Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ५ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८१, कात्तिक ५ सोमबार

  • 435
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ५ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ५ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् । 

    डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ ।

    बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

    काठमाडौँ ।  निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

     

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा, ५ अर्ब ९० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से  परिसूचकमा ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा आएको छ । आज ५ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूहको सूचक घटेका छन् । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । 

     

    यस दिन ३१९ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र कुमारी बैंक परेका छन् ।

    न्यादी हाइड्रोपावरको शेयरको लक इन अवधि सकियो : संस्थापक , स्थानिय र कर्मचारीको शेयर कारोबार गर्न योग्य

    काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि आइतबारबाट सकिएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर आज देखि कारोबारका लागि योग्य भएको छ । 

     

    कम्पनीले सर्वसाधारणलाई २०७८ कात्तिक ५ गते सेयर बाँडफाँट गरेको थियो ।

    नेपाल धितोपत्र बोर्डले कात्तिक ६ गते देखि 'वर्ल्ड इन्भेष्टर विक' मनाउने

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वर्ल्ड इन्भेस्टर विक–२०२४’ मनाउने भएको छ ।

     

    कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्म मनाउन लागिएको उक्त कार्यक्रममा विभिन्न गतिविधि सञ्चालन गरिनेछ । 

    धितोपत्र बोर्डले नेपाल उद्योग वाणिज्य महासंघका साथै शेयर बजारमा प्रत्यक्ष रूपमा संलग्न ९नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी (ब्रोकर), स्टक डिलर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ कम्पनीहरू०सँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्नेछ ।

    बलेफी हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न , बोर्डबाट  पायो अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोड सेबोनले बलेफी हाइड्रोपावर लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

     

    सेबोनले कम्पनीलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

    अनुमति पाएसँगै कम्पनीले १ करोड ८२ लाख७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईएमबि  एस क्यापिटल लिमिटेड रहेको छ ।

    ग्लोबल आइएमई बैंकले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् । बैंकले उक्त परियोजनामा कति कर्जा लगानी गर्ने भन्ने बारेमा भने खुलाइएको छैन् ।

     

    समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी संचालन गर्ने छ । साथै, उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराए ।

    मन्दाकिनी हाइड्रोपावरको साधारण सभा मंसिर ७ गते , १२५ प्रतिशत हकप्रद प्रस्ताव गर्ने

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर ७ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाली चुलो लाजिम्पाट, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
    कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख ६८ हजार ६५३ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    नेपाल लाइफ इन्सुरेन्सले मेवा डेभेलपर्समा ५० करोड लगानी गर्ने

    काठमाडौं ।  नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले मेवा डेभेलपर्स लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) मा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरले मेवा डेभेलपर्सको ५० लाख कित्ता सेयर खरिद हो ।

    आज सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सको ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

     

    यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    सपोर्ट लघुवित्तले सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले १३.७७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा कात्तिक ७ गते

    काठमाडौं । एनएलजी इन्सुरेन्सको कात्तिक ७ गते बुधबार विशेष साधारण सभा बस्दैछ । सभा, आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

     

    कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

    खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

    काठमाडौँ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । 

     

    बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित प्रसारण लाइनको सात नं टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको छ । उक्त लाइनबाट १३ असोजदेखि विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन ‘लिङ्क’ टुटेको छ । करिब दुई सय मेगावाट विद्युत् प्रवाह क्षमताको उक्त लाइन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ । सोही लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ ।आज हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । 
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको भाउ २ हजार ७५ रुपैयाँ कायम रहेको थियो ।

    पर्यटन मन्त्रालयको एक सय दिन : आगामी यात्राको आधारशिला तयार

    काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ ।

     

         वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला तयार गरेको हो । मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रम अनुरुप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा अलग गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस भएको छ ।

    सत्ताधारी एमालेले व्याप्त भ्रष्टाचारलाई मलजल गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप

    कठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशलले सत्ताधारी नेकपा एमाले पार्टीले देशमा व्याप्त भ्रष्टाचारलाई मलजल गरेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले एक विज्ञप्ति जारी गरी यस्तो जनाएको हो ।

     

    हाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय भवन निर्माणको लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माण समेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दाहरु न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ ।

    पर्सा प्रहरीले लाखौँको सामानसहितको ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठायो

    काठमाडौँ । पर्सा प्रहरीले वीरगञ्जमा ६६ लाख रुपैयाँ बराबरको बदाम लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिलबीजकमा उल्लेख गरिए भन्दा बढीको सामान लोड गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको जनाइएको हो ।

     

    आइतबार राति पौने १२ बजे वीरगञ्ज –२१ परवानीपुर चोकमा म प्र.०३००१ ख ७६७३ नम्बरको मालवाहक ट्रक जाँच गर्दा बिल बीजकभन्दा बढीको सामान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

    साल्ट कर्पोरेसनको शाखा कार्यालय जनकपुरधामले तीन महिनामा पाँच करोडको नुन बिक्री गर्यो

    जनकपुरधाम ।  साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ ।

     

    कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनादेखि असोज महिनासम्म आफनो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिनुभयो । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ ।

    सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन

    काठमाडौँ ।सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।

     

    प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गर्नुभयो । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उहाँको भनाइ थियो ।

    डिआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

    काठमाडौँ ।  प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

     

    गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो  ।

    मेची भन्सार कार्यालयबाट पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढ्यो

    भद्रपुर ।  मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । 

     

    चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

    हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ  सडक  खुल्यो

    बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
     
    गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो ।

    हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

    बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले यही असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो । 

     

    उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरहेको र तिहारसम्ममा मर्मत सकिएपछि पुनः सिमेन्ट उत्पादको कार्य सुरु गरिने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उहाँको भनाइ थियो । अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताउनुभयो । 

     

     

    प्रतिक्रिया दिनुहोस