Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, असोज २१ सोमबार

  • 336
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २१ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा आएको छ ।आज  ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहका सूचकमा सबैभन्दा बढी तेजी आएको छ ।

     

    यस दिन ३०५ कम्पनीको १ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आएको छ ।

    एनएमबि फिप्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले वितरण गर्ने

    काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश पठाउने भएका छन् । 

     

    एनएमबि ५० ले आफ्नो इकाईधनीहरूलाई आज (सोमवार)बाट प्रतिफल वितरण गर्ने लागेको छ भने सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले भोलि (मंगलवार)बाट लाभांश वितरण गर्ने जनाएको छ । 

    एनएमबि ५० ले गत वर्षको नाफाबाट करसहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेका हुन् ।

    आँखुखोला जलविद्युत कम्पनीको साधारण सभा कात्तिक १२ गते ,लाभांशसम्बन्धी भने कुनै प्रस्ताव छैन

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरु हुनेछ । 

     

    सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । कम्पनीले लाभांशसम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन ।

    आज  कामना सेवाको साढे ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कामना सेवा विकास बैंकको ३५ हजार ५३४ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९असोज २१ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । 

    संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

    सानिमा लिमिटेडको ७५.७४ प्रतिशत नगद लाभांश घोषणा , आइपीओ जारी गर्ने

    काठमाडौं । सानिमा लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सेयरधनीलाई ७सानिमा लिमिटेडको ७५।७४ प्रतिशत नगद लाभांश घोषणा , आइपीओ जारी गर्ने५.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
     
    सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ३.२१ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.२१ विन्दुले बढेको  छ । यससँगै सूचक २६५६.७९ विन्दुमा आएको छ । ७१ लाख ७४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३९ कम्पनीको १५ हजार ३ सय ३२ कित्ता सेयर कारोबार भएको छ । 

     

    २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

    युनिलिभरको प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश

    काठमाडौं।  युनिलिभर नेपाल लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनले वितरण  गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो । कम्पनीले आर्थिक वर्ष २०८०–८१  नाफाबाट उक्त लाभांश घोषणा गरेको हो । 

     
    ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

    काठमाडौँ।  धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुग्नुभएका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उहाँको चर्चा थप चुलिएको छ । इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत र जोन अन्तिम तीन टोलीमा छानिन सफल भएका थिए । फाइनलमा १२ टोलीबीच भएको प्रतिस्पर्धामा नारायण र तनुजले ‘गडुदा’ शीर्षकको प्रतियोगितामा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दै उपाधि जित्नुभएको हो । चाँगुनारायणको प्राचीन अभिलेखसँग सम्बन्धित गडुदा नेवारी संस्कृतिको महत्वपूर्ण परिकारमध्येको एक हो ।

     
    यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

     

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

    सुशासन र रोजगारीसम्बन्धी चुनौती समाधान गर्न प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलको सुझाव

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन र रोजगारीसम्बन्धी  चुनौतीको समाधान गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा राष्ट्रपति पौडेलले गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिँदै यस्तो बताएका हुन् ।

     

    संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्यसबारे  जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी सार्वजनिक गरेका छन् ।गाउँ गाउँमा आधारभूत सुविधाहरू पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको विषयमा  सरकारले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलले  प्रधानमन्त्रीको ध्यानाकर्षण गरे ।

     

    संघ, प्रदेश र स्थानीय तह रोयल्टी बाँडफाँट पुरावलोकनका लागि सरोकारवालासँग सुझाव माग

    काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई संशोधन गर्न पुनरावलोकन गर्न थालेको छ ।

     

    आयोगले  उक्त  प्रयोजनका लागि सरोकारवालासँग सुझाव मागेको  हो  । विभागले आफ्ना सुझावहरु सरोकारवालाहरूलाई  कात्तिक २३ गते भित्र पठाउन आग्रह गरेको छ ।
    अहिले प्राकृतिक स्रोतको रोयल्टीमध्ये ५० प्रतिशत संघ र २५÷२५ प्रतिशत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था  छ ।रोयल्टी बाँडफाँटको यो अनुपात हरेक ५÷५ वर्षमा पुनरावलोकन गर्न नेपाल सरकारलाई आयोगले सिफारिस गर्ने र सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सो व्यवस्था हेरफेर गर्ने व्यवस्था छ ।

    पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

    गण्डकी। पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ । बडादसैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गर्नुभएको हो ।

    जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने

    काठमाडौँ।  भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

     

    त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाउनुभएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । आवश्यक तयारीपछि चाँडै यसबारे द्विपक्षीय समझदारी गर्ने सहमतिसमेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले जानकारी दिनुभयो ।

    सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि तलबभत्ता पाएनन्

    बरहथवा । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि यहाँका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै कर्मचारी तथा लाभग्राहीहरू निरास छन् । 

     

    जिल्लाको चन्द्रनगर गाउँपालिका–६ की ५३ वर्षीया रतियादेवी माझीले सरकारले दिने सामाजिक सुरक्षाभत्ताले यसपटकको दसैँ तिहार मनाउने योजना बनाउनुभएको थियो । सोही भत्ता रकमले छ जनाको परिवारमा खुसी ल्याउने योजना कार्यान्वयन नहुने भएपछि उहाँ निराश हुनुहुन्छ । “श्रीमानको मृत्युपछि परिवारको लालनपालनको जिम्मा मेरै काधँमा छ । घरमा दिगो आम्दानी गर्ने व्यक्ति नहुँदा ज्याला मजदुरीबाट आएको पैसाले परिवारको दुई छाक टार्नसमेत मुस्किल छ । भवितव्य परिहाले ऋण गर्नुको विकल्प छैन । यसपटक चाडपर्व सोही रकमले धान्ने योजना थियो तर हालसम्म रकम आएको छैन”, उहाँले भन्नुभयो, “तीन महिना बित्न लाग्यो रकम नपाएको, कार्यालयमा जाँदा आएको छैन भन्छन् सरहरुले । दसैँमा बालबालिकालाई मीठो मसिनो ख्वाउला साचेको अब नसकिने भो ।”

    बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

    जलेश्वर । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका-८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई रु दुई लाख राह प्रदान गरिएको छ ।
     
    जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु दुई लाख प्रदान गर्नुभएको हो । यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उहाँको शव भेटिएको थियो ।

    बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा खटाउने गरी सरकारद्वारा कार्यविधि संशोधन

    काठमाडौँ । सरकारले बेरोजगार व्यक्तिलाई  विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाउन लागेको छ ।यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको हो । मन्त्री शरत् सिंह भण्डारीले कार्यविधिमा संशोधन गरे लगत्तै  प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाउन सकिने स्थित बनेको छ ।

     

    संशोधनपछि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानीय तहलाई उपलब्ध भएको सशर्त अनुदानलाई स्थानीय तहको कार्यपालिकाले निर्णय गरी तत्काल विपद् व्यवस्थापन तथा त्यसपछिको पुनर्निर्माणमा लगाउन सकिने भएको मन्त्रालयले जनाएको छ ।श्रममन्त्री भण्डारीले संशोधित कार्यविधि अनुसार बेरोजगारको सूचीमा रहेका व्यक्तिहरूलाई पुनस्र्थापना गर्ने कार्यमा लगाएर पारिश्रमिक दिन अनुरोध गरे । स्थानीय सरकार, स्थानीय सरकार मातहत रहेको रोजगार केन्द्र तथा त्यसका संयोजकहरूलाई राहत र पुनस्र्थापनाको कार्यमा लगाउन अनुरोध गरेका हुन् ।

    लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

    क्यानबेरा ।लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ ।

     

    अस्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् । यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको  छ ।

    अस्ट्रेलिया सरकारले शनिबार अस्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत् उनीहरूलाई अष्ट्रेलिया पुर्‍याएका थिए ।

    सरकारसँग ऋण लिएर दुग्ध विकास संस्थाले किसानलाई ६० करोड बक्यौता बुझायो

    काठमाडौँ । दुग्ध विकास संस्थानले किसानहरुलाई ६० करोड रुपैयाँ बक्यौता भुक्तानी गरेको छ। संस्थानले सरकारसँग ऋण लिएर किसानलाई बक्यौता भुक्तानी गरेको हो।
    संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले संस्थानले आयोजनामार्फत सहकारी हुँदै किसानलाई दूधको बक्यौता रकम उपलब्ध गराएको बताए। अहिले भुक्तानी गरिएको रकम बैशाखसम्मको हो। अझै ३२ करोड रुपैयाँ बक्यौता छ।

    असोज १४ गते यता सोमबार बिहानसम्म चार लाख काठमाडौँ बाहिर गए, बस र हवाई जहाजको टिकट पाउन गाह्रो

    काठमाडौँ  । बडादशैँ मनाउन जन्मस्थान जान चाहनेहरूलाई लामो दूरीको सार्वजनिक यातायात तथा हवाई टिकट पाउन गाह्रो भइरहेको छ ।दशैँ मनाउन यही असोज १४ गतेदेखि २१ गते सोमबार बिहानसम्म ४ लाख १५ हजार जतिले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरूले बताएका छन् ।

     

    दशैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।बस तथा जहाजको टिकट पाउनै गाह्रो छ । माग बढेकाले टिकटको भाउ बढ्दै गएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस