Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images
अमेरिकी राष्ट्रपतिको लागि मतदान मंगलबार हुँदै

सर्वेक्षणहरूमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा  , दुवैलाई सहज जित निकाल्न गाह्रो


नया सडक

२०८१, कात्तिक १९ सोमबार

  • 348
    Shares

  • सर्वेक्षणहरूमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा  , दुवैलाई सहज जित निकाल्न गाह्रो

    काठमाडौं । अन्तर्राष्ट्रिय राजनीतिमा सर्वाधिक महत्वपूर्ण तथा चर्चित परिघटनाको रूपमा संयुक्त राज्य अमेरिकाका जनताले  भोलि मंगलबार  नोभेम्बर ५ का दिन नयाँ राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्न लागिरहेका छन् । यो राष्ट्रपति पदको निर्वाचनका लागि शुरुमा सन् २०२० मा भएजस्तै दुई जना उम्मेदवारहरूमा मौजुदा राष्ट्रपति जो बाइडन र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए । तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा गरी आफ्नो ठाउँमा उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि सारे।

    अन्तर्राष्ट्रियरूपमा सर्वाधिक चर्चाका सवालहरूमा के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख निर्वाचनबाट पाउने हो ? कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फेरि सत्तारोहण गर्ने छन् ? अमेरिकी राजनीतिमा यी सवाल त चासोको मुख्य विषय हुन् ।मतदानको दिन नजिकिँदै गर्दा हामी निर्वाचनसँग सम्बन्धित विविध पक्ष अनि ह्वाइट हाउसका लागि हुँदै गरेको प्रतिस्पर्धामा निर्वाचन प्रचारप्रसारले पार्ने प्रभावलाई नियमित रूपमा अन्तर्राष्ट्रि सञ्चार माध्यमहरूले नियालिरहने विषय स्वाभाविकरूपमै हुने भयो ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दर्शाए अनुसार राष्ट्रिय मतसर्वेक्षणमा झिनो मत अन्तरले उपराष्ट्रपति कमला ह्यारिस अग्राडि छिन् । कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानदण्डमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देखाउन थालियो।उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन्। तर सर्वेक्षणहरूको औसत मादण्ड  हेरेर मात्र को अगाडि छ भन्न सकिने स्थिति छैन।


    निर्वाचन अभियान थालेपछि शुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम  गर्न सकेकी थिइन् ।तर सेप्टेम्बरको पूर्वार्धदेखि दुवै  उम्मेदवारहरूप्रति समर्थन तुलनात्मक रूपमा स्थिर छ । सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएन् । टेलिभिजनबाट भएको बहसको प्रत्यक्ष प्रसारण  सात करोड मानिसले हेरेका थिए ।

    विगत केही दिनयता प्रतिस्पर्धा निकै धारिलो  हुन पुगेको छ । राष्ट्रिय सर्वेक्षण अनुसार ह्यारिस ४८ प्रतिशत रहेको देखिएको छ भने ट्रम्पको ४७ प्रतिशत रहेको छ । अमेरिकी निर्वाचन प्रणालीमा अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि आम मतदाताको मतसख्या धेरै भएर पुग्दैन ।  यो प्रणालीअन्तर्गत राज्यहरूलाई त्यहाँको जनंख्याका आधारमा निश्चित संख्यामा मतभार अर्थात् ’इलेक्टोरल कलेज मत’ दिइएको हुन्छ।

    देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न न्यूनतम २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।सर्वसाधारण मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन् । तर राष्ट्रिय स्तरमा हैन।दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ।

    अमेरिकामा ५० राज्य छन्।अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिने हुनाले केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने गर्छ ।ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिने हुनाले तिनलाई  ’ब्याटलग्राउन्ड स्टेट’ (रणमैदान राज्य) अथवा ’स्विङ स्टेट’ भन्ने गरिन्छ।’स्विङ स्टेट’मा बाजी मार्नेले चुनाव जित्ने गरेको पाइन्छ ।

    यो निर्वाचनमा सात राज्यमा चर्को प्रतिस्पर्धा हुने देखिन्छ। ह्यारिस र ट्रम्पका दुवैका लागि यी ’स्विङ स्टेट’ स्पष्ट र निर्णायक अग्रता कायम भएको  मतसर्वेक्षणहरूमा नदेखिएकोले प्रतिस्पर्धा धारिलो बन्न पुगेको हो ।अगस्ट महिनादेखि एरिजोना, नभाडा जोर्जा र नोर्थ क्यारलाइनामा कहिले ह्यारिस त कहिले ट्रम्पको अग्रता देखिएको छ। सन् २०१६ मा ट्रम्पले डेमोक्रेटिक पार्टीको गढ मानिने राज्यलाई  सन् २०२० मा जो बाइडनले फेरि डेमोक्रेटिक प्रभाव क्षेत्रमा ल्याएकाले ह्यारिसको पक्षमा जान सकिने देखिनछ ।
    उम्मेदवार नबन्ने घोषणा गर्नुअघि सातवटा ’स्विङ स्टेट’ मा जो बाइडन आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा औसतमा पाँच प्रतिशतले पछाडि रहेको मतसर्वेक्षणहरूले देखाएका थिए। तर उनको ठाउँमा ह्यारिस उम्मेदवार बनेपछि डेमोक्र्याटिक पार्टीका पक्षमा समर्थन बढेको देख्न थालियो।

    पेन्सिल्भेनिआ राज्यमा बाइडन ४.५ प्रतिशतले पछाडि थिए। सात राज्यमध्ये सर्वाधिक इलेक्टोरल कलेज मत (१९) भएकाले दुवै उम्मेदवारका लागि पेन्सिल्भेनिआ महत्वपूर्ण छ।सो राज्यमा निर्वाचन जित्ने उम्मेदवारलाई परिणाम आफ्नो पक्षमा पार्न आवश्यक २७० मतभार पु¥याउन सहज हुन्छ।सन् २०१६ र २०२० मा सर्वेक्षणहरूले ट्रम्पको पक्षमा जाने समर्थनलाई कम आकलन गरेका थिए। सर्वेक्षण कम्पनीहरू अहिले त्यस्तो त्रुटि सच्च्याउने प्रयासमा छन्। उनीहरू आफूले प्रस्तुत गर्ने परिणाममा मतदान गर्ने जनंख्याको  संरचना प्रतिबिम्बित गराउन खोज्दै छन्।

    त्यस्तो परिमार्जन गर्न त्यति सजिलो छैन। त्यसैले सर्वेक्षकहरूले नोभेम्बर ५ मा मतदान गर्न को जान्छ भन्ने जस्ता पक्षहरूको विवेचना गर्न आफ्नो ज्ञान र विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।सर्वेक्षणका आफ्ना सीमा हुन्छन् । अमेरिकी सर्वेक्षक कम्पनीहरूले कमजोरी सुधार्ने कार्यमा ध्यान दिने गरेकाले  नतिजा सर्वेक्षण निकट नै आउने गरेको छ । यो अमेरिकी राष्ट्रपति निर्वाचनको सर्वेक्षण परिणाम आफै धारिलो भएकाले सहजै अनुमान गर्न जो कोहीलाई गाह्रो भएको देखिएको छ । मतदान हुने समय अब घन्टामा आइपुगेकाले दुवै पक्षका कार्यकर्ताहरूको  मुटुको धड्कन बढाइदिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दर्शाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस