काठमाडौँ । सिनेमा हलमा महँगो मूल्यमा सामान खरिद बिक्री गर्न निषेध गरिएको छ ।सिनेमा हल भित्र खाद्य तथा पेय पदार्थको खरिद बिक्री एमआरपी मूल्य भन्दा बढीमा नगर्ने गरी सरकार र चलचित्र संघबीच सहमति भएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच भएको सहमति अनुसार अब चलचित्र हलभित्र पेय तथा खाद्य पदार्थ खरिद बिक्री एमआरपी मूल्यभन्दा बढीमा बिक्री गर्न नपाइने भएको हो ।चलचित्र हलको परिसरभित्र पाइने पानी, पेय पदार्थ तथा खाद्य पदार्थ खुद्रा बिक्री मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले बुधबार विज्ञप्ति जारी यस्तो जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘यस विभागले चाडपर्व लक्षित बजार अनुगमन तीव्रता प्रदान गरी बजार अनुगमन टोली उपत्यकाका विभिन्न स्थानमा परिचालन गरिएको विदितै छ, बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा विभाग नेपाल चलचित्र संघबीच भएको छलफल र अन्तरक्रियापश्चात चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री वितरण एमआरपी अर्थात् अधिकतम् खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भए बमोजिम अब उप्रान्त कुनै चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नु हुन अनुरोध गरिन्छ ।’कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।