Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ६ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, कात्तिक ६ मंगलबार

  • 150
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक ६ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ६ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    हाथवे इन्भेष्टमेन्टको बोनस सेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य १४३९.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ १३०९ रुपैयाँ कायम भएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा, ४ अर्ब १७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से  परिसूचकमा २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा आएको छ । यस दिन ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आज सबै समूहका सूचक बढेका छन् । 
    यस दिन ३ सय १४ कम्पनीको १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ३२ लाखभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

    विन नेपाल लघुवित्तको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । विन नेपाल लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र यस कम्पनीको केन्द्रीय कार्यालय, बनेपा-१३ साँगा काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ ।

    हिमालयन क्यापिटल लिमिटेडको साधारण सभा कात्तिक २८ गते , ७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने

    काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट ७ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि सभामार्फत पारित हुनेछ ।

    श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा मंसिर ६ गते

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको मंसिर ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव  छैन । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन  गर्ने निर्णय गरेको छ । कम्पनीको सोमबार  बसेको सञ्चालक समिति बैठकले १००% हकप्रद सेयर निष्कासनका लागि नियामक विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो ।

     

    आयोगले पूर्वस्वीकृति लिएर हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

    एनएमबि बैंकको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा , सर्वसाधारणले आवेदन दिन मिल्ने

    काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    रु रु जलविद्युतको साधारण सभा कात्तिक ११ गते , १५.७८ प्रतिशत लाभांश प्रस्ताव गर्ने

    काठमाडौं ।  रु रु ले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा, लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।  आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

     

    यस कम्पनीको गत असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

    काठमाडौँ । देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्‍याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । 

     

    ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । वर्तमान सरकार गठन भएको एकसय दिन पूरा भएको सन्दर्भमा मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी केही सकारात्मक प्रयास भएका छन् ।

     

    गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण क्षति भएका आयोजनाको पुनः निर्माणलाई पनि उत्तिकै महत्व दिइएको छ । विपद्का कारण सरकारी र निजी क्षेत्रका गरी तीन दर्जन बढी आयोजनामा क्षति पुगेको थियो ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

    यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू

    काठमाडौँ । रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ । 

     

    वर्तमान सरकार गठन भएको सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यसअवधिमा विभिन्न नौ क्षेत्रमा ५६ भन्दाबढी काम सम्पादन भएको जानकारी दिनुभयो ।
     
    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको र सय दिनको अवधिमा १ दशमलव ०४ प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ ।

    त्रिभुवन विमानस्थलमा उडान अवतरण फेरि शुरु, भिस्टाराको चेकजाँच जारी

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण फेरि शुरु  भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी सार्वजनिक गरे  अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ ।उनले  वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पु¥याएर उडान सुरु गरिएको जानकारी दिए ।

     

    भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने जनाइएको छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने छ ।

    ‘संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न सकेन’

    अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानप्रदत्त अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकेको बताउनुभएको छ । 

     

     

    नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमितिले आज धनगढीमा आयोजना गरेको महासचिव÷सचिवस्तरीय राष्ट्रिय भेलाको उद्घाटन सत्रमा उहाँले सोही कारण शिक्षकका समस्या सम्बोधन गर्ने सम्बन्धमा पनि प्रदेश सरकारलाई समस्या भइरहेको बताउनुभयो । 

     

    “उच्च  शिक्षा प्रदेश सरकारअन्तर्गत भनिएको छ तर त्यो अधिकार प्रयोग गर्ने कुनै आधार छैन्, संरचना छैन्, विश्वविद्यालय छैन्”, उहाँले भन्नुभयो, “शिक्षकका हकहितका सन्दर्भमा धेरै कुरा उठेका छन् । सङ्घीयतामा कार्यान्वयनको चरणमा मुलुक अगाडि बढिसके पनि संविधानतः धेरै संरचनागत अधिकारहरू हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ ।”

    सेनाको सहयोगमा सिन्धुली रामेछाप जोड्ने बेलिब्रिज फेरि सञ्चालनमा, भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा खटिएको नेपाल सेना सम्मानित

    काठमाडौँ । नेपाली सेनाको सहयोगमा असोज ११ ,१२ र १३ गते परेकोे भारी वर्षाले ल्याएको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ ।सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।

     

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् । १२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै मन्त्रीले दाहालले सो टोलीलाई सम्मान गरेका हुन् ।

    दुई इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र खारेज

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

     

    प्राधिकरणले छुट्टाछुट्टै सूचना जारी गर्दै पर्साको वीरगञ्ज-१६, नगवास्थित सी। डाटा कम्युनिकेसन प्रा।लि। र सुर्खेतको वीरेन्द्रनगर-६ स्थित लाइफ नेट प्रा.लि.को इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।

    माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

    गाजा बन्धकको रिहाईमा सहयोग गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने इजरायली उद्यमीहरुको प्रस्ताव

    जेरुसेलम ।एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने फरक मार्ग खोजेका छन् । 

     

    सोडा स्ट्रिमका पूर्व सिइओ डेनियल बिर्नबामले सोमबार एएफपीलाई सामाजिक सञ्जाल एक्समा गाजाबाट जीवित इजरायली बन्धकलाई उद्धार गर्ने जो कोहीलाई एक लाख डलर  नगद वा बिटक्वाइन दिने घोषणा गरेपछि करिब १०० वटा फोनकलहरू प्राप्त भएको बताउनुभएको छ । 

    इजरायलमा आधारित सोडा कम्पनीका पूर्व अध्यक्षले आफ्नो प्रस्ताव बुधवार मध्यरात सम्म मान्य रहेको बताउनुभएको छ ।

    स्रोत नखुलेको साढे बीस लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौँ ।  प्रहरीले स्रोत नखुलेको बीस लाख बढी भारतीय रुपैयाँसहित कपिलवस्तुको कृष्णनगरबाट दुई भारतीय नागारिकलाई नियन्त्रणमा लिएको छ।प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट २ जनालाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन्।

    डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारीसँग झण्डै ५० लाख असुल्ने दुई प्रहरीसहित तीनजना विरुद्ध मुद्दा दायर

    काठमाडौँ । डिजिटल मुद्रा (क्रिप्टो) कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडाँैंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा चलाइएका तामाङलाई फरार कायम गरी मुद्दा चलाइएको छ ।

     

    काठमाडौं जिल्ला अदालतमा  दायर उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दाको सुनुवाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा शुरु भएको छ । थुनछेक बहसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने अपेक्षा छ ।

    हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

    पोर्ट–आउ–प्रिन्स ।हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले सोमबार जनाएको छ । 

     

    लामो समयदेखि गिरोह हिंसाबाट ग्रस्त रहेको हाइटीमा हालैका महिनामा हिंसा तीव्र हुँदै गइरहेको छ जसले देशको मानवीय, सुरक्षा र राजनीतिक सङ्कटलाई अझ बढाएको छ । 

    एएफपीलाई प्रदान गरिएको आंशिक जानकारी अनुसार दक्षिणी सोलिनो जिल्लामा “भिभ अन्सानम“ (लिभिङ टुगेदर) गठबन्धनभित्रका गिरोहले गरेको आक्रमणमा ती दुई महिलाको मृत्यु भएको हो ।

    वन तथा वातावरण मन्त्रालयको सय दिन : द्रुतमार्ग निर्माणमा वन क्षेत्रका अवरोध हटाइयो

    काठमाडौँ । वर्तमान सरकार गठन भएको आज एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ ।  वन तथा वातावरण मन्त्रीको रुपमा ऐनबहादुर शाही ठकुरी आउनुभएपछि मन्त्रालयमा रोकिएका काम अघि बढेको र लामो समयदेखि हुन नसकेका निर्णय भएको मन्त्रालयले जनाएको छ ।   

     

    यस अवधिमा मन्त्रालयले काठमाडौँबाट तराई÷मधेस प्रदेश जोडने द्रुत निर्माणमा देखिएका कानुनी अवरोध समाधान गर्ने प्रक्रियालाई महत्वका साथ अघि बढाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ विकास आयोजनालाई राष्ट्रिय वन क्षेत्रको एक सय ३० हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती प्रदान गरेको छ ।

    आन्तरिक राजस्व कार्यालयद्वारा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

    भद्रपुर (झापा) ।  आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०/८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०/८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो ।

     

    “चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो, “चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार सङ्कलन हुन सकेन ।” 

     

     
     

     

    प्रतिक्रिया दिनुहोस