Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक २३ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २३ शुक्रबार

  • 303
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  कात्तिक २३ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  कात्तिक २३ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो । 

    काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य शुरु भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

    जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरु संचालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । प्राकृतिक प्रकोपबाट नागरिकले कष्ठ पाईरहेको अवस्थामा जापानी संस्थासंगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए ।

    सिटिजन्स बैंकको  ४० हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

     

    यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारयणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन, अब सीइडीबी होल्डिङ्ग्स लिमिटेड

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । यस कम्पनीको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्त गर्ने निर्णय गरेको हो । यस कम्पनीको नाम सीइडीबी होल्डिङ्ग्स लिमिटेड राखिएको छ ।

    बुढानिलकण्ठ हेरिटेज होटलले आइपीओ निष्कासन गर्ने , साधारण सभा मंसिर १४ गते

    काठमाडौं ।  बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले आइपीओ प्रस्तावसहित मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कायम सेयरधनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

     सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

    सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो , प्रतितोला रु एक लाख ६४ हजार पाँच सय

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।

     

    यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

    सगरमाथा जलविद्युतको साधारण सभा मंसिर १४ गते , ५ प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं ।सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा मंसिर १४ गते बोलाएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । 
    यसले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 

    सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढ्यो

    काठमाडौँ । सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढेर १६ करोड १३ लाख १ हजार रुपैयाँ पुगेको छ ।१ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटे पनि वित्तीय खर्च नियन्त्रण हुँदा खुद नाफा बढेको हो ।

     

    विद्युत् बिक्रीबाट हुने आम्दानी २.५७ प्रतिशतले घटेर ४२ करोड १५ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ । वित्तीय खर्च २९.३२ प्रतिशतले घटेर १६ करोड ३५ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।

    अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । 

     

    बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ । 

     

    साथै शुक्रबारका लागि युरो ९युरोपियन युरो० एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

    काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

     

    प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

    निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने

    काठमाडौँ । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ । 

     

    आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन अन्तिम चरणमा पुगेको हो । 

     

    दुवै स्थानका सबस्टेसन निर्माण निर्धारित समयमा सम्पन्न भएमा लमजुङ र मनाङको विद्युत् आपूर्ति सहज हुनुका साथै भरपर्दो र गुणस्तरीय सेवा प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौँ ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गर्नुभएको छ । 

     

    विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गरेका छन् । यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो । 

    आज परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले उहाँहरूलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गर्नुभएको हो ।

    टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    काठमाडौँ ।  नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् ।

     

    ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेकाअनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डिएसटी तिर्न थालेका हुन् ।

     

    आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवा कर (डिएसटी) को व्यवस्था ल्याएको थियो । यो व्यवस्था कार्यान्वनयमा आएको दुई आर्थिक बितिसक्दा पनि नेपालमा विद्युतीय सेवा दिइरहेका सबै कम्पनीलाई डिएसटीमा आवद्ध गर्न भने सकिएको छैन । 

    सुर्खेत दुर्घटना अपडेट : चार जनाको मृत्यु , २५ जना घाइते

    वीरेन्द्रनगर । दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

    दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत भइनसकेको दैलेखका डीएसपी सुनिल ढकालले जानकारी दिए ।शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत-दैलेख सीमास्थित रातानाङ्ग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको थियो ।

     

    सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुदै

    काठमाण्डौं । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ ।

     

    आइसिटी अवार्ड २०२४ को प्रि(इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्प्रधा गराउनेछ ।

    उमागौरी सहकारी ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला  जोडिएको सहकारीको ठगी प्रकरणको अनुसन्धान शुरू भएको छ ।

     

    मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङले १० जनाको नाममा पक्राउ अनुमति लिएर अनुसन्धान थाले पनि अञ्जला कोइरालाकोबारे भने केही उल्लेख छैन ।

    धनगढीको इन्धन डिपोबाट स्थानीय बासिन्दा अहोरात्र त्रासमा , बेचैन बासिन्दाद्वारा इन्धन डिपो चाँडो ठाउँ सारी गर्न माग

    धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्नुुहुन्छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठ्ुल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ ।

     

    “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भन्नुभयो, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।”

    आजको मौसम  :  देशभरको मौसम सफा रहने

    काठमाडौँ ।  हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

     

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

    यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

     

    प्रतिक्रिया दिनुहोस