Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 159
    Shares

  • महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

    धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आउनुभएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो । 

    उहाँले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताउनुभयो । मुखियाले मोरङ्को निमुवाबाट आफैँले  पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु । यो हाम्रो पुर्ख्यौली व्यापार जस्तै हो”, उहाँले भन्नुभयो, “विगत लामो समयदेखि विभिन्न ठाउँका हटियाबजारमा गएर व्यापार गर्दै आएकी छु । झुम्कामा लाग्ने हटियाबजार भने व्यापार गर्ने मुख्य थलो हो ।”

    झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको व्यापार गर्न जाने गरेको उहाँले बताउनुभयो । अचेल घोँगी भने जताततै पाइँदैन । मोरङको निमुवा पोखरीसम्म पुगेर खोजेर ल्याउनुपर्छ । “अचेल घोँगी पाइँदैन, त्यसैले निमुवा पुग्नुपर्छ तर खोज्न दुःख भए पनि व्यापारबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुँदै आएको छ । आफूले पोखरीमा पालेर बिक्री गर्ने हो भने राम्रो आम्दानी हुन्थ्यो होला”, उहाँको भनाइ थियो । 

    प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन् । मागअनुसार घोँगी पु¥याउनै नसकिएको मुखियाले बताउनुभयो । उहाँले प्रतिकिलो घोँगी रु एक सयमा बिक्री गर्दै आएको र एउटा हटियाबजारबाट दिनमा ९० देखि एक सय किलोसम्म बिक्री गर्दे आएको बताउनुभयो । 

    उहाँ मात्रै होइन सोही नगरको वडा नं १ की रत्नीदेवि माला विगत १२ वर्षदेखि घोँगीको व्यापार गर्दै आउनुभएको छ । उहाँले हाल सुनसरीको भन्टाबारी पोखरीमा आफैँले घोँगी पाल्नुभएको छ । यही पोखरीबाट उत्पादन भएको घोँगी इटहरी, झुम्का, कालाबन्जरलगायत ठाउँमा दैनिकजसो ६० देखि ७० केजीसम्म बिक्री गर्दै आएको मालाले बताउनुभयो । “घोँगीमा भिटामिनको मात्रा प्रशस्त पाइने हुनाले रुघा र चिसो लागेको बेला मान्छेले अत्याधिक खरिद गर्ने गरेका छन् । अब चिसोयाम आयो, हाम्रो व्यापार पनि राम्रै फस्टाउँछ”, उहाँले भन्नुभयो । 


    रामधुनी नगरपालिका–१ कै रेम्नी मुखियाले पनि विगत सात वर्षदेखि घुँगीको व्यापार गर्दै आएको बताउनुभयो । उहाँले पनि भन्नुभयो, “विगत सात वर्षदेखि यसै व्यापारमा लागिरहेकी छु । राम्रो आम्दानी हुन्छ । खोलाबाट खोजेर ल्याउन मात्र समस्या हो, बजारको त समस्ष छैन । पछिल्लो समय मोरङ्को निमुवामा आफ्नै पोखरीमा घोँगी पालेकी छु । दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर आम्दानी गरिरहेकी छु ।”

    गर्मीयामभन्दा जाडोमा घोँगीको व्यापार राम्रो हुने गरेको छ । पुसको दोश्रो सातादेखि माघ–फागुनको अन्तिमसम्म व्यापार हुँदा यहाँ लाग्ने हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको घुइँचो लाग्ने गर्छ । यहाँको झुम्का हाटबजारमा मात्रै सातदेखि दश जना महिला लहरै बसेर व्यापार गर्दै गरेको देखिन्छन् । 

     

    प्रतिक्रिया दिनुहोस