काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले मनसुन सकिएसँगै काठमाडौँ उपत्यकासहित मुलुकका अन्य सहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको र आगलागी–डढेलोका घटनामा वृद्धि भइरहेकोप्रति तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
नेफेजले आज एक विज्ञप्ति जारी गरी काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा १० गुणा बढी पुग्ने गरेको तथा सुक्खायाममा डढेलो र प्रदूषणका कारण शैक्षिक संस्थाको पठनपाठन स्थगित गर्नुपरेको विगतबारे स्मरण गराएको छ ।
“वनजङ्गलमा डढेलो लाग्न सुरु भइसकेको छ भने एक सातामा मात्र ३२ ठाउँमा आगलागी भएको गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कले देखाउँछ”, महासचिव कमलदेव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राज्य संयन्त्रले डढेलोको जोखिम घटाउन र वायु प्रदूषण रोकथामका लागि समयमा नै कदम चाल्न नेफेजले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सरोकारवाला निकायले ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ प्रभावकारी कार्यान्वयनमा चासो दिनुपर्ने नेफेजको सुझाव छ । सवारी साधनको प्रदूषण जाँच पनि मौसमी हुने गरेको भन्दै नेफेजले यसलाई निरन्तरता दिन माग गरेको छ ।
आगामी मनसुनअघिसम्म वायु प्रदूषण र आगलागी, डढेलोले विपद्को रुप लिने गरेको विगतका दृष्टान्त रहेकाले नेफेजले जोखिम घटाउने गरी प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई अपिल गरको छ । नेफेजले संविधानअनुसार वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकसमेत उल्लेख रहेको स्मरण गराउँदै रोकथाम र क्षति न्यूनीकरणका लागि अहिले नै तयारी थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।