,मारवाडी युवा मञ्चलगायतले गर्दै गएका  छन् । मारवाडी सेवा समितिले उक्त धर्मशालामा किड्नी रोगीहरूका लागि निशुल्क डायलेसिस सेवा पनि दिँदै आएको छ । 

    पछिल्लो समय हालको पशुपति विकास कोषसँग मारवाडी सेवा समितिको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता २०६०मा गरिएको थियो । त्यो सम्झौतासम्बन्धी विवादमा भएको काठमाडौँ जिल्ला अदालतको फैसलाबाट सञ्चालन जिम्मेवारी फेरिएको हो ।  काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।

    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । मारवाडी सेवा समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा दायर गरेको मुद्दामा यस्तो फैसला भएको हो ।  मारवाडी सेवा समितिले सो सम्झौता अनुसार पछिल्लो २१ वर्षदेखि गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा रहेको धर्मशालाको जिम्मेवारीको दाबी नपुगेको  भन्दै जिल्ला अदालतले  गरेको फैसलाबाट त्यसको जिम्मेवारी पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ । जिल्ला अदालतले गरेको फैसला चित्तबुझ्दो नभएपछि मारवाडी सेवा समिति माथिल्लो अदालत जाने भएको छ । दशैँ पछि अदालत खुले लगत्तै मारवाडी सेवा समिति अदालत जाने भएको छ ।

    यस्तो छ वास्तविकता

    पशुपति गौशाला धर्मशाला भाडामा लिएर सञ्चालन गरेको नभई जग्गाको मोही नै श्री पशुपति गौशाला धर्मशाला रहेको तथ्यले देखाउँछ । पाशुपत क्षेत्रस्थित गौशालाचोकमा रहेको धर्मशालाको मोही नै श्री पशुपति गौशाला धर्मशाला रहेको पुष्टि विभिन्न कागजपत्रहरुले गरेको सरोकारवाला अग्रजहरुले बताएका छन । वि.सं. १९९७ सालदेखि मोही श्री पशुपति गौशाला धर्मशाला रहेको र मारवाडी सेवा समिति नेपालले सञ्चालन गरी विभिन्न सेवा कार्यहरु गर्दै आइरहेको मारवाडी सेवा समितिले बताएको छ । मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार चौधरीका अनुसार समुदायका अग्रजहरुले गौशाला धर्मशाला व्यापारिक प्रयोजन नभई सेवा कार्यमा मात्र उक्त धर्मशाला प्रयोग गरेको भएको बताए । 

    मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालामा राणाकालदेखि नै पाशुपत क्षेत्रमा छोडिएका दूध कटुवा बाच्छाबाच्छी, साँढे र गाई पाल्ने गरिएको इतिहास छ । धर्मशालामा १८–१९ वटा सटर, १५० वटा कोठा रहेका छन् । धर्मशालाले दुई सयभन्दा बढी गाई, बाच्छाबाच्छी र साँढेको पालनपोषण र व्यवस्थापन गर्दै आएको छ । पशुपतिमा ज्योतिर्लिङ्ग स्नान, पूजा हेतु दैनिक २९ लिटर दूध गौशालाले मन्दिरका लागि निःशुल्क उपलब्ध गराउँदै आएको धर्मशालाका अध्यक्ष रमेशकुमार तापडियाले बताए । धर्मशालाले वार्षिकरुपमा कृत्रिम खुट्टा वितरण गर्ने गरेको र धर्मशालाले निःशुल्क डाइलोसिस सेन्टर सञ्चालन गरिँदै आएको धर्मशालाका पूर्व अध्यक्ष चतुर्भुज सरियाले नया सडकलाई बताए । 

    उनका अनुसार अहिले झण्डै एक सय पचास मृगौला रोगीहरूको डायलेसिस सेवा सेन्टरले गर्दै आएको छ । श्री पशुपति गौशाला धर्मशालाले विगत ८४ वर्षदेखि निरन्तर सेवा कार्य गरिरहनु गौरवको कुरा भएको  मारवाडी सेवा समितिका मनोजकुमार चितलांगियाले बताए । विगत ८४ वर्षदेखि गौशालामा धर्मशाला स्थापना गरी विभिन्न समाजसेवा गर्दै आएको मारवाडी सेवा समिति र पशुपति क्षेत्र विकास कोषबीच केही वर्ष यतादेखि आरोप–प्रत्यारोप सुरु भएको थियो  । 

    मारवाडी विकास समितिका पदाधिकारीहरूले कानुनको परिधिभित्र रही विशुद्ध समाजसेवा गर्दागर्दै पनि कोषका पदाधिकारीहरूले अनावश्यक दुःख दिने गरेको, बेलाबेलामा धम्की दिने गरेको, आफूहरूलाई ‘डाँका’ भन्ने गरेकोजस्ता आरोप लगाउने गरेको बताएका छन् । मारवाडी सेवा समितिले गौशाला धर्मशालाभित्र तीनवटा संरचना बनाएका छन् । पहिलो संरचनामा धर्मशाला, दोस्रो संरचनामा डायलासिस सेन्टर र तेस्रो संरचनामा गाईगोठ बनाएका छन् । डायलासिस सेन्टरमा प्रत्येक दिन एक सय २० जना मिर्गौला रोगीको निःशुल्क डायलासिस गर्दै आएको सेवा समितिका पदाधिकारीले जनाएका छन् । मारवाडी सेवा समितिका सदस्यहरूको सहयोगमा १२ करोड रूपैयाँ लागतमा ३० बेड सुविधाको डायलासिस सेवा सुरु गरिएको थियो ।

    यसैगरी, मारवाडीले सञ्चालन गरेको गाईगोठमा दुहुना गाई र बाच्छा गरी २ सय १७ भन्दा बढी गाई  छन् । त्यहाँबाट उत्पादित दूध पशुपतिनाथको अभिषेकका लागि हरेक दिन २९ लिटर पठाउने गरिएको छ । मारवाडी सेवा समितिले हाल गौशाला धर्मशालाभित्र गौसेवा, निःशुल्क शववाहन सेवा, शव राख्ने फ्रिज सेवा सञ्चालन गर्दै आएको छ । यसैगरी, २०५७ देखि निःशुल्क कृत्रिम खुट्टा वितरण, होमियोप्याथिक पद्धतिबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा हरेक शनिबार ४ देखि ५ सय व्यक्तिलाई निःशुल्क भोजन गराउँदै आएको छ । यसैगरी, धर्मशालामा एक सय रूपैयाँमा आवास व्यवस्था तथा १ सय २० रूपैयाँमा भोजन गराउँदै आएको छ ।

    सेवा समितिका पूर्वअध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार २०२१ सालको नापी, मालपोतको स्रेस्ता, २०४४ सालको नापी फिल्डबुक, गुठी संस्थानको स्रेस्ता र पशुपति विकास कोषको मोही लागतमा जनिएबमोजिमको हालसम्मको बालीवापत मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषलाई आर्थिक वर्ष २०७९÷८० सम्मका लागि तिरो बुझाइसकेको छ ।

    २०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको सहमतिमा मारवाडी सेवा समितिले हरेक वर्ष ५१ हजार रूपैयाँ कोषलाई बुझाउने सम्झौता गरिएको थियो । उक्त सहमतिअनुसार बुझाउनुपर्ने सबै तिरो बुझाइसकेको मारवाडीले जनाएको छ । १९९७ सालमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धसमशेरले मारवाडी सेवा समाजका रामकुमार मारवाडीलगायतलाई बोलाई पशुपति मन्दिरनजिकै गौशाला धर्मशाला बनाउन लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस