Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक २० मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २० मंगलबार

  • 291
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक २० मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २० मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

     

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ । 

     

    नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

    इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।    

    इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गर्नुभएको हो ।

    समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन साँझ ५ः०६ बजेसम्ममा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

     

    जसमा १४ लाख ४२ हजार ४२० जना आवेदकहरुले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

    लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । समायोजन पश्चात यसको भाउ २१७.३३ रुपैयाँ कायम भएको छ । 

     

    बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ ।

    शुरू भएकाे ७ वर्षमा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण पूरा भयो

    रसुवा । छ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । 

     

    भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो । 

     

    प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज भएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा,४ अर्ब २० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा आएको छ । आज ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको  सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ७ समूहका सूचक सकारात्मक बनेका छन् । 

     

    यस दिन ३०२ कम्पनीको ९७ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ९० लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र एनएलजी इन्सुरेन्स परेका छन् ।

    ग्लोबल आइएमई बैंकको साधारण सभा  मंसिर  २७ गते , ५.५  प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्तावित ५.५  प्रतिशत लाभांश मंसिर  २७ गते पारित गर्ने भएको छ । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

     

    सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ

    आज समता घरेलु लघुवित्तको एफपीओ खरीदका लागि आवेदन दिने  अन्तिम दिन

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि विक्रीमा ल्याएको एफपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्रीमा ल्याएको हो ।

     

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी बनेको संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पूँजी संरचना कायम हुने गरी एफपीओ विक्री गर्न लागेको हो ।

    पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

    काठमाडौँ । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । 
     
    सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।   उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् । 

     

    आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ २४ पैसा कायम गरिएको छ । 

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

    दुई हजार आठ सयले घट्यो सुन, प्रतितोला रु एक लाख ६८ हजार दुई सय

    काठमाडौँ, २० कात्तिक स् स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो ।

     

    यस्तै चाँदीको मूल्यमा प्रतितोला रु ६० ले घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो ।

    उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुध्द एयरको विश्वास छ । केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ ।

     

         बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् । विमानस्थल विस्तारपछि एयरलाइन्सको उडान व्यवस्थापनमा पनि सहजता हुने भएकाले अहिलेको निर्धारित मर्मतको समय सान्दर्भिक रहेको प्रवक्ता कर्णले बताउनुभयो ।

    ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’

    काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिएको बताउनुभएको छ ।

     

    आगामी मङ्सिर २५ गते आफ्नो चार वर्षे कार्यकाल पूरा हुनलागेको सन्दर्भमा आज आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बिमा दर्ता तथा नवीकरण गर्नसक्ने व्यवस्था लागू गर्न सम्झौता गरिएको बताउनुभयो ।

    कार्यकारी निर्देशक डा बसौलाले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले बिमा दाबी भुक्तानीमा समस्या भए पनि ऐन तथा कार्यविधि मै रहेर भुक्तानी गरिने बताउनुहुँदै हालको तीन महिनाको अन्तरमा भुक्तानी भइरहेको जानकारी दिनुभयो ।

    रास्वपाका सभापति रवि लामिछानेलाई १० दिन थप हिरासतमा राख्न पाउने कास्की जिल्ला अदालतको आदेश

    काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १० दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् ।मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । 

     

    जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ ।कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।रास्वपाका कार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केहीलाई गिरफ्तार गरिएको थियो ।

    प्रमुख सूचना आयुक्तमा आचार्यको सिफारिस

    काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उहाँलाई सिफारिस गरेको हो । 

     

    यसैगरी, समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिनुभयो ।

     

    प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ । प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए ।

    सस्तिएको ब्याजदरले उपभोग क्षेत्रमा कर्जा प्रवाहित हुँदै

    काठमाडौँ । बैंकको ब्याजदर सस्तिएयता उपभोग क्षेत्रमा कर्जा बढेको देखिएको छ ।पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट यस क्षेत्रमा ४३ अर्ब ३५ करोड ५ लाख रुपैयाँ कर्जा थपिएको देखिएको हो ।२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग क्षेत्रमा कुल ९ खर्ब ८६ अर्ब कर्जा गएकोमा भदौ मसान्तसम्म आइपुग्दा १० खर्ब २५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल कर्जाको १९.६१ प्रतिशत हो।

     

    राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट भदौ मसान्तसम्म कुल ५२ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुबाट ६ महिनामा १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ भएको कर्जा प्रवाहमा ३१ प्रतिशत हिस्सा अर्थात ४३ अर्ब ३५ करोड ५ लाख रुपैयाँ उपभोग क्षेत्रमा गएको छ । त्यसमध्ये ११ अर्ब ३९ करोड रुपैयाँ चालु वर्ष साउन र भदौमा थपिएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले खासगरी सुनचाँदी धितो, मुद्दती निक्षेप धितो, ग्यारेन्टी बन्ड, क्रेडिट कार्डलगायत शीर्षकमा प्रवाह भएको कर्जालाई उपभोगमा गएको भनेर वर्गीकरण गर्ने गरेका छन् ।बैंकहरुले ८ प्रतिशत आसपासमा कर्जा दिन थालेपछि उपभोग क्षेत्रमा लगानी बढेको हो। वाणिज्य बैंकहरुको औसत बेसरेट अहिले ७ प्रतिशतमा हाराहारीमा छ । बैंकहरुले बेसरेटमा न्यूनतम ०.२५ प्रतिशत प्रिमियम थपेर कर्जा दिँदै आएका छन् ।

    शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान ३० प्रतिशतले कटौती हुँदै

    काठमाडौँ । शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य र आन्तरिक उडान ३० प्रतिशतले कटौती हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागेकाले उडान कटौती गर्न लागेको जनाएको हो ।ट्याक्सी वे बनाउन कार्तिक २३ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुन लागेको छ ।विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्न लागिएको हो ।गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका पदाधिकारीहरू बताउँछन् ।

     


    जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि समानान्तर ट्याक्सी वे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छैन् ।  रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्ने हुन्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वेमा निकालेर एप्रोनमा ल्याउन सकिनेछ । यो सुविधा भए रनवेको अकुपेन्सी टाइम घट्ने छ । यो समानान्तर ट्याक्सी रनवेको निर्माण पूरा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने विश्वास गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस