Logo

Oct 30 2024 | २०८१, कात्तिक १४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक १३ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक १३ मंगलबार

  • 210
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक १३ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  कात्तिक १३ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    कार्तिक कृष्ण त्रयोदशी : दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा

    काठमाडौँ ।  कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ ।  
        
    धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरे पनि कूल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् ।

     

    आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

    सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

    काठमाडौं ।सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ।भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलवार अपरान्ह पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो।

     

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरूको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको स्पष्ट पारे। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो।मन्त्री अधिकारीले मागदाबी गर्ने बचतकर्ताहरूको संख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताए।

    समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा २७.९४ गुणा बढी आवेदन

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा २७.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज दोस्रो दिन  साँझ ५ः०६ बजेसम्ममा ९८ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

     

    जसमा ६ लाख २६ हजार २८५ जना आवेदकहरुले ९८ लाख ६ हजार ५८० कित्ताका लागि आवेदन दिएका हुन् ।

    स्टान्डर्ड चार्टर्ड बैंकको २५.५० प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।  स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको आज  बसेको सञ्चालक समिति बैंठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

    नेपाल चेम्बर र चिनियाँ व्यवसायीबिच व्यापार सहजीकरण गर्ने  समझदारी

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवालसहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।

     

    खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रवर्द्धन गर्न सकिने  प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनियाँ व्यवसायी समक्ष आग्रह गरे ।

    हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर  नेप्सेमा सूचीकृत

    काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

     

    कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।कम्पनीले गत साउन २४ गते देखि भदौ १२ गते सम्म निष्कासन गरेको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा,६ अर्ब १२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा आएको छ  । आज ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

     

     निर्जीवन बिमा समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।


    यस दिन ३१९ कम्पनीको १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ७१ लाखभन्दा बढीसहित कारोबार रकममा समृद्धि फाइनान्स सबैभन्दा अघि छ । आज  दोस्रो र तेस्रोमा क्रमशः पिपुल्स हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

    एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले असोज मसान्तमा ३ करोड ७० लाख नाफा कमायो

    काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोज मसान्तमा रू ३ करोड ७० लाख नाफा कमाएको छ । 

     

    यो नाफा भदौ मसान्तको तुलनामा ६० प्रतिशत वृद्धि भएको हो । सो महिनामा फण्डले रू। २ करोड ३० लाख नाफा कमाएको थियो । असोज महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

    आँखुखोला जलविद्युत कम्पनीको १७औं वार्षिक साधारणसभा स्थगित

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा स्थगित भएको छ । कात्तिक १२ गते बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको कम्पनीले बताएको हो ।
    कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरु हुने गरी सभा बोलाएको थियो । लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको कम्पनीको सभामा गत आवका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समावेश थिए । पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनी सचिवले जनाएको छ ।

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको  २८ हजार ३०१ कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक शेयर कात्तिक १३ गतेदेखि विक्रीमा ल्याएको छ । फर्स्ट माइक्रोफाइनान्सको शेयर खरिदका लागि कात्तिक २७ गतेभित्र शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । फर्स्ट  माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ भने तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।सुनको मूल्यमा  नयाँ किर्तिमान,  प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँकाठमाडौं ।आज सुनको भाउले  नयाँ रेकर्ड कायम गरेको छ ।
    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
    आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर २१ सय ५ रुपैयाँ कायम भएको छ ।

    यसपटक हिमालयन लघुवित्तले लाभांश नदिने

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । यस संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    सिईडिबि हाइड्रोपावरको खुद नाफा २०२.२८ प्रतिशतले बढ्यो

    काठमाडौँ ।  सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.२८ प्रतिशत बढी हो। कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

    आजको मौसम : कोशी र गण्डकीका केही पहाडी भेगमा वर्षाको सम्भावना

    काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पुर्वानुमान गरेको छ ।

     

    देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    त्यस्तै कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

    काठमाडौँ । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन । युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

    विपद सामना गर्न विश्व बैंकले २० अर्ब ऋण सहयोग दिने

    काठमाडौँ ।  विश्व बैंकले विपद् सामना गर्न नेपाललाई २० अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । यस सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको हो  । सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् । प्राकृतिक तथा जलवायुजन्य जोखिम सामना गर्न रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रूपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्झौता गरेको छ ।

    काठमाडौँ महागरपालिकाले  दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने

    काठमाडौँ । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिनुभएको हो ।

     

    प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । “हामी व्यापारीहरूलाई  प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, प्रमुख शाहले भन्नुभएको छ ।

    कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

    गलेश्वर (म्याग्दी)।  चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उहाँले बताउनुभयो । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

    उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो– अमेरिका

    वासिङ्टन । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । 

     

    सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

     

    उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

    खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

    लहान । लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको  छ । यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।

     
     
     

     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस