Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २६ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २६ सोमबार

  • 294
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २६ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २६ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आँखुखोला जलविद्युत कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले जारी गरेको १५० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    एनएलजी इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन

     

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार  एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू.८६२ दशमलव १८ कायम भएको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा २२.१४ अंकले  बढेर २७६०.२१ बिन्दुमा,११ अर्ब ३१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा २२.१४ अंकले  बढेर २७६०.२१ बिन्दुमा आएको छ । आज ११ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूह बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ । 

     

    यस दिन ३०२ कम्पनीको २ करोड ४५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३८ करोड १७ लाखसहित कारोबार रकममा साहस ऊर्जा सबैभन्दा अघि छ ।

    गत आवको आन्तरिक लेखापरीक्षणबाट सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो

    काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु २१ अर्ब ५१ करोड ९६ लाख छ । 

     

    जसमा नियमित गर्नुपर्ने बेरुजु रू एक अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु रू एक अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको जनाइएको छ ।

    सिटिजन्स बैंकको ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सोमवार  ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

     

    कम्पनीले प्रतिकित्ता १०२ रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । कम्पनीले आज जारी गरेको ३५ दिने सूचनामा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र ती शेयर खरीद गर्न पाउने उल्लेख छ । 

    शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा २५.७३ प्रतिशत बढ्यो

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ दशलमव ७३ प्रतिशत वृद्धि भएको छ ।

     

    गत आवमा कम्पनीले रू. १० करोड ३ लाख नाफा कमाएकोमा चालू आवमा रू.१२ करोड ६२ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. १ अर्ब ४१ करोड रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ५७ करोड भन्दा बढी रहेको छ ।

    आरम्भ चौतारी लघुवित्तको खुद नाफा ७४५.६७ प्रतिशतले बढ्यो

    काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७४५.६७ प्रतिशतले धेरै हो ।
    यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि ७५४.७३ प्रतिशतले बढेर ३ करोड ७ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ । 

     

    यसको खुद ब्याज आम्दानी पनि ३१.८६ प्रतिशतले बढेर ८ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब घटाउँदा पनि नाफा बढ्न पुगेको छ ।

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडको खुद नाफा ११३.०४ प्रतिशतले बढ्यो

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ११३.०४ प्रतिशत धेरै हो ।
    यस कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २६ करोड ३२ लाख रुपैयाँबाट घटेर २६ करोड ३५ लाख कायम भएको छ । गत वर्षको तुलनामा विद्युत बिक्री घटेको छ । 

     

    कम्पनीको वित्तीय खर्च १३ करोड ९० लाखबाट घटेर ७ करोड ९९ लाख कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार देखिएको हो ।

    विन्ध्यवासिनी हाइड्रोपावरको साधारण सभा मंसिर ६ गते , ८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
    कम्पनीको वार्षिक साधारण सभा र बुक क्लोज मिति पनि तय भएको छ । साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

     

    सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सकिने कम्पनीले जानकारी गराएको छ ।

    एनएलजी इन्सुरेन्सको हकप्रद सेयरमा आजसम्म आवेदन दिन पाउने

    काठमाडौं । एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ ।आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।

    इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । 

     

    अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।

    तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित एक पक्राउ

    काठमाडौँ । तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “आज काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैया लाललाई सुन जस्तो देखिने पहँेलो धातुसहित पक्राउ गरिएको हो ।”

    कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

    काठमाडौँ ।  कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । 

     

    प्राधिकरणका सूचनाअधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको बताउनुभयो । कतार एयरवेजको भैरहवा उडान साङ्केतिक रुपमा ठूलो उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो । “भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय ‘इन्टरनेशनल एरोनोटिक कम्युनिटी’ले रिकनाईज गर्नु हो”, सूचना अधिकारी भूलले भन्नुभयो, “विश्वका ठूला एयरलाइन्स कतार, फलाई दुबई, थाई एयर एसिया, जजीरालगायत अन्तर्राष्ट्रिय एयरलाइन्सको भैरहबाट उडान हुनु रणनीतिक हिसाबले निकै महत्व हुन्छ । हामी ९नेपालले० बनाएको अन्तर्राष्ट्रिय एयरपोर्ट ‘गेट वे’ को रुपमा विश्व प्रसिद्ध एयरलाइन्सले सेडुअल उडानको रुपमा प्रयोग गर्नुभनेको आर्थिक हिसाबले गौतमबुद्ध विमानस्थल र आसपासको क्षेत्र पनि आर्थिक सम्भावनायुक्त हुने हुनाले यसको विशेष महत्व छ ।”

    ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

    काठमाडौँ । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ ।

     

    आज मन्त्रिपरिषद्को हिजोको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय भएको बताउनुभयो ।

     

    “डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युत्को बक्यौता रकम ९टिओडी मिटरसमेतको आधारमा० महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानुनबमोजिम गणना गरी पन्ध्र दिनभित्र असुलउपर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने गराउने निर्णय भएको छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादका कारण विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको हुँदा यसरी विद्युत् आपूर्ति बन्द गरिएका उद्योगहरूमा २४ घण्टाभित्र विद्युत् लाइन जडान गर्ने व्यवस्था मन्त्रालयले मिलाउनुपर्नेछ ।”

    ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका उच्च अधिकारीसहित उहाँ निर्माणस्थलमा पुग्नुभएको हो ।
     
    निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभयो ।
     
    काठमाडौँको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिनुभयो । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहनुभएको थियो ।

    पर्सा प्रहरीले बिल बीजक भन्दा बढी लोड गरिएको ८५ लाख भन्दा बढीको मालवस्तुसहित ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझायो

    काठमाडौँ । पर्सा प्रहरीले बिल बीजक भन्दा बढी लोड गरिएको ८५ लाख बढी औषधि तथा खुद्रा मालवस्तुसहितको ट्रक समातेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघर चोकबाट बिल बीजक भन्दा बढीको खुद्रा तथा औषधि लोड गरिएको ना ६ ख ५५१ नम्बरको मालवाहक ट्रक प्रहरीको एक टोलीले नियन्त्रणमा लिएको जनाएको हो ।

    सरकारको नयाँ निर्णयले डेडिकेटेड तथा ट्रक लाइन महशुल बक्यौता भुक्तानी विवाद चर्काउने कि सम्याउने ?सरोकारवालाहरूमाझ चर्चा

    काठमाडौँ । उद्योगीहरूको बिजुली लाइन जोड्ने सरकारको निर्णयले महशुल बक्यौता भुक्तानी विवाद चर्काउने कि सम्याउने चर्चा चल्न थालेको छ ।आइतबार टीओडी मिटर रिडिङको आधारमा बक्यौता असुल उपर गर्ने गरी उनीहरूको काटिएको लाइन जोड्ने निर्णय मन्त्रिपरिषद्बाट गरिएपछि यस्तो चर्चा चल्न थालेको हो ।सरकारले मन्त्रिपरिषदको बैठकमार्फत् टाइम्स डे (टीओडी) मिटरिङ आधारमा १५ दिनभित्र उठाउने निर्णय ग¥यो । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई सो निर्णय गरेर निर्देशन दिने निर्णय समेत गरेको थियो ।

     

    साथै सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सार्वजनिक गर्ने पनि निर्णय ग¥यो ।यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८ कात्तिकमा बक्यौता विवाद रहेका उद्योगहरूको लाइन काटिदिए पछि उद्योगी र सरकारबीचको विवाद चर्किएको थियो ।

    श्रम स्वीकृति प्राप्त नेपालीलाई भारतको बाटो भएर वैदेशिक रोजगारमा जान एनओसी नचाहिने

    काठमाडौँ । सरकारले श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागु गरेको छ ।दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।

     

    साथै सूचना जारी गरी राजदूतावासले नेपाली कूटनीतिक÷आधिकारिक÷सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज–पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने जनाएको छ ।अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने भएको जनाएपनि  रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने जनाइएको छ ।

    वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात

    वीरगञ्ज । छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । 

     

    वीरगञ्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज–हेटौँडा हुदैँ काठमाडौ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गर्नुभयो । “मेरो छोरालाई वीरगञ्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौँ जाँदा रु आठ सय ५० सम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाही गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो । ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गर्नुभएको छ ।

    यस्तो छ आजको बजार मूल्य ?

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।यता, सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ ।

    आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

    काठमाडौँ ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

     

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको  साथै उच्च पहाडी  तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    मन्त्रिपरिषद् बैठक : विद्युत् महसुल विवाद समाधान गर्न स्वीकृति

    काठमाडौँ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधिस गिरिषचन्द्र लालको  संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । 

     

    प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको मन्त्रपरिषद्को बैठकले जाँचबुझ आयोगले यसअघि गत वैशाख २३ गते पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । 

     

    मन्त्रिपरिषद्को बैठकले उद्योगमा विद्युत आपुर्ती बन्द हुदाँ उत्पादन घट्न गएको, राजश्व सङ्कलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको हुनाले विद्युत् लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने समेत निर्णय गरेको छ ।

    दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच

    जनकपुरधाम ।यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । 

     

    पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताउनुभयो ।

     

    उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस