Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

माथिल्लो तामाकोशी जलविद्युतका कवाडी फलाम चोरी, प्रहरीद्वारा स्थानीय एक व्यवसायी पक्राउ


नया सडक

२०८१, कात्तिक २७ मंगलबार

  • 315
    Shares

  • माथिल्लो तामाकोशी जलविद्युतका कवाडी फलाम चोरी, प्रहरीद्वारा स्थानीय एक व्यवसायी पक्राउ

    दोलखा । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट निस्केको कवाडी मालवस्तु चोरिएको छ ।बाढी पहिरोले क्षतिग्रस्त बनाएको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आकस्मिक मर्मत भइरहेका बेला निस्केको  कवाडी फलाम चोरिएको हो ।पहिरोले क्षति भएको  भवन र डिस्याण्डर, भूमिगत नहर सफा गर्दा निस्केका फलामका टुक्रा सफा गर्दागर्दै चोरी भएको दुई हजार किलोग्राम कवाडीसहित एक व्यवसायीलाई इलाका प्रहरी कार्यालय सिंगटीले सिंगटीबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिंगटीमा व्यापार गर्दै आएका विभिचन भन्ने ४८ वर्षीय रविकृष्ण महतो छन् । उनका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी युवराज खड्काले जानकारी सार्वजनिक गरेका छन् ।गत असोज १२ गतेको पहिरोले माथिल्लो तामाकोशीको हेडवक्र्समा रहेको डिस्याण्डर, कल्भर्ट र सुरक्षा कक्ष भवनमा क्षति भएको थियो ।

    पहिरोपछि विद्युत उत्पादनलाई नियमित गर्न आपत्कालीन रूपमा जम्मा भएको पहिरो पन्छाउने, क्षतिग्रस्त संरचना हटाउने काम जारी छ । क्षतिग्रस्त संरचना हटाउने क्रममा निस्केका रड, फलामका टुक्रा, केबल कवाडीको रूपमा निस्केको थियो । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले आकस्मिक रूपमा क्षतिग्रस्त संरचनाको मर्मत र सरसफाइका लागि रोल्वालिङ खोला जलविद्युत आयोजनामा कार्यरत निर्माण व्यवसायी हाई हिमाल कन्स्ट्रक्शनलाई जिम्मा दिएको छ ।निर्माणको जिम्मा ठेकेदारलाई दिए तापनि त्यहाँबाट निस्केका कवाडी भने अपर तामाकोशीकै सम्पत्ति हुन्छ । हाइ हिमालका साइड इन्चार्ज त्रिरत्न महर्जनले अपर तामाकोशीले दैनिक हिसाबमा सफा गर्ने र मर्मतको काम मात्रै गरेकोे र कवाडी सामान छेउमा स्टोर गरी राखेको बताए । आफ्नो तोकिएको काममात्रै गर्ने तर कवाडी सुरक्षाको काम अपर तामाकोशीकै भएकाले यसबारे आफूलाई थप जानकारी नभएको बताए ।

    माथिल्लो तामाकोशी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले कवाडी चोरी भएको खबर थाहा पाउने बित्तिकै प्रहरीकोमा जाहेरी दिएको बताए । प्रहरी अनुसन्धानबाट चाँडै चोर पहिचान हुनेमा आफूहरू विश्वस्त भएको उनले बताए ।पहिरोसँगै माथिल्लो तामाकोशीको दुईतले सुरक्षा भवनमा ५६० केभीए क्षमताका ट्रान्सफर्मर, दुईवटा जेनेरेटर, आल्मुनियमका मोटामोटा केबुल तार, केन्ट्रोल केबुल, अर्थिङ कण्डक्टर पुरिएका थिए । माथिल्लो तामाकोशी जलविद्युत केन्द्र लामाबगरमा सशस्त्र प्रहरीको विओपी, सीमा प्रहरी चौकी, गोंगरमा रोल्वालिङ प्रहरी चौकी, सशस्त्र प्रहरीको पोष्ट र नेपाली सेनाको समेत चेक पोष्ट रहेको छ । यसअघि पनि माथिल्लो तामाकोशीकै सुरुङभित्र रहेका क्रेनका करोडौं मूल्यका केबल चोरी भएको थियो । त्यसको पनि चोर पत्ता लाग्न नसकेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस