Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 135
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २ शुक्रबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..

    रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै

    काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ । पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको कुराकानी भइरहेको र पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले स्पष्ट गर्नुभयो ।
     
            सभापति लामिछानेले केहीबेरमै पार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा राखेपछि सडकमार्ग हुँदै पोखरा जानुहुने उहाँले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको छ ।

    यस्तो छ अर्थ मन्त्रालयले सार्वजनिक गरेको तीन महिनाको कार्यप्रगति

    काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री  क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेससम्म रहेका छन् ।

     

    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको बताए ।  प्रवक्ता भट्टराईले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व सङ्कलन बढेको, ब्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पुँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको, रेमिट्यान्स वृद्धि भएको जानकारी दिए ।

    नेसनल लाइफ इन्सुरेन्सको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल लाइफ इन्सुरेन्सको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    आरएसडीसी लघुवित्तले १० प्रतिशत लाभांश घोषणा

    काठमाडौं । आरएसडीसी लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार  बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

    माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । 

    यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    प्रभु बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले  खरिद गर्न मिल्ने

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

    क्यापिटल म्याक्स सेक्युरिटिजको ४ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले ४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २४ गते साधारभ सभा पनि बोलाएको छ । सभा, एटिक रेष्टुरेन्ट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । 

     

     सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

     

    युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

    अर्थमन्त्री पौडेलको तीन महिनाको उपलब्धि विदेशी मुद्रा सञ्चितिमा वृद्धि

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीन महिनाको आफ्नो कार्यकालमा विदेशी मुद्रा सञ्चिति बढेको उपलब्धि भएको बताएका छन् । आफ्नो तीन महिने कार्यकालको कार्य विवरण सार्वजनिक गर्न जारी विज्ञप्तिमा यस्तो भनिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्घीय संसदमा विधेयक पेश गरेको  समेत उल्लेख गरिएको छ ।

     

    अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा सुधार आइरहेको बताउँदै तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व संकलन बढेको, ब्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको र रेमिट्यान्स वृद्धि भएको जानकारी दिए ।

    तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

    दमौली (तनहुँ)  । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको कँडेलले बताउनुभयो । केन्द्रले सानन जातको बाख्राबाट पाँच हजार सात सय ९१ लिटर दूध उत्पादन गरेको छ । त्यस अवधिमा दुई हजार लिटर दूध उत्पादनको लक्ष्य थियो । केन्द्रमा दूध र चिजका लागि सानन जातका बाख्राको माग उच्च रहेको कँडेलको भनाइ छ ।

    विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

    ललितपुर  ।नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा प्रयाप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीले व्यक्त गर्नुभएको छ ।
     
    यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक खण्डमा सवारीसाधन चार्ज गर्न घण्टौँ लाइनमा बस्नुपरको, जङ्गल क्षेत्रमा रहेका चार्जिङ स्टेसनमा गुणस्तरीय होटल तथा शौचालयसहित आधारभूत आवश्यकता नभएको तथा सरकारीकोे तुलनामा निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसन करिब दुई गुणासम्म महङ्गो भएको भनी उहाँहरूले सम्बद्ध पक्षकोे ध्यानाकर्षण गर्नुभएको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ । 

     

    आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम रहेको छ ।

    बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारी वर्षाका कारण यो वर्ष  गएको  बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन भन्नुभयो । उहाँले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टैगरी पुनःनिर्माणमा अपुग हुने रकम जुटाउन दातृनिकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देशन गर्नुभयो ।

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।

     

    रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

    रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुनै पनि बेला पक्राउ पर्न सक्ने ,अदालतबाट प्रहरीलाई पक्राउ पुर्जी प्राप्त

    काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कुनै बेला पनि पक्राउ गर्ने तयारी गरेको छ । यसका लागि प्रहरीले अदालतबाट अनुमति लिइ सकेको हो ।जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको  प्रहरी स्रोतले जनाएको छ ।

     

    प्रहरीले लामिछानेलाई पक्राउ गरी कास्की लैजाने तयारी पनि पूरा गरिसकेको छ ।यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान बोलाएको प्रतिपक्षमा रहेका दलहरूको बैठकमा पनि लामिछानेलाई पक्राउ गर्न सकिने बताएका थिए ।उनलाई सहकारी ठगी अभियोगमा पक्राउ गर्न लागिएको हो ।

    उच्च अदालत पाटनद्वारा पशुपति गौशाला धर्मशाला विवादमा मारवाडी सेवा समितिको रिटमा अन्तरिम आदेश जारी

    काठमाडौँ । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशालासम्बन्धी  विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मारवाडी सेवा समितिका तर्फबाट काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाइ दायर रिटमा यस्तो अन्तरिम आदेश भएको छ ।

    विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना भएको आरोपमा १०९ जना सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर

    विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना भएको आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले  मोरङ प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम हिनामिना गरेको मुद्दा दायर गरेको हो । सहकारीका वर्तमान र पूर्वसञ्चालक गरी २१ जनालाई प्रतिवादी बनाइएको छ । अन्य सहकारीका ऋणी हुन् ।

    फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

    फ्रान्स ।फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीका अनुसार डुङ्गा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो भने उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् । 

     

    पछिल्लो डुङ्गा दुर्घटनासँगै यस वर्ष च्यानल पार गर्ने प्रयास गर्दा ज्यान गुमाउने आप्रवासीहरूको सङ्ख्या कम्तिमा ५२ पुगेको छ । सन् २०१८ पछिको सबैभन्दा धेरै रेकर्ड हो । 

    समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

    काठमाडौँ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।

     

    समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।

    दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

    इनरुवा । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

     

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हँुदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

    घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उहाँले बताउनुभयो । 

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस