Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २७ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २७ मंगलबार

  • 228
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २७ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २७ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर  मूल्य  नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।विन्ध्यबासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । 

    मंगलबारको अन्तिम कारोबार मूल्य ६८६ रुपैयाँलाई आधार मानेर विन्ध्यबासिनीको भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । मूल्य समायोजन पश्चात यसको सेयर भाउ ६३५.१९ रुपैयाँ कायम भएको छ ।
    मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।  मंगलबारको अन्तिम कारोबार मूल्य ८४४.९० रुपैयाँलाई आधार मानेर मन्दकिनीको भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । 

    मूल्य समायोजन पश्चात यसको सेयर भाउ ८०४.६७ रुपैयाँ कायम भएको छ ।

    एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत, १४ अर्ब ९७ करोड बेरुजु

    काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।  

    प्रतिवेदनमा आर्थिक वर्ष २०८०(८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको आन्तरिक लेखा परीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बेरुजु औल्याइएको छ । 

    त्यसैगरी राजस्वतर्फ ४ करोड २८ लाख, कार्य संचालन कोषतर्फ ३५ करोड ८४ लाख रुपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा,७ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ११.२४  अंकले  घटेर २७४८.९६ बिन्दुमा आएको छ । आज ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका सूचकमात्र बढेका छन् । 

     

    यस दिन ३ सय १२ कम्पनीको १ करोड ६७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बेस्ट फाइनान्स र आँखुखोला जलुवित्त परेका छन् ।

    न्यादी हाइड्रोपावरको खुद नोक्सानी २ करोड ६१ लाखभन्दा बढीले घट्यो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म न्यादी हाइड्रोपावर लिमिटेड ७५ लाख ७५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । कम्पनीले गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्षको सोही अवधिमा खुद नोक्सानी २ करोड ६१ लाख ५९ हजार रुपैयाँले घटाएको हो । 

     

    यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नोक्सानीमा कमी आएको हो । गत वर्ष १३ करोड ८ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २१ करोड १९ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।

    महिला लघुवित्तले ८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ हजार ३२५ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ । 

     

    कम्पनीले मंसिर ३ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

    आज फर्स्ट माइक्रोफाइनान्सको २८ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २८ हजार ३०१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९ अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 

     

     लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    युनिक नेपाल लघुवित्तको खुद नाफा ७४.८७ प्रतिशतले घट्यो

    काठमाडौं ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म  ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
    यस संस्थाको खुद ब्याज आम्दानी २६.१७ प्रतिशतले घटेर ६ करोड १६ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ८ करोड ३४ लाख रुपैयाँ थियो । यस लघुवित्तको इम्पेयरमेन्ट चार्ज ३९.८३ प्रतिशतले बढेर २ करोड ८८ लाख पुगेको छ । ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको हो । 

    आज दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका २ कम्पनीकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २८ गते बुकक्लोज गर्दैछन् ।

     


    विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश भने छुट्याएको छैन । 

    कम्पनीको वार्षिक साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

    सानिमा बैंकको साधारण सभा मंसिर ४ गते , लाभांश वितरण प्रस्ताव पारित गर्ने

    काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

     

     गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । 

     

    अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

    सुनको मूल्य तोलामा २४ सयले घट्यो , प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँ

    काठमाडौँ  । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६०० रुपैयाँ कायम भएको छ ।मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १९ सय २५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६१७.९६ डलरमा र चाँदी प्रतिऔंस ३०.५९ डलरमा कारोबार भइरहेको छ ।

    सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे

    फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । वैदेशिक रोजगारीमा जानुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।

     

    निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको छ, जसमा कुञ्जारी मतदानस्थलमा एक हजार २६ मतदाता छन् । कुञ्जारीमा पाँच सय ५७ पुरुष र चार सय ६९ महिला छन् भने ओसे मतदानस्थलमा दुई सय ८७ पुरुष र दुई सय १५ महिला गरी पाँच सय दुई मतदाता रहेका छन् । यस उपनिर्वाचनमा पुरुष मतदाताको सङ्ख्या आठ सय ४४ र महिला मतदाताको सङ्ख्या छ सय ८४ रहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

    राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्वोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नविर्सौं

    बाकु ।राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ । 

     

    अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो । 

    “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे

    काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन् ।

     

    बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबार एक हजार ६०० पीडितले रु सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो । सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो । समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन् । बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ ।

    लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जानकारी सार्वजनिक गरेका हुन् ।

     

    आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।

    कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सेवा सुरु

    काठमाडौँ ।  कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । 

     

    दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयर बस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताउनुभयो ।

    दश हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिइने : वीरगञ्ज महानगरपालिका

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरुको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।

     

    ‘‘महानगरमा बस्ने किशोरीहरु ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, ‘‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’’

    पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

    ताप्लेजुङ ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा  भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो । 

     

    पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताहरूले भेटी जम्मा गर्न मिल्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार आज लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिलाई क्यूआर कोड हस्तान्तरण गर्नुभएको छ ।

    पर्सा प्रहरीले साढे ३७ लाख बढीको मालवस्तु लोड भएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    काठमाडौँ । पर्सा प्रहरीले साढे ३७ लाख बढीको मालवस्तु लोड गरिएको ट्रक समेत थप अनुसन्धानका लागि बुझाएको छ ।कार्तिक २६ गते राती करिब ११ बजेरतिर वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघर चोकबाट ना ५ ख ६७४७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

    माथिल्लो तामाकोशी जलविद्युतका कवाडी फलाम चोरी, प्रहरीद्वारा स्थानीय एक व्यवसायी पक्राउ

    दोलखा । माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट निस्केको कवाडी मालवस्तु चोरिएको छ ।बाढी पहिरोले क्षतिग्रस्त बनाएको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आकस्मिक मर्मत भइरहेका बेला निस्केको  कवाडी फलाम चोरिएको हो ।पहिरोले क्षति भएको  भवन र डिस्याण्डर, भूमिगत नहर सफा गर्दा निस्केका फलामका टुक्रा सफा गर्दागर्दै चोरी भएको दुई हजार किलोग्राम कवाडीसहित एक व्यवसायीलाई इलाका प्रहरी कार्यालय सिंगटीले सिंगटीबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिंगटीमा व्यापार गर्दै आएका विभिचन भन्ने ४८ वर्षीय रविकृष्ण महतो छन् । उनका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी युवराज खड्काले जानकारी सार्वजनिक गरेका छन् ।गत असोज १२ गतेको पहिरोले माथिल्लो तामाकोशीको हेडवक्र्समा रहेको डिस्याण्डर, कल्भर्ट र सुरक्षा कक्ष भवनमा क्षति भएको थियो ।

    साल्ट ट्रेडिङ धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

    जनकपुरधाम ।साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५  डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस