काठमाडौं । २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिताको आयोजना मंसिरमा हुन लागेको छ । नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा २० देखि २४ मंसिरसम्म उक्त मेलाको आयोजना हुन लागेको हो ।राष्ट्रपतिबाट उद्घाटन गराउने गरी मेलाको कार्यक्रम तय भएकोे आयोजकले बताएका छन् ।
मेला अवलोकनका लागि मन्त्री, उच्च पदस्थ अधिकृत, नेपालस्थित विभिन्न मुलुकका कुटनीतिक नियोगका पदाधिकारीलगायतका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वलाई आमन्त्रण गरिने जनाइएको छ । मेला सञ्चालनमा आपूर्ति मन्त्रालय, प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनी, बीमा कम्पनी, ठूला औद्योगिक व्यापारिक तथा प्रतिष्ठान र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीको सहयोग रहने जारी विज्ञप्तिमा उल्लेख छ ।
हस्तकलाका वस्तुहरूको करिब १५० वटा स्टलहरू रहने मेलामा विदेशी प्रदर्शनीकर्ताको रूपमा भारत, चीन, पाकिस्तान, बंगलादेशदेशका व्यापारीहरूको सहभागिता रहने महासंघले जनाएको छ । मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने छ । व्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा र बाँसका सामानहरूको प्रर्दशनी गरिने जनाइएको छ ।
मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क स्टल प्रदान गरिने भएको छ । मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले ‘कला प्रदर्शनी २०८१’ आयोजना गरिने छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृत्रिहरू प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार,व्यापारी एवं आगन्तुकबीचमा परिचित गराउने उद्देश्य लिइएको छ । यस पटकको व्यापार मेलामा चिनियाँ तथा अन्य देशबाट पाहुनाहरू निमन्त्रणा गरिने भएको छ ।
चीनको इष्ट कल्चरल टुरिजम एलाइन्स र हस्तकला महासंघबीच काठमाडौंमा संस्कृति र पर्यटन सम्मेलन आयोजना गर्ने समझदारी पत्रमा महासंघका अध्यक्ष प्रचण्ड शाक्य र चाइनाका तर्फबाट एलाइन्सका अध्यक्ष ली फेगंहाउले हस्ताक्षर गरेका छन् । मेलाको मुख्य उद्देश्य हस्तकला वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार बढाउने रहेको छ । हाल नेपाली हस्तकलाका १२ अर्ब रुपैयाँका वस्तुहरू विश्वका ६० भन्दा बढी देशहरूमा निकासी भइरहेका छन् ।