काठमाडौँ । निरन्तरको रेमिट्यान्स आप्रवाहले विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको देखिएको छ ।नेपाल इक्नोमिक फोरमले लगातार रेमिट्यान्स बढिरहेका कारण मुलुकको विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको आफ्नो प्रतिवेदनमा जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढ्दा विदेशी विनिमय सञ्चितिले पछिल्ला हरेक महिना नयाँ रेकर्ड बनाएको उक्त प्रतिवेदनमा भनिएको छ ।
‘हारर्नेसिङ डेमोग्राफिक्स् डिभिडेन्ड’ नामक प्रतिवेदनमा नेपालको राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय अर्थतन्त्र, बृहत् अर्थतन्त्र, नेपालको अर्थतन्त्रको क्षेत्रगत विश्लेषण गरिएको छ । क्षेत्रगत विश्लेषणमा कृषि तथा पशुपालन, शिक्षा उर्जा तथा वातावरण, स्वास्थ्य, सूचना, सञ्चार तथा प्रविधि, पूर्वाधार र रियल इस्टेट, पर्यटनलगायत क्षेत्र समावेश गरिएको छ ।बजार विश्लेषणअन्तर्गत पुँजी बजार र वित्त बजारलाई समावेश गरिएको छ । साथै विशेष सामग्रीमा नेपालको उद्योग क्षेत्रको विकास र विस्तारसम्बन्धी अवधारणा राखिएको छ ।