Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 141
    Shares

  • मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

    मिथिला । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।

    यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् । 

    यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ । 

    पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रले बताउँछन् ।

    खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको महन्त दास बताउँछन् । 

    सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन तथा नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेको स्थानीय पण्डित रामचन्द्र झा बताउँछन् । मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस