काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर ७ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाली चुलो लाजिम्पाट, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख ६८ हजार ६५३ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा १२५ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ । २ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्माण गर्ने, डल्फिन पावर प्रालिमा लगानी गर्ने तथा बैंक ऋण भुक्तानी लगाएतका कार्य गर्न कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।