Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

टेरामक्स खरिद प्रक्रियामा ३ अर्ब बढी भ्रष्टाचार भएको अख्तियारको ठहर , कांग्रेस सांसद बस्नेतसहित १६ जना विरुद्ध  भ्रष्टाचारको मुद्दा दायर

टेरामक्स खरिद प्रक्रियामा ३ अर्ब बढी भ्रष्टाचार भएको अख्तियारको ठहर , कांग्रेस सांसद बस्नेतसहित १६ जना विरुद्ध  भ्रष्टाचारको मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गरी संलग्नहरू विरुद्ध मुद्दा दायर गरेको छ । टेरामक्स प्रविधि खरिद प्रक्रियामा  अनियमतिता भएको भन्द तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित दूर सञ्चार प्राधिकरणका अधिकारीहरू विरुद्ध  अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी १६ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको  जनाएको छ ।

    खरिद कार्यमा परामर्शदाताको छनौट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरी  आफू अनुकुलका व्यक्तिलाई प्रस्तावमा  सहभागी गराई छनौट गरी अनियमितता गरेको आरोप लगाइएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रसमेत विरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरिएको छ।यसैगरी प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारीलाई पनि सो मुद्दामा प्रतिवादी बनाइएको छ।

    अख्तियारले भेन्डर कम्पनी भ्यानराइज सोल्युसन्स् एसएएल (अफ्सोर) र त्यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमल अनौटी, एसएएलको स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेजविरुद्ध पनि मुद्दा दायर गरेको  जनाएको छ ।तत्कालीन सञ्चारमन्त्री बस्नेतमाथि टेरामक्स खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी गराउने पृष्ठभूमि तयार गरेको अभियोग लगाइएको छ।

    ‘नेपाल दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको विषय इन्टरनेसनल कल मोनिटरिङ र भीओआइपी नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली (पछि टेरामक्स भनिएको) सञ्चालन गर्ने भन्ने कार्यक्रमलाई नेपाल दूरसञ्चार प्राधिकरण नियमावली, २०५४ को दफा ३४ (ग) को आशयविपरीत तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी एकलौटी रुपमा आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रममा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी नेपाल दूरसञ्चार ऐन, २०५३ ले गठन गरेको स्वायत्त संस्था प्राधिकरणको अधिकारलाई हस्तक्षेप गरी प्राधिकरणलाई हानिनोक्सानी गराउने पृष्ठभूमि तयार गरेको,’ आरोपपत्रमा जनाइएको छ।

    तत्कालीन सञ्चारमन्त्री बस्नेत नेपाली कांग्रेसका बहालवाला सांसद हुन्। अख्तियारले मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद निलम्बन भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij