काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २१ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
छठ पर्वको अवसरमा भोलि सार्वजनिक बिदा , सेयर बजार बन्द हुने
काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । बिहीबारका दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकोशेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजना भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १४ दशमलव २५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर मंसिर ११ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले बुधवार हकप्रद शेयर निष्कासन गर्ने मिति तय गरेको हो । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यस अघिनै तय गरेको थियो । कम्पनीले कात्तिक २७ गते एक दिन उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
शेयर बजार : नेप्से परिसूचकमा १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा,५ अर्ब २२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा १.८८ अंकले घटेर २६७५५१ बिन्दुमा आएको छ ।आज ५ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ५ समूहका सूचक बढेका छन् ।
यस दिन ३२० कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ३८ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।
अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १ खर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ ।बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार बैंकिंग प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी एक खर्ब खिच्न लागेको हो।
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। यसले गर्दा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले बारम्बार तरलता खिचिरहेको छ।राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।
स्वावलम्बन लघुवित्तको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला , सर्वसाधारणले खरीद गर्न पाउने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता संस्थापक शेयर कात्तिक २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको छ । कम्पनीले मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
प्रतिकित्ता ५६७ रुपैयाँ मूल्य अंकित गरिएको यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरू सँगै अन्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था छ । मंसिर ५ गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिडिटको साधारण सभा कात्तिक २९ गते
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिडिटले कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी, अमिर भवन, काठमाडौंमा बस्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
निफ्राको २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ३ लाख २० हजार २१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।
मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ ।
चाइनाबाट आयात गरिएको लसुन ठूलो परिमाणमा अवैध बाटोबाट भारत तस्करी , नेपालमा लसुनको मूल्य आकाशियो
काठमाडौँ । पछिल्लो समय चाइनाबाट नेपालमा ठूलो परिमाणमा लसुन आयात गरिएको छ ।चाइनाबाट आयात गरिएको लसुन नेपाललाई ट्रान्जिट बनाएर ठूलो परिमाणमा लसुन अवैध तरिकाले भारत निर्यात गरिँदै छ ।चाइनाबाट ठूलो परिमाणमा लसुन आयात भएतापनि नेपालमा लसुनको भाउ आकाशिएको छ । नेपालको तुलनामा भारतमा लसुनको मूल्य औसत २ सय ५० रुपैया बढी छ ।नेपालबाट अवैध तरिकाले ठूलो परिमाणमा लसुन भारत जान थालेपछि भारतीय मिडियाहरूले समेत प्रश्न उठाएका छन् ।पछिल्लो समय चीनबाट ठूलो परिमाणमा लसुन आयात भइइरहेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२को पहिलो तीन महिना भित्र गत आव २०८०/८१ भरि भएको कुल चीनबाट आयात भएको लसुन भन्दा बढी रहेको छ ।कार्तिक महिनाको तथ्याक सार्वजनिक नगरेपनि लसुनको आयात अत्यधिक भएको भन्सार विभाग स्रोतले जनाएको छ ।चालु आवको तीन महिनामा कुल लसुन आयात १ करोड ७४ लाख ७८ हजार ९ सय २० किलो भएको भन्सार विभागको प्रतिवेदनले जनाएको हो ।
सुनको मूल्य तोलामा तीन सयले बढ्यो , प्रतितोला१ लाख ६८ हजार ५०० रुपैयाँ
काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ ।
बुधबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७३८.१८ डलरमा र चाँदी प्रतिऔंस ३२.२३ डलरमा कारोबार भइरहेको छ ।
सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन
सिरहा । छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरु छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् ।
लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको जेसिबीको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माण सुरु गरेको स्थानीय अरविन्द साहले बताउनुभयो । नगरकै सहयोगमा वर्षभरि नदी किनारमा थुप्रिएका फोहोर सफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएपछि नगरका नदी, जलाशय तथा पोखरी किनारमा छठ पूजा लक्षित सरसफाइमा जुटेको नगरपालिकाका सरसफाइ संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरको सरसफाइ युनिट यहाँका पोखरी, नदी तथा जलाशयको सरसफाईमा परिचालित गरिएको हो ।”
‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ ।
मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो ।
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित रु. ५०० क्यासब्याक पाउनेछन ।
बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा “FLYYETI” प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक पाउनेछन । ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
संघदेखि जिल्ला तहमा कांग्रेस एमालेको सत्ता सञ्चालन संयन्त्र , संघको बन्यो अब तलतिर बन्दै जाने
काठमाडौँ । सत्तारुढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउन संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएका छन् ।संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी सार्वजनिक गरे अनुसार सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको हो । केही समय अघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढ्न खोजिएको हो ।
विश्व बैंकबाट सहयोग लिन पाँच आयोजना द्रुतगतिमा पूर्वतयारी गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विश्व बैंकको सहयोगमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको पूर्वतयारी द्रुतमार्गबाट (फास्ट ट्र्याक) गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बुधबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले पाँच आयोजनाको पूर्वतयारी फास्ट ट्र्याकबाट गर्ने निर्णय गरेको हो । बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा सबै विषय टुंगो लगाइ पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ।
मन्त्री पौडेलको सचिवालयले जानकारी सार्वजनिक गरे अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधार आयोजनाको पूर्वतयारी चाँडो सम्पन्न गर्ने निर्णय छ ।
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।
उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रियाहरू उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।
पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा ३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
पाटन (ललितपुर)। तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताउनुभयो । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
काठमाडौँ । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । “विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ”, महानिर्देशक अधिकारीले भन्नुभयो ।
आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध छ ।